शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपाली विभाग पिएनबाट तीन छात्रा सम्मानित

नेपाली विभाग पिएनबाट तीन छात्रा सम्मानित


  • ढोरपाटन संवाददाता
  • असार २६ २०८३, शुक्रबार

पोखरा/पृथ्वीनारायण क्याम्पस नेपाली विभागद्वारा तीन छात्रा सम्मानित तथा पुरस्कृत भएका छन् ।

बिहीकार विभागमा आयोजित विभागीय छात्रवृत्ति तथा पुरस्कार वितरण समारोहमा मानविकी तथा सामाजिकशास्त्र सङ्काय डीन कार्यालयद्वारा लिइएको नेपाली स्नातकोत्तर तह पृथ्वीनारायण क्याम्पसतर्फ सर्वोत्कृष्ट, प्रथम र द्वितीय हुन सफल छात्रालाई सम्मान गरिएको हो ।

जसमाविभाग सर्वोत्कृष्ट हुन सफल कुश्मा–१२ पर्वतकी जमुनाकुमारी रिजाललाई सीता–पुण्य पुरस्कार प्रदान गरियो । यसैगरी विभाग प्रथम भएर रूपा–१, कास्कीकी सुष्मा पौडेलले शालिग्राम–कृष्ण पौडेल छात्रवृत्ति प्राप्त गर्दा विभाग द्वितीय भएर पोखरा–१३, कास्कीकी शारदा बरालले सीता–तीर्थ अधिकारी छात्रवृत्ति प्राप्त गर्न सफल भइन् ।

कार्यक्रमका प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख डा महेश्वर पोखरेल अनुरागी, विभागीय प्रमुख तथा छात्रवृत्ति तथा पुरस्कारका संस्थापकले संयुक्त रूपमा नगदसहित उक्त सम्मान अर्पण गरे ।

प्रमुख अतिथि डा महेश्वर पोखरेल अनुरागीले विभागीय छात्रवृत्तिले विद्यार्थी उत्प्रेरणाकालागि ठूलो भूमिका खेल्ने बताए ।
शालिग्राम–कृष्ण पौडेल छात्रवृत्तिका संस्थापक कृष्णप्रसाद पौडेलले विभागीय छात्रछात्राहरूको मनोभावना र आफ्नो विभागीय जिम्मेवारीबोध गरी छात्रवृत्ति कोष स्थापना गरिएको बताए ।

सीता–तीर्थ अधिकारी छात्रवृत्ति कोषका सूत्रधार असफल गौतमले अधिकारी दम्पत्तिले जागिरे जीवनको अवकाशपछि प्राप्त पेन्सनलाई सामाजिक, साहित्यिक तथा शैक्षिक क्षेत्रका उत्कृष्ट प्रतिभाको प्रोत्साहनमा लगाउँदै आएको जानकारी गराए ।

सीता–पुण्य पुरस्कारकी परिकल्पनाकार विभागीय पूर्व विद्यार्थी शुभद्रा भट्टराई कोइरालाले आफू विभाग प्रथम हुँदासमेत पुरस्कृत हुन नपाउँदाको अनुभूतिले विभागमा विभागीय कोष स्थापना गर्न पाए भन्ने लागेकाले मातापिताको सम्मानमा २०८२ सालमा एकलाख ५१ हजार एकसय ११ राशीको अक्षयकोष स्थापना गरी उक्त कोषको व्याजबाट प्राप्त रकमबाट विभाग उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्न पाउनु आफ्ना लागि गौरवको विषय भएको बताइन् ।

सीता–पुण्य पुरस्कारकी संस्थापक भावना लामिछाने भट्टराईले शिक्षाको उज्यालो नै जीवनको उज्यालो भएकाले बुबा पुण्यप्रसाद भट्टराईले अविछिन्न ३७ वर्ष शिक्षासेवामा जीवन समर्पण गरेकाले उनको सम्मानमा पुरस्कार कोष स्थापना गरिएको जानकारी गराइन् ।

समारोहमा सम्मानित प्रतिभा जमुनाकुमारी रिजाल, शुष्मा पौडेल र शारदा बरालले सम्मानले थप जिम्मेवारी बोध गराएको बताए ।

कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का बिखर्ची, विभागीय सदस्य प्रा.डा. विष्णुप्रसाद पौडेल, डा. लक्ष्मीशरण अधिकारी, डा. यमनाथ तिमिल्सिना, डा. पुण्य पौडेललगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->