बागलुङ/तमानखोला गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य हो सोलेडाँडा । समुद्री सतहदेखि २ हजार ६ सय ३० मिटरमा अवस्थित सोलेडाँडा सडक सञ्जालले जोडिएपछि त्यहाँ पर्यटकको चहलपहल बढेको छ ।
चैत–वैशाखमा लालीगुराँसले ढकमक्क हुने सोलेडाँडा चिसो याममा हिउँले सेतोम्मे बन्छ । शान्त वातावरणमा रमाउन चाहनेका लागि सोलेडाँडा रोजाइको गन्तव्य बन्दै गएको छ । तमानखोला–४ मा पर्ने सोलेडाँडा बागलुङ र म्याग्दी जिल्लाबाट मोटरबाटोले जोडिएपछि पर्यटकीय गतिविधि बढ्न थालेको गाउँपालिका अध्यक्ष जोकलाल बुढा बताउँछन् ।
सोलेडाँडाबाट सूर्याेदय र सूर्यास्त, धौलागिरि, धौलाश्री, माछापुच्छ्रे, मानापाथी लगायत दर्जनौं हिमश्रृंखला तथा ग्रामीण भूगोल अवलोकन गर्न सकिन्छ । वनभोज, रात्रीकालीन शिविर र पदयात्राका लागि सोलेडाँडा पर्यटकको रोजाइमा पर्न थालेको छ ।
सोलेडाँडाका ठूला खर्क, पशुचरन क्षेत्र, शहिद पार्क, पानी पोखरीले पर्यटकलाई लोभ्याउने गर्छ । जैविक विविधताले भरिपूर्ण यहाँको ७ रोपनी क्षेत्रफलमा फैलिएको जडिबुटी उद्यानले पर्यटक भित्र्याउन टेवा पुगेको तमानखोला–४ का वडाध्यक्ष छप्रसाद सिर्पाली बताए ।
आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि हौसिएको गाउँपालिकाले ढोरपाटन शिकार आरक्षमा पुग्ने पर्यटकलाई तमानखोला घुमाउने लक्ष्य लिएको छ । सोलेडाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरिरहेको गाउँपालिकाले ढोरपाटन पुग्ने पर्यटकलाई तमानखोला ल्याउन सडक र पदमार्गको निर्माणको कामलाई प्राथमिकता दिएको अध्यक्ष बुढाले बताए ।
सोलेडाँडामा मन्दिर निर्माण गरिएको छ भने खानेपानी र शौचालयको व्यवस्था छ । सामुदायिक भवन, विश्रामस्थल लगायतका पूर्वाधार बनाउने गाउँपालिकाको योजना छ । पूर्वाधार बनेपछि एक दिन बासै बस्ने गरी कतिपय पर्यटक पुग्न थालेका छन् । गोठ वा टेन्टमा पर्यटक बास बस्ने अध्यक्ष बुढाले जानकारी दिए ।
‘गाउँपालिकाका पर्यटकीय क्षेत्रलाई ढोरपाटनसम्म जोड्ने लक्ष्य बनाएका छौं’, अध्यक्ष बुढाले भने, ‘बुर्तिवाङ–बोंगादोभान सडक स्तरीय बनिसकेको छ । म्याग्दी जोड्ने सडक स्तरीय बनेपछि ढोरपाटन घुम्ने पर्यटकलाई सहजै तमानखोला ल्याउन सकिन्छ ।’
काठेखोला गाउँपालिकाको घोडाबाँधेदेखि ताराखोला, दुरलेक हुँदै सोलेडाँडाबाट ढोरपाटन जोड्ने पदमार्गको सम्भाव्यता अध्ययनको काम सकिएको छ । कठिन भूगोल भए पनि महत्वपूर्ण गन्तव्य सडक सञ्जालले जोडिएकाले स्तरीय बनाउनमात्रै सके पर्यटक भित्रयाएर आर्थिक समृद्विको लक्ष्य हासिल गर्न सकिने विश्वास अध्यक्ष बुढाको छ ।
‘हामीले ढोरपाटन आएका पर्यटकलाई तमानखोलाका विभिन्न गन्तव्यमा ल्याउन खोजेका छौं, त्यसका लागि पदमार्ग र सडकमार्ग बनिरहेका छन्’, उनी भन्छन्, ‘पर्यटन व्यवसाय बढाउन सके कृषि फसलको सहजै व्यवसाय बढ्ने छ ।’’ यहाँ उत्पादन हुने आलु, गहुँ, जौं लगायतका बालीलाई व्यवसायिक बनाउन पर्यटनले सघाउने छ ।
गाउँपालिकाले केही वर्षदेखि तमानखोलाका हरेक गाउँ सफा बनाउने, पदमार्गमार्फत सबै गन्तव्य जोड्ने र सडकमार्ग स्तरीय बनाउने काम गरिरहेको उपाध्यक्ष हिराकुमारी छन्त्याल बताउँछिन् । तमानखोला पर्यटकीय चहलपहल बढेपछि स्थानीलाई घरबासमार्फत व्यवसायिक बन्न प्रेरित गरिएको छ ।
गाउँपालिकाले सोलेडाँडा र बराह तालमा पनि पूर्वाधार निर्माण गरेको छ । बराह तालमा सिद्ध बराहको मन्दिर, ताल घेरावार र शौचालय बनेपछि पर्यटकलाई सहज भएको छ । तमानगाउँलाई होमस्टे मोडलमा विकास गर्ने, त्यहाँका संस्कृतिलाई प्रचार गर्ने, नोडल्ले लगायतका पहाडलाई जडिबुटीको क्षेत्र बनाउने गाउँपालिकाका योजना छन् ।





