मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

बाटुलेचौरमा जनकविकेशरीको सम्झना

बाटुलेचौरमा जनकविकेशरीको सम्झना

जनकविकेशरी धर्मराज थापाको बाटुलेचौरस्थित जन्मघरलाई कविकुञ्जका रुपमा विकास गर्ने लक्ष्य लिइए पनि त्यस अनुरुपका संरचनाहरु बन्न बाँकी छ ।


  • ढोरपाटन संवाददाता
  • साउन २ २०८३, शनिबार

पोखरा/जनकविकेशरी धर्मराज थापाको १ सय २ औं जन्मजयन्ती उनको जन्मस्थान पोखराको बाटुलेचौरमा विविध कार्यक्रमसहित मनाइएको छ । वि. सं. १९८१ साउन १ गते जन्मिएका थापाले लोक साहित्यका क्षेत्रमा विशेष योगदान पु¥याएका थिए ।

शुक्ला साहित्य प्रतिष्ठान पोखराले शुक्रबार विशेष कार्यक्रम गरी उनको स्मरण गरेको हो । प्रतिष्ठानले बाटुलेचौरमा गरेको कार्यक्रममा जनकवि केशरी थापाको व्यक्तित्व र कृतित्वको चर्चा गरियो ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनकविकेशरीले नेपाली लोकसंगीतमा गरेको योगदान अविष्मरणीय रहेको औंल्याए ।

प्रदेश प्रमुख भट्टले लोकगीतमै नेपालीपन देख्ने थापाले लोक साहित्य, संस्कृति एवं लोकगीत संगीत विधामा गरेको उल्लेखनीय साधनाको अहिलेको पुस्ताले अनुशरण गर्नुपर्ने विचार राखे । ‘माटोको सुगन्ध बोकेका कालजयी सर्जक धर्मराज थापा नेपाली गाउँबेसी, उकाली–ओराली र पाखा–पखेराका भाका संकलन गरी तिनलाई राष्ट्रिय पहिचान दिने संवाहक हुनुहुन्थ्यो,’ प्रदेश प्रमुख भट्टले भने ।

थापाका गीतमा देशप्रेम, प्राकृतिक सौन्दर्य र नेपाली समाजको वास्तविक तस्बिर झल्किने उनको भनाइ छ । नेपाली हुनुमा गर्व गर्ने र नेपाली माटोलाई माया गर्ने हरेक पुस्ताका लागि थापाका सिर्जनाहरू मार्गदर्शक रहेको प्रदेश प्रमुख भट्टको भनाइ छ । ‘आधुनिक र पश्चिमा संस्कृतिले प्रभाव पार्दै गएको समयमा धर्मराज थापा जस्ता महान् साधकको योगदानलाई स्मरण गर्नु अझ बढी सान्दर्भिक भएको छ,’ उनले भने ।

कविसमेत रहेका उनका छोरा कुञ्जराजले लोक साहित्य र संस्कृतिको संरक्षण भएमात्र जनकविको सच्चा स्मरण हुने विचार राखे । धर्मराज सावित्री प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले धर्मराजको जन्मघरलाई कविकुञ्जका रुपमा विकास गरिएको बताए । उनले प्रतिष्ठानसँगको सहकार्यमा जनकविकेशरी थापाका अप्रकाशित कृति प्रकाशनसँगै ती कृति प्रवद्र्धन गर्ने योजना सुनाए ।

कार्यक्रममा कविहरु मातृकाप्रसाद ढुंगाना, छविलाल आचार्य, मदनराज थापा, ईन्दु भट्टराई, प्रकाश भट्टराई, रीता काफ्ले र शिशिर उजाडले जनकविकेशरी थापाप्रति समर्पित रचनावाचन गरे ।

सो अवसरमा प्रतिष्ठानले लोक संस्कृति साहित्य पुरस्कारबाट विश्वप्रेम अधिकारी र लोकसंगीत पुरस्कारबाट भैरव सांस्कृतिक संरक्षण समिति पोखरालाई नगदसहित सम्मान गरेको थियो । प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुशुमाकर न्यौपाने, पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्य, प्रतिष्ठानका सल्लाहकार मदनराज थापा, पूर्वअध्यक्ष कुलबहादुर खत्री, जय मनकामना वचत तथा ऋण सहकारीका अध्यक्ष नवीन भण्डारी, प्रतिष्ठानका उपाध्यक्ष गीता भण्डारी र सहसचिव सञ्जय थापाले पनि धारणा राखेका थिए ।

थापाको २०७१ असोज २८ गते काठमाडौं स्वयम्भूमा निधन भएको थियो । उनको बाटुलेचौरस्थित जन्मघरलाई कविकुञ्जका रुपमा विकास गर्ने लक्ष्य लिइए पनि त्यस अनुरुपका संरचनाहरु बन्न बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->