मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

जैमिनी अस्पतालको पक्की भवनलाई किन बनाईयो कर्मचारी आवास ?

जैमिनी अस्पतालको पक्की भवनलाई किन बनाईयो कर्मचारी आवास ?

‘हामी अनुगमनमा गएपछि पो थाहा पायौं, सेवा दिने अस्पताल भुईंमा रहेछ, स्वास्थ्यकर्मीहरु पक्की भवनमा बस्ने रहेछन्’ जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले भने, ‘यो अलि सुहाएन की भनेका छौं ।’


  • प्रकाश बराल
  • असार ३१ २०८३, बुधबार
चिकित्सक र स्वास्थ्यकर्मीहरुले आवासको रुपमा प्रयोग गर्दै आएको सुविधा समपन्न भवन । तस्वीरः ढोरपाटन

बागलुङ/जैमिनी नगर अस्पतालमा दैनिक ८० बिरामी उपचारमा आउने गर्छन् । प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीसेरालाई नगर अस्पतालमा रुपान्तरण गरिएको हो । यहाँ अस्पताल बनाउन पुग्ने पर्याप्त जमिन र भवनहरु छन् तर सेवा भने छाप्रोमा दिइएको छ ।

पक्की भवन नभएकोले छाप्रोमा अस्पताल राखिएको भने होइन । तीनवटा पक्की भवन कर्मचारीको आवास बनाइएको छ, भुईंतला मात्र भएको जस्ताको घरमा भने अस्पताल संचालन भएको हो । आर्कषक भवनमा कर्मचारी र स्वास्थ्यकर्मीको आवास बनाइएको छ । झट्ट हेर्दा अस्पताल होला भन्ठानेर प्रवेश गर्नेहरु आवासमा पुगेर झुक्किन्छन् ।

ढलान गरिएका यी आकर्षक भवनमा डाक्टर र स्वास्थ्यकर्मी बस्छन् । नगरपालिकाका कर्मचारी पनि यहाँ बस्न आइपुग्छन् । जस्ताले छाएको भवनमा सेवा प्रवाह गर्दा आकर्षक भवनलाई अस्पताल नबनाइएकोमा बिरामीले नै टिप्पणी गर्न थालेका छन् । दैनिक ८० जना बिरामी आउने यो अस्पतालमा जो–कसैले पक्की र ठूला भवनलाई नै अस्पताल भन्ने सोच्छन् । उपचारका लागि छाप्रोमा पुगेपछि पक्की भवन बिरामीलाई नभएको पत्ता लाग्छ ।

अस्पताका डा. सुजन शर्मा, डा. राजकुमार चोचाङगी नियमित यहीं बस्ने भएकोले उनीहरुलाई क्वाटर त आवश्यक पर्छ । त्यस बाहेक यहाँका स्टाफ नर्स सुनिता चालिसे, अहेव बिदुर शर्मा, डिल्लीप्रसाद शर्मा, नर्स शान्ति शर्मा, लक्ष्मी कुमारी शर्मा, मनिकला थापालगायत सबैलाई क्वाटरको सुविधा छ ।

अहेव शर्मिला देवी शर्मा र कार्यालय सहयोगी विष्णुदेवी शर्मा भने घरबाटै आउने जाने गर्छन् । नियमित बस्नुपर्ने र जतिबेला पनि डिउटी गर्नुपर्ने सहयोगी घरबाट आउने जाने गरिरहेका छन् भने, तोकेको समयमा उपचारमा खटिनेहरु क्वाटरमा बस्दै आएका छन् । यहाँ अघिल्लो वर्ष १४ हजार २ सय ६ बिरामीको उपचार गरिएको थियो ।

चालु वर्षदेखि बर्थिङ सेन्टरमा बिरामी कुरुवा कक्ष पनि बनाइएको छ । तर, पुरानो भवनमा सेवा प्रवाह गरेर नयाँ र पक्की भवनमा स्वास्थ्यकर्मी बसिदिंदा अस्पतालप्रति नकारात्मक धारणा आएको छ ।

‘हामी अनुगमनमा गएपछि पो थाहा पायौं, सेवा दिने अस्पताल भुईंमा रहेछ, स्वास्थ्यकर्मीहरु पक्की भवनमा बस्ने रहेछन्’ जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले भने, ‘यो अलि सुहाएन की भनेका छौं ।’ उनले आवास बनाउँदा पनि पक्की घरमासमेत केही सेवा जोडेमा मात्र विवाद कम हुने बताए ।

अस्पतालका प्रमुख डा. सुजन शर्माले ब्हिल चियर लैजान सकिने स्थान भएकोले भुइ तलामात्रै भएको छाप्रोमा अस्पताल संचालन गरेको बताए । ‘भवन अभाव भएको छैन, अभाव भयो भने आवास बनाएका घर पनि उपयोग गर्न सकिन्छ,’ उनले भने, ‘सेवालाई चुस्त बनाउन सक्दो प्रयासमा छौं ।’

जैमिनी नगरपालिकाको प्रशासकीय केन्द्र कुश्मीसेरा बजारदेखि ३ किमी माथी रहेकोले यहाँ झट्ट बिरामी आउन नमानेको स्थानीयले बताए । ‘अस्पताल माथी छ, रिफर गर्नुप¥यो भने फेरि फर्कनुपर्ने रहेछ’ जैमिनी नगरपालिका–६ की शान्ति चालिसेले भनिन्, ‘हामी त सिधै बागलुङ वा कुश्मा जाने गरेका छौं ।’ दोहोरो खर्च गर्नभन्दा एकोहोरो गर्न पालिका अस्पताल नगएको उनले बताइन् ।

अस्पताल जाने सडक पनि अप्ठ्यारो छ । दुई वर्षअघि नगरपालिकाले सडक ढलान गरेर गाडी सहजै जाने त बनाएको छ तर घुम्तीमा जोखिम छ । त्यस बाहेक अस्पतालमा प्रभावकारी सेवा नभएको आरोप पनि लाग्दै आएको छ । स्थानीय तिलक थापाले भने, ‘दरबन्दीका स्वास्थ्यकर्मी बस्दैनन्, सेवा गर्नेभन्दा आफ्नो व्यक्तिगत काममा लाग्छन् ।’ पालिकाले गर्ने हरेक सार्वजनिक सुनुवाइमा पुगेर थापाले स्वास्थ्य सेवा प्रभावकारी नभएको, दरबन्दीका स्वास्थ्यकर्मी घरपायक र नाताबाद खोजेर हिँडेको आरोप लगाउने गर्छन् ।

जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले भने नगरको बजेट र श्रोत साधनले भ्याएसम्म अस्पताललाई राम्रो बनाउने प्रयास गरेको बताउँछन् । ‘भवन कसरी उपयोग भएको छ भन्ने कुरामा छलफल गरौंला, तर सेवा प्रभावकारी बन्नुपर्छ, त्यसमा हामी सचेत छौं,’ उनले भने, ‘अहिले त जनसंख्या पनि घटेको छ, सुत्केरी हुने पनि छैनन्, त्यसैले अस्पताल भवन सानो भएपनि सेवा प्रवाहमा पुगेकै छ ।’

यहाँ संख्या कम भएपनि ग्रामीण बस्तीबाट आउनेहरुले प्रसुती सेवाको समयमा कुरुवा राख्ने स्थान थिएन । होटल समेत नजिकमा नभएकोले कुरुवा घर आवस्यक भएपछि नगरपालिकाको ६ लाख र सम्बोधन परियोजनाको ४ लाख जुटाएर १० लाखको लागतमा एक कोठालाई व्यवस्थापन गरिएको हो । अन्य सेवाका बिरामीमध्ये जटिल समस्या भएमात्र भर्ना गरिने गरिएको छ । यो अस्पताललाई व्यवस्थित बनाइ १५ शैयाको बनाउने लक्ष्य नगरको रहेको उपप्रमुख हरिहर शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->