symbolic pix
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा किमरुङ भन्ने ठाउँमा किमरुङ खोला माथिबाट आएको पहिरोले थुनिएको छ ।
मङ्गलबार दिउँसो २ बजेबाट खोलाको बहाव घटेको लान्द्रुक हाइड्रोपावरका इन्चार्ज रविराज थलालले जानकारी गराएपछि घटनाबारे थाहा भएको हो । जानकारी आएपछि वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको नेतृत्वमा १० जनाको टोली त्यसतर्फ गएको छ ।
अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले खोला आसपासका स्थानीयलाई सतर्क हुन आग्रह गरे । æखोलाको पानी आधाभन्दा बढी घटेको देखिएको छ, एकैपटक थुनिएको भाग खोलियो भने जोखिम हुन सक्छ,Æ उनले भने । गाउँपालिकाको टोली पनि त्यसतर्फ जाँदै छ ।
घान्द्रुक, वीरेठाँटी र नयाँपुलका प्रहरी इकाइबाट खटिएका प्रहरी टोलीहरुले स्थानीयलाई सुरक्षित हुन माइकिङ गरिरहेका छन् । यही भदौ २ गते पनि किमरुङ खोला पहिरो खसेर थुनिएपछि बाढी आएको थियो ।





