रात असाध्यै लामो थियो । आकाशमा तारा थिए । तर, तिनको उज्यालो धुवाँले निलिरहेको थियो । हावामा चिसोपनभन्दा बारुदको गन्ध बढी थियो । पहाडहरू मौन थिए ।
तर, त्यो मौनता शान्त थिएन । त्यो भयले थिचिएको मौनता थियो । अफगानिस्तानको एउटा दुर्गम गाउँ । माटाका घरहरू । साँघुरा गल्लीहरू । टाढासम्म फैलिएका पहाड । त्यही गाउँमा बाह्र वर्षकी एउटी बालिका बस्थी । उसको नाम थियो मरियम ।
उसको संसार सानो थियो । एउटा घर । एक जोडी आमाबाबु । एउटा पुरानो किताब । केही सपना । अनि, बिहानको घाम । तर, युद्धले सपना मन पराउँदैन । युद्धले केवल धुवाँ चिन्छ । रगत चिन्छ । मृत्यु चिन्छ ।
मरियमका बुबा किसान थिए । उनी बिहान उज्यालो नफुट्दै खेततिर जान्थे । आमाले घरको आँगनमा रोटी पकाउनुहुन्थ्यो । गरिबी थियो । तर, त्यो गरिबीमा माया थियो । साँझ सबै एउटै थालमा खान्थे । आकाश हेर्थे । भविष्यका कुरा गर्थे ।
मरियम डाक्टर बन्न चाहन्थी । गाउँका बिरामीहरूको उपचार गर्ने सपना देख्थी । आमाले मुस्कुराउँदै भन्नुहुन्थ्यो, ‘ज्ञानभन्दा ठूलो धन हुँदैन ।’
बुबाले उसको टाउको मुसार्दै भन्नुहुन्थ्यो, ‘एक दिन तिमीले यो गाउँ उज्यालो बनाउनेछ्यौ ।’
ती वाक्यहरू आज पनि हावामा बाँचेका थिए । तर, ती बोल्ने ओठहरू अब धेरै समय बाँच्ने थिएनन् ।
त्यो बिहान अरू दिनजस्तै सुरु भएको थियो । सूर्य उदाउँदै थियो । चराहरू उडिरहेका थिए । गाउँका मानिसहरू आफ्नो काममा निस्कँदै थिए । अचानक आकाश गर्जियो । कुनै बादल थिएन । तर, आवाज बिजुलीभन्दा डरलाग्दो थियो ।
केही सेकेन्डमै ठूलो विस्फोट भयो । जमिन काँप्यो । घरका भित्ताहरू भत्किन थाले । धुलोको मुस्लो आकाशभरि फैलियो । मानिसहरू चिच्याउँदै भागे । बच्चाहरू रोए । वृद्धहरू लडे । मरियमले आमालाई बोलाई । बुबालाई खोजी । तर, उसको आवाज धुवाँभित्र हरायो ।
जब धुलो केही हट्यो, उसको घर घर रहेन । केवल भग्नावशेष थियो । चुलो थिएन । आँगन थिएन । रोटीको सुवास थिएन । केवल जलेको माटोको गन्ध थियो ।
उसले काँपिरहेका हातले ढुंगा हटाउन थाली । केही समयपछि आमाको हात देखियो । त्यो हात निस्पन्द थियो । मरियमले त्यसलाई समाती । धेरै बोलाई । धेरै हल्लाई । तर, त्यो हात फेरि कहिल्यै चलेन ।
केही पर बुबाको पुरानो टोपी थियो । टोपी रगतले भिजेको थियो । त्यस दिन मरियमको संसार समाप्त भयो । उसले आमाबाबुलाई एकैदिन गुमाई । युद्धले उसको परिवार मात्र मारेन, उसको बालापन पनि मारिदियो ।
त्यसपछि दिनहरू समयले होइन, पीडाले मापन गर्न थाल्यो । ऊ कहाँ सुत्छे भन्ने निश्चित थिएन । के खान्छे भन्ने थाहा थिएन । कोसँग बोल्छे भन्ने पनि थाहा थिएन ।
गाउँका धेरै मानिसहरू मरेका थिए । बाँचेकाहरू पनि भित्रैदेखि टुटेका थिए । कसैको छोरा हराएको थियो । कसैकी छोरी भेटिएकी थिइनन् । कसैको घर जलेको थियो, कसैको भविष्य ।
मरियम गाउँको भग्न विद्यालयमा बस्न थाली । त्यो विद्यालयमा पहिले बच्चाहरूको हाँसो गुन्जिन्थ्यो । अब त्यहाँ हावाको सुस्केरा मात्र सुनिन्थ्यो । कालोपाटी फुटेको थियो । झ्यालमा सिसा थिएन । भुइँमा धुलो थियो ।
उसले त्यही धुलोलाई ओछ्यान बनाई । राति आकाशबाट चिसो झर्थ्यो । छानो आधा भत्किएको थियो । पानी पर्दा भिज्थी । हिउँ पर्दा काँप्थी । तर, उसले कसैसँग गुनासो गरिनँ । गुनासो सुन्ने कोही बाँकी थिएन ।
हरेक रात गोलीको आवाज आउँथ्यो । कहिले टाढाबाट, कहिले धेरै नजिकबाट । मरियम अब आवाज सुनेर डराउँदिनथी । डरभन्दा पनि ठूलो भावना ऊभित्र बसिसकेको थियो । त्यो थियो शून्यता ।
जब मानिसले सबै गुमाउँछ, उसले डर पनि गुमाउँछ । केवल मौनता बाँकी रहन्छ ।
भोकले उसको शरीर कमजोर हुँदै गयो । कहिलेकाहीँ दुई दिनसम्म केही खान पाउँदिनथी । गाउँकी एक वृद्ध महिलाले कहिलेकाहीँ सुक्खा रोटी दिन्थिन् । उनी आफैँ पनि गरिब थिइन् । तर, करुणा धनी थियो ।
मरियमले पहिलोपटक बुझी— संसारमा धनभन्दा ठूलो सम्पत्ति दया रहेछ । रोटी सानो थियो । तर, त्यसले उसको पेट मात्र होइन, मन पनि बचाइदियो ।
एक दिन भग्न विद्यालयको कुनामा उसले एउटा पुरानो झोला भेटी । त्यसभित्र केही च्यातिएका किताब थिए । एउटा कापी थियो । एउटा पेन्सिल थियो ।
कापीको पहिलो पानामा कसैले लेखेको थियो, “ज्ञानको उज्यालो कुनै बारुदले निभाउन सक्दैन ।”
मरियमले धेरै बेर त्यो वाक्य हेरिरही । ऊ रोई । त्यो वाक्य पढेर होइन, त्यो वाक्यमा आफ्ना बाबाको आवाज सुनेर ।
त्यसपछि उसले हरेक दिन केही न केही लेख्न थाली । अक्षरहरू सिधा थिएनन् । वाक्य पूरा हुँदैनथे । तर, ती शब्दहरू उसको जीवन थिए ।
उसले आफ्नी आमालाई पत्र लेख्थी । कहिल्यै नपठाइने पत्र । आफ्ना बाबासँग कुरा गर्थी । कहिल्यै उत्तर नआउने संवाद । कहिलेकाहीँ केवल एउटा वाक्य लेख्थी, “म अझै बाँचेकी छु ।”
गाउँमा फेरि विस्फोट भयो । यसपटक विद्यालयको अर्को भाग भत्कियो । धुलोले किताबहरू फेरि पुरिए । मरियमले आफ्नो कापी छातीमा च्यापी ।
उसलाई लाग्यो, यदि यो पनि हरायो भने आफ्नो अन्तिम साथी गुमाउनेछु । युद्धले मानिस खोस्यो । घर खोस्यो । परिवार खोस्यो । तर, उसले शब्द गुमाउन चाहिन ।
एक साँझ ऊ गाउँबाहिरको पहाडमा चढी । तल जलेका घरहरू देखिन्थे । धुवाँ अझै उठिरहेको थियो । सूर्य अस्ताउँदै थियो । आकाश रगतजस्तै रातो थियो ।
उसले धेरै बेर क्षितिज हेरिरही । त्यसपछि बिस्तारै फुसफुसाई, “हे भगवान्, युद्ध जित्ने को हो ?”
हावाले कुनै उत्तर दिएन । पहाड मौन रहे । तर, त्यो मौनताले एउटा सत्य भने सुनायो— युद्धमा कसैले जित्दैन । सबै हार्छन् । सबैभन्दा धेरै बच्चाहरू हार्छन् ।
मरियम फेरि तल झरी । उसका पाइला कमजोर थिए । तर, मनभित्र एउटा सानो दीप अझै बाँकी थियो । त्यो आशाको दीप थियो, आमाको सम्झनाले बालेको । बाबाको शिक्षाले बचाएको ।
संसारले त्यो दीप धेरैपटक निभाउन खोज्यो । तर, त्यो अझै बलिरहेको थियो । त्यही दीपले उसलाई अर्को बिहानसम्म बाँच्न सिकाइरहेको थियो ।
त्यसपछि मरियमको जीवन एउटा गाउँको सीमाभित्र सीमित रहेन । युद्धले उसलाई आफ्नो जन्मभूमिबाट पनि विस्थापित गरिदियो । एक बिहान गाउँमा खबर फैलियो, बाँचेकाहरूले पहाड पार गरेर सीमानजिकको शरणार्थी शिविरतिर लाग्नुपर्छ ।
त्यहाँ कम्तीमा एक छाक खाना र एउटा पाल पाइने सम्भावना थियो । मरियमसँग केही थिएन । एउटा पुरानो झोला थियो । च्यातिएको कापी थियो । आधा टुटेको पेन्सिल थियो । अनि, आमाबाबुको सम्झना थियो ।
उसले एकपटक पछाडि फर्केर आफ्नो गाउँ हेरी । जहाँ कहिले बालापन हाँस्थ्यो, त्यहाँ अहिले धुवाँ मात्र उडिरहेको थियो । उसले माटोको एउटा सानो डल्लो उठाई । झोलाभित्र राखी । त्यो माटो उसको देश थियो । उसको बालापन थियो । उसको परिवार थियो ।
यात्रा सजिलो थिएन । घाम कडा थियो । बाटो ढुंगाले भरिएको थियो । वृद्धहरू थाकेर बसिरहेका थिए । आमाहरू काखमा बच्चा बोकेर रोइरहेका थिए ।
धेरै बच्चाहरूले दिनौँदेखि दूध देखेका थिएनन् । कतिपय बच्चाले आफ्ना बाबुआमा गुमाएका थिए । कतिपय बाबुआमाले आफ्ना बच्चा । त्यो यात्रा मानिसहरूको समूहभन्दा बढी पीडाहरूको जुलुसजस्तो देखिन्थ्यो ।
कसैले कसैसँग कुरा गर्दैनथे । सबैका आँखामा एउटै प्रश्न थियो, “के अर्को बिहान हामी जीवित हुनेछौँ ?”
एक साँझ उनीहरू एउटा सुक्खा खोल्साको किनारमा रोकिए । पानी थिएन । केवल ढुंगा थिए । भोकले मरियमको पेट दुखिरहेको थियो । उसले झोलाबाट कापी निकाली । केही लेख्न खोजी ।
तर, आँसुका थोपा कापीमा झरे । अक्षरहरू धमिला भए । उसले केवल तीन शब्द लेख्न सकी, “आमा, म थाकेँ ।”
त्यो वाक्य अधुरै रह्यो । किनकि, रोइरहेको बालिकासँग भाषा पनि धेरै बेर बस्न सक्दैन ।
अन्ततः उनीहरू शरणार्थी शिविर पुगे । सयौँ पालहरू । धुलो । लामो लाइन । र, निराश अनुहार । त्यहाँ मानिसहरू जीवित थिए । तर, जीवन थिएन ।
बिहान पानीका लागि लाइन । दिउँसो रोटीका लागि लाइन । साँझ औषधिका लागि लाइन । राति निद्राका लागि संघर्ष ।
मरियमलाई एउटा सानो पालमा बस्ने ठाउँ दिइयो । पालभित्र माटो थियो । एउटा कम्बल थियो । त्यो नै उसको नयाँ घर बन्यो । युद्धले घरको अर्थ परिवर्तन गरिदिएको थियो ।
शिविरमा एउटा वृद्ध शिक्षक थिए । उनको विद्यालय पनि युद्धमा ध्वस्त भएको थियो । तर, उनले शिक्षालाई ध्वस्त हुन दिएनन् । प्रत्येक दिउँसो केही बालबालिकालाई पालको छायामा बसालेर अक्षर सिकाउन थाले ।
कागज कम थियो । किताब थिएनन् । तर, उनीसँग आशा थियो । मरियम पनि त्यहाँ बस्न थाली । जब उसले पहिलोपटक फेरि वर्णमाला लेखी, उसको आँखाबाट आँसु झर्यो । उसलाई लाग्यो— बारुदले विद्यालय भत्काउन सक्छ, तर ज्ञानलाई मार्न सक्दैन ।
रातहरू अझै कठिन थिए । कहिलेकाहीँ टाढाबाट विस्फोटको आवाज आउँथ्यो । मरियम निद्राबाट झस्किएर उठ्थी । आमालाई खोज्थी । केही क्षणपछि सम्झिन्थी– आमा अब केवल सम्झनामा हुनुहुन्छ ।
त्यसपछि ऊ चुपचाप बाहिर निस्कन्थी । आकाशतिर हेर्थी । ताराहरू उस्तै थिए । ऊ सोच्थी— युद्ध त पृथ्वीमा छ, आकाश किन यति शान्त छ ?
शिविरमा एउटा सानो केटो थियो । उसको एउटा खुट्टा थिएन । ऊ पनि युद्धको सिकार थियो । उसले एक दिन मरियमलाई सोध्यो, “तिमी ठूलो भएपछि के बन्छौ ?”
मरियम केही बेर मौन रही । त्यसपछि बिस्तारै भनी, “पहिले म डाक्टर बन्न चाहन्थेँ, अहिले म शान्ति बन्न चाहन्छु ।”
केटाले त्यो उत्तर बुझेन, तर वृद्ध शिक्षकले सुने । उनका आँखा रसाए ।
दिनहरू बित्दै गए । एक दिन विदेशी स्वयंसेवकहरूको एउटा टोली शिविरमा आयो । उनीहरूले बालबालिकालाई कापी, पेन्सिल र केही पुस्तक बाँडे ।
मरियमले नयाँ कापी हातमा लिई । त्यो कापीको गन्ध उसले वर्षौंपछि महसुस गरी । उसले पहिलो पानामा लेखी, “युद्धले मेरो परिवार खोस्यो भने, शिक्षाले मेरो भविष्य बनाउनेछ ।”
त्यो रात उसले एउटा सपना देखी । आमा मुस्कुराइरहेकी थिइन् । बाबा खेतमा काम गरिरहेका थिए । गाउँमा फेरि बालबालिकाको हाँसो गुन्जिरहेको थियो । विद्यालय खुलिरहेको थियो । चराहरू उडिरहेका थिए ।
कुनै विस्फोट थिएन । कुनै धुवाँ थिएन । ऊ दौडिँदै आमाको काखमा पुग्न खोजी । त्यत्तिकैमा निद्रा खुल्यो । बाहिर फेरि गोलीको आवाज थियो । सपना भत्कियो । तर, आशा भने भत्किएन ।
वृद्ध शिक्षकले एक दिन कक्षामा भने, “युद्धले घर भत्काउँछ । शिक्षाले घर बनाउँछ । युद्धले शरीर मार्छ । घृणाले आत्मा मार्छ । प्रेमले मात्र भविष्य बचाउँछ ।”
मरियमले त्यो वाक्य धेरैपटक आफ्नो कापीमा लेखी । उसले त्यसलाई जीवनको मन्त्र बनाई ।
समयसँगै मरियम अरू बालबालिकालाई पनि पढाउन थाली । आफूले सिकेको अक्षर बाँड्न थाली । एउटा पेन्सिल धेरै हातमा पुग्न थाल्यो । एउटा किताब धेरै आँखाले पढ्न थाल्यो ।
शिविरको धुलोबीच सानो विद्यालय जन्मियो । त्यहाँ भवन थिएन, तर सपना थियो । त्यहाँ घण्टी थिएन, तर सिक्ने इच्छा थियो । त्यहाँ सुविधा थिएन, तर भविष्यको सम्भावना थियो ।
वर्षौंपछि पनि मरियमले आफ्ना आमाबाबुलाई बिर्सिन । उसले आफ्नो झोलाभित्र राखेको माटोको डल्लो कहिल्यै फ्याँकिन । त्यो माटोले उसलाई सधैँ सम्झाइरह्यो— देश केवल भूगोल होइन । सम्झना हो । पीडा हो । आशा हो ।
मरियमको कथा एउटी बालिकाको मात्र कथा होइन, त्यो युद्धले चोरेका लाखौँ बालापनहरूको कथा हो । त्यो ती आमाहरूको कथा हो, जसले आफ्ना सन्तान गुमाए ।
ती बाबाहरूको कथा हो, जसले आफ्ना सपनाहरू भग्नावशेषमुनि पुरिएर गएको देखे । त्यो ती विद्यालयहरूको कथा हो, जहाँ कहिल्यै किताबको आवाज सुनिन्थ्यो, तर अहिले विस्फोटको प्रतिध्वनि गुन्जन्छ ।
युद्धले कहिल्यै विजेता जन्माउँदैन । युद्धले समाधि बनाउँछ । टुहुरा बालबालिका बनाउँछ । अधुरा सपनाहरू बनाउँछ । बारुदले सिमाना बदल्न सक्छ, तर उसले कुनै बच्चाको आँसु पुछ्न सक्दैन ।
बन्दुकले सहर जित्न सक्छ, तर कुनै आमाको काख फर्काउन सक्दैन ।
मरियम अझै बाँचेकी छ, सायद कुनै शरणार्थी शिविरमा । सायद कुनै सानो विद्यालयमा । सायद कुनै किताबको पानामा ।
ऊ हरेक बालिकाको प्रतिनिधि हो, जसले युद्धभन्दा ठूलो साहस देखाई, बाँच्ने साहस, आशा गर्ने साहस । सिक्ने साहस । र, घृणाभन्दा प्रेमलाई रोज्ने साहस ।
जबसम्म संसारका कुनै कुनामा एउटा बालिका रातभरि विस्फोटको आवाज सुन्दै निदाउन बाध्य हुन्छे, तबसम्म मानव सभ्यताले आफूलाई पूर्ण रूपमा सभ्य भन्न सक्दैन ।
शान्ति युद्धको अन्त्य होइन । शान्ति त्यो बिहान हो, जहाँ एउटा बालिका आफ्नो आमाको हात समातेर विद्यालय जान सक्छे, जहाँ किताबको आवाज बन्दुकको आवाजभन्दा ठूलो हुन्छ ।
जहाँ आकाशमा धुवाँ होइन, चराहरू उडिरहेका हुन्छन् । र, जहाँ कुनै मरियमले फेरि कहिल्यै आफ्नो डायरीमा लेख्न नपरोस्, “आमा, म अझै बाँच्न सिकिरहेकी छु ।”





