मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

अनि दम मारो दमको त्यो धमाका !

अनि दम मारो दमको त्यो धमाका !


  • बासुदेव मिश्र
  • असार ३० २०८३, मंगलबार

यो त्यो बेलाको कथा हो,जुनबेला काठमाडौं र पोखराका गल्लीहरुमा फिरन्ताहरु बेफिक्री डुलिरहेका हुन्थे । अनौठो लवाइ,उस्तै बेपर्वाह चालका उनीहरु सजिलै पाइने गाँजा निस्फिक्री हावामा उडाउँथे ।

मदमस्त युवायुवतीको त्यो समूह कहाँबाट आयो ? किन आयो ? तेह्रथुमबाट पढाइकै लागि काठमाडौं आएका प्रा.डा. अभि सुवेदी उनीहरुतिर तानिए ।

‘काठमाडौं रित्तो मन लिएर आको । टियू भर्ना भएँ । म ब्ल्याङ्क मन लिएर आएँ । त्यो मन केले भर्ने ?एक्कासी काठमाडौंमा यस्तो मान्छे आए कि रंगिन पहिरन छ । के के लगाएका छन् । कोही नाङ्गै खुट्टा हिँडेका छन् । कोही केही छन् । पश्चिमका युवायुवती, ती हिप्पी रहेछन्,’हाल यो संसारमा नरहेका अभिले भुपेन खड्कासँगको एक कुराकानीमा भनेका छन्,‘ तिनीहरुको दुईवटा कुराले मलाई आकर्षिक ग¥यो । उनीहरुसँग किताब थियो, किताब बोकेका छन् । संगीत थियो । कवि थिए । म तिनीहरु सम्म पुगेँ । उनीहरुको सवै तरिका लिइन तर उनीहरुको त्यो कुरा (किताब र संगीत) लिएर म अगाडि बढेँ ।’

अभिका अनुसार उनीहरु विरक्तिएर नेपाल पसेका थिए । संगतपछि थाहा भयो,त्यो हुलामा भियतनाम युद्ध लडेर आएकाहरु पनि थिए ।

‘त्यतिखेर मैले भेटेका हिप्पीमध्ये एउटाको हात नै नही,एउटाको खुट्टा । उनीहरु भियतनामको युद्धबाट आएका,युद्धबाट बाहिर निस्केका युवा थिए,’उनले भनेका छन्,‘ मलाई एकदमै उनीहरुको नजिक लग्यो । म नसापट्टि गइन । मेरा दाजुहरु साधुसाधु खालको । दाजुहरु पनि त्यस्तै खान्थे । गाँजा मेरो लागि नौलो थिएन । आमाले यसले गाँजा नखाओस् भन्ने थियो । तिनीहरुसँग राम्रो कुरा खोज्न पुगियो । म त्यतापट्टि (गाँजा) लागिन ।’

अभि त्यो बेला हिप्पीहरुसँग सानो कोठामा घन्टौं बात मार्दै बस्थे रे ! सानो कोठामा गाँजा चल्थ्यो । आफैंले नखाए पनि अभिलाई पनि नशाले छुने नै भयो ।

‘घण्टौँ बसेपछि म हाँस्दै निस्कन्थेँ,’ उनले भनेका छन् ।

लेखक

सन् १९६० को दशकदेखि नेपाल छिरेका हिप्पीहरुले नेपाली युवाहरुलाई कुलतमा नलगाएको अभिको जिकिर छ ।

‘हिप्पीहरुले नेपालका युवाहरुलाई मास रुपले कुलतमा लगाएनन् । काठमाडौंका युवाहरु नेवारहरु थिए । उनीहरु कुलतमा लागेर फिट्टा भएर हिँडेको मलाई थाहा छैन । नेवारी संस्कृतिसँग त्यो (कुलतबाट टाढा हुने) सामथ्र्य छ । झोंसेमा उनीहरुले राखे । त्यहाँका नेवार साहूहरुले मजाले घरको भुइँतलामा डेरामा राखे । उहाँहरुको जिन्दगी आफनै थियो । तिनीहरुको आवागनले उनीहरुलाई खासै प्रभाव पारेन ।’

हुलका हुल नेपाल पसेका हिप्पीहरुले तत्कालीन युवाहरुलाई कत्तिको प्रभावित गरे,यो खोजको विषय नै हो । तर, काठमाडौंको झोंसे, र पोखराजस्ता पर्यटकीय क्षेत्रमा किताब पसल,बेकरी र संगीतसहितको रेष्टुराँ खुल्नुमा चाहिँ हिप्पीहरुकै योगदान छ ।

नेपालमा त्यो बेला गाँजा अवैध थिएन । पसल नै खोलेर बेच्न पाइन्थ्यो । युद्धबाट विक्षिप्त बनेका र मोक्षको खोजीमा भौंतारिका हिप्पीहरु चिसो र गाँजाको सुगन्धले तानिएर नै नेपाल आएका थिए । यहाँको चिसो मौषम, सजिलै उपलब्ध हुने गाँजा र चरेस अनि सस्तो बसाइले उनीहरुलाई महिनौँसम्म यहीँ रोकेको थियो ।

अभिको भनाइमा हिप्पीहरु ‘मोक्ष’को खोजीमा त थिए नै,उनीहरुको आगमनलाई तत्कालीन राजा महेन्द्रले पनि अप्रत्यक्ष रुपले स्वागत गरेका थिए ।

‘राजा महेन्द्रको हिप्पीप्रतिको अनौठो धारणा थियो । त्यो भनेको के भने, राजा महेन्द्रले उनीहरुलाई आउन दिए । गेट बनाएर स्वागत गरेनन् । पूरा खुलस्त रुपले । तर,हिप्पीहरु आउँदा अवरोध भएन । त्यस्तो पञ्चायतले शासन गरेको,अटोक्रेटिक राजा । हिप्पीहरुप्रति निरपेक्षता,’उनले भनेका छन्,‘मस्त आउँथे, जान्थे । रिचर्ड निक्सन(सन् १९६९ देखि १९७४ सम्मका अमेरिकी राष्ट्रपति) को पालामा ब्याण्ड गरेपछि (गाँजालाई लागुपदार्थमा वर्गिकरण गरेसँगै) बल्ल हिप्पीहरुलाई निकाला भयो ।’

अभिले भनेको कुरासँग भारतका सर्वकालीन सुपरस्टार देवानन्द (देव आनन्द) मेल खान्छ ।

देवानन्दले आफ्नो आत्मकथा ‘रोमान्सिङ विद लाइफ’ मा लेखे अनुसार तत्कालीन युवराज वीरेन्द्रको विहे (२०२६,फागुन १६ गते) को विहेमा निम्त्याइएको बेला उनी हिप्पीहरुको बाक्लो जमघट हुने ‘द बेकरी क्याफे’ पुगेका रहेछन् ।

उनी त्यहाँ पुग्दा लामो कपाल पालेका, सयपत्रीको माला लगाएका र गाँजा तानिरहेका युवा–युवतीहरु मस्त थिए । तीमध्ये कोही उपरखुट्टी लगाएर बसेका थिए भने केही ध्यान मुद्रामा आकासतिर फर्केका। तिनका केटी साथी बेपर्वाह मस्त ! उनीहरुको स्कर्ट बेपर्वाह हावामा उडिरहेको थियो। त्यही भीडमा उनले भारतीय मूलकी एउटी युवती देखेछन् । देवानन्दलाई ती भारतीय युवतीको जीवनीमा आधारित सिनेमा बनाउने सोच पलाएछ ।

देवानन्दले ती युवतीलाई भेट्छन् । उनको जीवनबारे थाहा पाउँछन् र सिनेमा बनाउने निश्चय गर्छन् ।बिहेको सप्ताहव्यापी कार्यक्रमपछि देव आनन्द बिदाइ भेटको लागि दरबार गएछन् अनि राजा महेन्द्रलाई भनेछन्,‘ ‘यदि महाराजले मलाई अनुमति दिनुहुन्छ भने… मसँग एउटा कथा छ र त्यो नेपालमा मात्रै हुन्छ ।’
राजा सुन्ने मुडमा थिए ।

‘एउटा सिनेमा जसले युवा तथा विन्दास घटनाको प्रतिनिधित्व गर्छ…’
‘यसको मतलब हिप्पी ?’
‘हो सरकार । यो सिनेमाको गतिलो सोच हो, म यो यहाँ बनाउन चाहन्छु ।’
‘अगाडि बढ, तिम्रो स्क्रिप्ट तयार छ ?’
‘म पहिले तपाईंको स्वीकृति चाहन्छु ।’
‘यो तिम्रो सोच हो, मेरो स्वीकृति किन ?’

‘स्क्रिप्ट तयार भएपछि छायाङ्कनको लागि स्वीकृति । स्क्रिप्ट सबै यहाँ भित्र छ (दिमागमा औँलाले छुँदै) सरकारबाट प्राप्त प्रोत्साहनले यो कागजमा छिट्टै आउँछ ।’

राजा महेन्द्रले देवानन्दलाई स्क्रिप्ट लेख्नको लागि पोखरा जान सुझाए । पोखराको फिस्टेल लजमा बसेर देवानन्दले काम सकाए । यो सिनेमा काठमाडौंको गल्लीहरुमै खिचियो । ‘हरे रामा, हरे कृष्णा’ फिल्म ब्लकबस्टर बन्यो । अनि त्यसको एउटा गीत ‘दम मारो दम’ कालजयी !

हिप्पीकालीन काठमाडौं
पहिलो र दोस्रो विश्वयुद्धबाट विरक्तिएका अमेरिकी र युरोपियनहरुले राज्यसत्ताप्रति ‘मौन विद्रोह’ सुरु गरे । उनीहरुले किताब,संगीत र लापर्वाह जीवनलाई आफ्नो ठाने । परम्परागत मान्यताविपरित अगाडि बढेका उनीहरु विश्वयात्रामा निस्के ।

फ्रान्स, नेदरल्याण्डको एम्मरर्डम, युगोस्लाभिया, आइसल्यान्ड, टर्कीको आंकरा हुँदै गाँजा–चरेस पाइने ठाउँहरू इरान, अफगानिस्तानबाट खैवर घाँटी हुँदै पाकिस्तानको लाहोर र त्यसपछि काश्मीर गोवा, दिल्ली अनि काठमाडौँ र पोखरा आइपुग्नेहरु उनीहरु नै थिए । करिब १२ हजार माइलका यो यात्रा गर्न बसबाट ५० दिन लाग्थ्यो । विद्रोही जीवन बाँच्नेहरू सुरुमा भारत आए अनि चिसो र मिठो गाँजाको चर्चासँगै नेपाल भित्रिए । तत्कालीन काठमाडौंले उनीहरुलाई सहर्ष स्वीकार ग¥यो । परम्परागत नेवारी बस्ती झोंसे हिप्पीको अखडा बन्यो । रैथाने नेवारहरु हिप्पीको खातिरदारीमा अगाडि सरे । जात्रा र पर्वहरुमा रम्ने गरेका नेवारहरुले हिप्पीले खोजेजस्ता परिकार बनाउन थाले । कतिपयले हिप्पीबाटै सिके अनि परम्परागत नेवारी परिकारको बास्ना आउने काठमाडौंले बर्गरदेखि बेकरीसम्मको स्वाद चखाउन थाल्यो । गाँजा र चरेसमाथि प्रतिबन्ध थिएन । अतिथिले खोजेको चिज पनि काठमाडौंले टक्र्याइ रह्यो । हिप्पीहरु ‘चिलिम’ तानेर ‘मन मगन’ बनिरहे । त्यो बेला सरकारको काठमाडौंमा ३० वटा पसललाई वैधानिक रुपले नै गाँजा बेच्ने अनुमति दिएको थियो ।

१३ अगस्ट १९७३ मा द न्यूयोर्क टाइम्समा छापिएको बर्नार्ड वाइनराउबको समाचारमा त्यो दृष्यलाई यसरी वर्णन गरिएको छ,‘प्रायः प्रत्येक बिहान हिप्पीहरू रातको ५० सेन्ट मात्र तिरेर बस्ने सस्तो आश्रयस्थल बाट निस्कन्छन् । त्यसपछि उनीहरू नजिकैका आफ्ना जमघटस्थलहरूमा पुग्छन्, जहाँ उनीहरू गफ गर्छन्, रक संगीत सुन्छन्, र चुपचाप चिलिमलाई एक जनाको मुखबाट अर्को जनाको मुखमा पास गरिरहन्छन् ।’

बनार्डले नेपालमा गाँजा र चरेस प्रतिबन्धित भएपछि झन विरक्तिएका र काठमाडौंमा मुस्किलले रहेका १ सय जना हिप्पी रहेको बेला यो समाचार लेखेका हुन् ।
तर जुन युग प्रा.डा. अभि सुवेदीले देखे, त्यो समय भिन्नै थियो । शरद ऋतुतिर भित्रने उनीहरुको स्वागत गर्न काठमाडौं तयारीका साथ बस्थ्यो । प्रायः भारतको वाराणसी हुँदै नेपाल भित्रने हिप्पीमध्ये केही पोखरा आउँथे ।

सन् १९६० को दशकमा पोखराले सहरको रुप लिएकै थिएन । अहिलेको प्रमुख पर्यटकीय गन्तव्य बैदाम क्षेत्र लेकसाइड बनेकै थिएन । हिप्पीहरु आउन थालेपछि बैदामवासीहरुले पनि आफूलाई बदले । बास माग्न आउनेहरुलाई धनसार र सानो कोठामा परालको डसनामा सुत्ने प्रबन्ध गरिदिए । काठमाडौंजस्तै बैदाम र वरपरका क्षेत्रहरुमा भनेजस्तो गाँजा पाइन्थ्यो ।

हिप्पीकालको अन्त्य देखेका र उनीहरुसँगै संगत गरेका पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईका अनुसार हिप्पीहरु त्यो बेला फेवाताल वरपर नै रमाउँथे । कोही तालमा नाङ्गै–भुतुङ्गै पनि देखिन्थे ।

अघिल्लो पुस्ताले भनेको कुरा सुनाउँदै उनले भने,‘उनीहरुले खोजेजस्तो गाँजा/चरेस बागलुङ,म्याग्दी र रुकुम–रोल्पाबाट आउँथ्यो । त्यतातिरको गाँजा र चरेसको भाउ पनि अन्यत्रको भन्दा महंगो थियो । कतिपयले आफू चढेर आएको गाडीको अन्तरकुुन्तर लुकाएर पछिसम्म पनि त्यताको चरेस लगेका थिए रे !’

अनेकौं किस्सा, रोमाञ्चक अनुभूति
हिप्पी युगमा नेपाल आएकाहरु अझैं यो धर्तीमै छन् । उनीहरुमध्ये केहीले आफ्नो संस्मरणलाई पुस्तकको रुप दिएका छन् भने केहीले चाहिँ सामाजिक सञ्जालमार्फत् ती रोमाञ्चक दिनको स्मरण गरिरहेका छन् ।

तीमध्ये एक हुन्–टम बेल । उनले सन् १९७० को दशकमा नेपाल आएको प्रसंग सामाजिक सञ्जालमा यसरी व्यक्त गरेका छन् ।

‘मलाई सम्झना छ, सन् १९७० को दशकको मध्यतिर कुनै बेला नेपाल सरकारले सडकभरि खुलेआम लागुऔषधका ठूला साइनबोर्डहरू राखिएका थिए । पछि सरकारले त्यसमा कडाइ गरेपछि काठमाडौंको ‘इडेन ह्यासिस सेन्टर’ लाई आफ्नो नाम परिवर्तन गरेर ‘इडेन रग एन्ड आर्ट सेन्टर’ राखिएको थियो । तर, भित्र पस्नेबित्तिकै थाहा हुन्थ्यो कि त्यहाँ बेच्नका लागि न त कुनै गलैँचा थिए, न त कुनै कलाका सामग्री ।’

अर्का यात्री हेइके ब्लोमले पनि त्यो बेला सम्झँदै भनेका छन्,‘म १९ वर्षको हुँदा त्यहाँ पुगेको थिएँ । म नेपालसम्म निकै टाढाबाट यात्रा गरेर आएको थिएँ । अहिले मेरो उमेर ६६ वर्ष भयो ।

मेरा साथीहरू गोवामै बसोबास गर्न थाले । उनीहरू बेकर (रोटी बनाउने) थिए, र पूर्णिमाका पार्टीहरूमा उनीहरूले आफूहरूले बनाएको स्वादिलो रोटी बेच्थे । त्यो अनुभव यति अद्भुत थियो कि म त्यसलाई जीवनभर कहिल्यै बिर्सन सक्दिनँ । खुसीको कुरा, ती मानिसहरू अझै जीवित छन् ।’

सन् १९७६ मा नेपाल र पोखरा आएकी ट्रिसिया हार्टले पनि नेपालमा बिताएका स्वर्णिम क्षणहरुबारे उस्तै अनुभूति साँटेकी छन् ।

उनले भनेकी छन्,‘ मेरो यात्रा–साथी र म बैंककबाट हवाइजहाजमार्फत् नेपाल आयौँ । त्यसपछि हामीले एक महिना काठमाडौं र पोखराबीच आवतजावत गर्दै बितायौँ । दक्षिण–पूर्वी एसिया—वा अझ स्पष्ट रूपमा भन्नुपर्दा, त्यहाँ अत्यन्त कम खर्चमा यात्रा गर्दै बस्ने जीवनशैली—मेरो लागि आफैंमा एउटा ठूलो अनुभव थियो । तर नेपाल प्रवेश गरेपछि मलाई लाग्यो, मानौँ म अर्कै संसारमा प्रवेश गरेँ। काठमाडौंमा बेला–बेलामा हुने लोडसेडिङका कारण सीमित विद्युत् आपूर्ति, वा पोखरामा हामी बसेको साधारण माटो–इँटाको कोठामा विद्युत् नै नहुनु, अस्वच्छ जीवनशैली, कमजोर स्वास्थ्य सेवा (हो, म निकै बिरामी पनि परेँ), र खानाका सीमित विकल्प—यी सबै कुरा दक्षिण–पूर्वी एसियामा पाइने स्वादिष्ट र विविध परिकारहरूको तुलनामा निकै भिन्न थिए ।

मेरो डायरीमा हामी बसेका ठाउँहरूको नाम लेखिएको छैन। तर मलाई सम्झना छ, काठमाडौंमा हामी न्युरोड नजिक, दरबार स्क्वायरबाट केही ब्लक तल एउटा स्थानमा बसेका थियौँ। पोखरामा भने फेवातालको पूर्वी किनारलाई हेर्ने गरी बनेका माटाका साना झुपडीहरूको एउटा पङ्क्तिमा बस्यौँ ।

दुर्भाग्यवश, हामी गर्मीयाममा पुगेकाले हिमालहरू अधिकांश समय बादलले ढाकिएका थिए । तर काठमाडौंबाट पोखरातर्फ बसमा यात्रा गर्दा, बादल अचानक हटेपछि अस्ताउँदै गरेको सूर्यको गुलाबी आभामा नुहाएका हिमालयका चुचुराहरू पहिलो पटक देखेको दृश्य भने आज पनि मेरो स्मृतिमा अत्यन्त जीवन्त छ ।

त्यसपछि पोखरामा यति नजिक हुँदाहुँदै पनि हामीले अन्नपूर्ण हिमशृंखलाको कहिलेकाहीँ मात्र दर्शन गर्न पायौँ र स्वाभाविक रूपमा, त्यस्ता क्षणमा मेरो क्यामेरा प्रायः साथमा हुँदैनथ्यो ।
तर, नेपालमा हाम्रो अन्तिम रात भने भाग्यले साथ दियो । हामी फेरि पोखराकै त्यही झुपडीमा बसेका थियौँ । अघिल्ला बसाइहरूमा हाम्रो राम्रो चिनजान भएका त्यहाँका युवा व्यवस्थापकले राति अबेर हाम्रो ढोका ढकढक्याउँदै उत्साहित स्वरमा बाहिर आउन आग्रह गरे । हामी बाहिर निस्किएपछि पूर्णिमाको उज्यालोमा स्नान गरिरहेको अन्नपूर्ण हिमशृंखलाको अनुपम दृश्यले हाम्रो स्वागत ग¥यो । त्यो दृश्य हाम्रो नेपाल यात्राको अविस्मरणीय समापन बन्यो ।

किन प्रतिबन्धित भयो गाँजा,किन धपाइए हिप्पीहरु ?
अमेरिकाले हिप्पी संस्कृतिमाथि नियन्त्रणको प्रयास थाल्यो । उसकै अगुवाइमा सन् १९६१ मार्च (२०१७ साल चैत) मा संयुक्त राष्ट्रसंघीय मुख्यालयमा सम्पन्न सम्मेलनबाट अन्तर्राष्ट्रिय सन्धि ‘द सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१’ पारित गरियो । नेपाल पनि सो सन्धिको पक्षधर थियो । अफिमजस्तै गाँजालाई लागुऔषधको सूचीमा समावेश गरियो । नेपालमा पञ्चायती शासन सुरु भएको बेला थियो । सन्धिमा हस्ताक्षर गरे पनि राजा महेन्द्रले हिप्पीको प्रिय गाँजा र चरेसमा प्रतिबन्ध लगाएनन् । तर,राजा वीरेन्द्रको राज्याभिषेक (२०३१ फागुन १२) को बेलामा मात्र नेपालले हिप्पीहरुमाथि कडाइ ग¥यो । अन्तर्राष्ट्रिय पाहुनाको अगाडि नेपालको व्यइज्जत नहोस् भन्नाका खातिर त्यो बेला हिप्पीहरुको कपाल काट्नेजस्ता कदमहरु पनि चालिएको थियो ।

संयुक्त राष्ट्रसंघ नेपालले गाँजामा पूर्ण प्रतिबन्ध लगाउन सहयोग नगरेकोमा असन्तुष्ट थियो । अमेरिकाले निरन्तर गाँजामा प्रतिबन्धको दवाब दिइरह्यो । राजा वीरेन्द्रले त्यो दवाब खेप्न सकेनन् । २०३३ सालमा लागूऔषध (नियन्त्रण) ऐन जारी भयो । गाँजाको खेती, उत्पादन, खरीद–बिक्री, निकासी, पैठारी, सञ्चय

प्रतिबन्धपछि काठमाडौंमा रहेका आक्रोसित हिप्पीहरुको भावना समेटेएिको बर्नार्ड वाइनराउबको समाचारमा भनिएको छ,‘वर्षौंसम्म अन्तर्राष्ट्रिय हिप्पी यात्राको लगभग राजधानी रहँदै आएको काठमाडौं अहिले भने कडा र तनावपूर्ण बन्दै गएको छ । तीन साताअघि नेपाल सरकारले राजधानीको लागुऔषध बजार बन्द गर्ने तथा गाँजा, ह्यासिस र कडा किसिमका लागुऔषधको बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि पश्चिमी मुलुकबाट आएका ‘यात्रीहरू’ बीच चिन्ता र असहजता फैलिएको छ । ह्यासिसको मूल्य त यसबीच दोब्बर भइसकेको छ ।

‘अविश्वसनीय ! ‘इट एट जोज’ नामक रेस्टुरेन्टमा बसेकी एक अस्ट्रेलियाली युवतीले भनिन् ।

इक्लिप्समा भेटिएका सान फ्रान्सिस्कोका २८ वर्षीय र्यान्डीले काँध उचाल्दै भने,‘उनीहरूले यसलाई कसरी रोक्न सक्छन् ? के उनीहरूले समुद्रतिर बग्ने पानी रोक्न सक्छन् ?’

यद्यपि ‘डोप’ (लागुऔषध) सेवन अझै सामान्य नै छ र अहिले पनि काठमाडौंमा ह्यासिस भेट्टाउन खासै गाह्रो छैन । तथापि हिप्पीहरू भित्रभित्रै चिन्तित छन्, किनभने सरकारको नयाँ आदेशले नेपाल अब लागुऔषधविरुद्ध कडा नीति अपनाउने दिशामा अघि बढेको स्पष्ट संकेत दिएको छ ।

यसैसँगै सरकारले सन (हेम्प) र अफिम (पप्पी) जस्ता बोटबिरुवाको खेतीसमेत छिट्टै निषेध गरिने जानकारी दिएको छ । साथै, नेपालले अब भिसाका लागि आवेदन दिने तथा आफ्नो बसाइ अवधि थप्न चाहने व्यक्तिहरूमाथि अझ कडाइका साथ निगरानी गर्ने संकेत पनि दिएको छ ।

समाचारमा तत्कालीन परराष्ट्रमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भनेका छन्‘हामी उनीहरूलाई निरुत्साहित गर्न खोजिरहेका छौँ, तर हामीसँग केही समस्या छन् । रूले कपाल काट्छन्, राम्रो लुगा लगाउँछन् र भिसा पाउँछन् । तर यहाँ आएपछि फेरि लामो कपाल पाल्न थाल्छन् ।’

गाँजा खेतीको लागि जुर्मुराएको गण्डकी
हिप्पी युग सकिएको छ । तर,नेपालमा गाँजा खेती सुरु गर्ने बहस पुनः सतहमा आएको छ । गण्डकी सरकारले त औषधीय प्रयोजनमा उपयोग गर्ने गरी गाँजा खेतीलाई वैधानिकता दिने विधेयक नै तयार पारेको छ । गण्डकीको विधायन समितिले हालै यो विधेयक पारित गरेको छ ।

विधेयकको मस्यौदाले गाँजा खेतीलाई औषधीय प्रयोजनमा सीमित गर्न खोजेको छ भने कारोबारलाई नियन्त्रण गर्नका निम्ति शक्तिशाली र स्वायत्त ‘गाँजा नियमन बोर्ड’ को प्रस्ताव गरेको छ ।

मुख्यमन्त्रीद्वारा नियुक्त कार्यकारी निर्देशकको अध्यक्षतामा रहने यो बोर्डलाई गाँजा खेतीका लागि क्षेत्र तोक्न, अनुमतिपत्र जारी र खारेज गर्ने , उत्पादित गाँजाको न्यूनतम समर्थन मूल्य तोक्न सरकारलाई सिफारिस गर्ने र कानून उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउने अधिकार दिइएको छ । विधेयकमा कतिवटा बोट गाँजा रोप्ने र कहाँ रोप्ने, कतिबेला उत्पादन लिनेजस्ता प्रावधानहरु राखिएको छ ।

किसानले उत्पादन गरेको गाँजा सिधै बजारमा लगेर बेच्न नपाउने व्यवस्था पनि विधेयकमा राखिएको छ । गाँजा खेती गर्ने र किन्नेले अनुमतिपत्र लिनुपर्छ भने विधेयकले गाँजालाई वैज्ञानिक आधारमा वर्गीकरण गरेको छ । १ प्रतिशतभन्दा बढी नशायुक्त तत्व भएकोलाई ‘गाँजा’ र सोभन्दा कम भएकोलाई ‘भाँगो’ मानिएको छ । हरेक किसान र व्यवसायीले उत्पादन र बिक्रीको विस्तृत अभिलेख राख्नुपर्नेछ भने १८ वर्षमुनिका व्यक्तिलाई कारोबारमा संलग्न गराएमा अनुमतिपत्र स्वतः खारेज हुनेछ ।

अनुमतिबिना खेती वा कारोबार गर्नेलाई ३ वर्षसम्म कैद र ६ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कडा कानुनी व्यवस्था छ । गण्डकी सरकारले कानुन बनाउने तयारी गरे पनि लागू औषध (नियन्त्रण) ऐन, २०३३ का गाँजा खेती र कारोबारलाई अपराध मान्ने विभिन्न दफाहरू निस्तेज नभएसम्म खेती सुरु हुने सम्भावना छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->