पाेखरा/ पृथ्वीचोकस्थित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्वासी तथा अव्यवस्थित बासोवासीहरूले पेस गरेका कागजातहरूको अध्ययन तथा छानबिन गर्न गठित समितिले आफ्नो विस्तृत प्रतिवेदन महानगरलाई बुझाएको छ ।
समितिका संयोजक तथा पोखरा महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीले महानगर प्रमुख धनराज आचार्यसमक्ष ६२७ पृष्ठ लामो प्रतिवेदन बुझाएका हुन् ।
पृथ्वीचोकमा सुविधा सम्पन्न आधुनिक बसपार्क निर्माण गर्ने योजना क्रमबद्ध रूपमा अगाडि बढिरहेको महानगरले जनाएको छ । प्रतिवेदन बुझ्दै महानगर प्रमुख धनराज आचार्यले उक्त प्रतिवेदनलाई महानगरपालिकाले महत्वपूर्ण दस्ताबेजका रूपमा ग्रहण गरेको उल्लेख गर्दै आवश्यक अध्ययन तथा विश्लेषणपछि उपयुक्त समयमा सार्वजनिक गरिने जानकारी दिए ।
आधुनिक बसपार्क निर्माणलाई व्यवस्थित, पारदर्शी र कानुनी प्रक्रियाअनुसार अगाडि बढाउने प्रतिबद्धता सहित नगर प्रमुख आचार्यले सुकुम्वासीहरूको उचित व्यवस्थापन गरिने बताए ।
प्रतिवेदनमा २३३ जनाको अन्यत्र पनि जग्गा भेटिएको स्रोतहरुले जनाएका छन् । आफुहरु सुकुम्बासी भएको भन्दै ५७२ जनाले निवेदन दिएका थिए । त्यसमा २३३ जनाको अन्यत्र जग्गा भेटिएको हो ।
समितिले प्रतिवेदन बुझाइसकेको अवस्थामा वास्तविक सुकुम्बासीका लागि बासको व्यवस्थाका लागि काम भइरहेको पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिए । ‘मेरो वडामा भएको विषयमा छिटोभन्दा छिटो समाधानका लागि म आफै लागि परेको छु,’ उनले भने, ‘सुकुम्बासी र महानगर कसैलाई पनि मर्का नपर्ने गरी समस्या समाधानका लागि म अहोरात्र खटिएको छु ।’
महानगरले बसपार्कको पृथ्वी राजमार्गसँग जोडिएको उत्तरी भेग र सुकुम्वासी बस्तीभन्दा पश्चिम र उत्तरी क्षेत्रमा डोजर चलाए पनि मुख्य सुकुम्बासी बस्ती यतिकै छाडेको छ । सुकुम्बासी बस्तीलाई वैकल्पिक व्यवस्था भएपछि मात्रै हटाउने महानगरको योजना छ । बसपार्क क्षेत्रभित्रका ५२० वटा संरचनाहरू हटाइएको छ ।
बसपार्क निर्माणका लागि ५ दशकअघि अधिग्रहण गरिएको जग्गाको विवाद सुल्झाउन अर्को समिति पनि सक्रिय छ । पोखरा उपत्यका नगर विकास समितिले पूर्व न्यायाधीश शंकरराज बरालको अध्यक्षतामा ३ सदस्यीय न्यायिक अध्ययन समिति बनाएर काम गरिरहेको छ । यो समितिले अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री वितरण र क्षतिपूर्तिबारे उठेका गुनासोको सत्यतथ्य जाँच गरिरहेको छ । समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी सदस्य र प्रशासनिक अधिकृत प्रकाश सुवेदी सदस्य सचिव छन् ।





