मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

‘नगरकी छोरी’ कार्यक्रममा ३ सय छोरी जोडिए

‘नगरकी छोरी’ कार्यक्रममा ३ सय छोरी जोडिए

आमा र नवजात छोरीले भोग्नुपर्ने सामाजिक विभेद तथा अमानवीय दृष्टिकोणलाई चिर्न र उच्च शिक्षाको उज्यालोसम्म पु¥याउने लक्ष्यसहित ‘नगरको छोरी कार्यक्रम’लाई परिष्कृत गरिएको नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।


  • ढाेरपाटन संवाददाता
  • साउन ८ २०८३, शुक्रबार

बागलुङ/बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमलाई परिष्कृत गरेको छ । छोरीको जन्मलाई उत्सवका रूपमा मनाउने संस्कारको विकास गर्न यसअघि नगरपालिकाले दिँदै आएको ५ हजारमा शतप्रतिशत वृद्वि गर्दै १० हजार पु¥याएको हो ।

समाजमा आमा र नवजात छोरीले भोग्नुपर्ने सामाजिक विभेद तथा अमानवीय दृष्टिकोणलाई जरैदेखि चिर्न र छोरीलाई उच्च शिक्षाको उज्यालोसम्म पु¥याउने सञ्चालित ‘नगरको छोरी कार्यक्रम’लाई परिष्कृत गरिएको नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।

‘नगरकी छोरी’ कार्यक्रमले छोरीहरूको आत्मसम्मान मात्र बढाउने छैन, समाजको सोच बदल्न कोशेढुंगा साबित हुने विश्वास छ’’ श्रेष्ठले भने । गर्भ परीक्षण गरेर छोरी भए भु्रण हत्या गर्ने प्रवृत्ति अन्त्य गर्न कार्यक्रम प्रभावकारी बनेको श्रेष्ठको दाबी छ ।

‘नगरकी छोरी’ कार्यक्रममा चार वर्षको अवधिमा ३ सय छोरी जोडिएका छन् । यो अवधिमा उहाँहरुको खातामा नगरपालिकाले १५ लाख रुपैयाँ जम्मा गरिसकेको छ । अभिभावकले चाहे रकम थप गर्न सक्ने र कम्तिमा २० वर्ष झिक्न नमिल्ने गरी कार्यविधि बनेको छ ।

तेह्रौ नगरसभामा नगरप्रमुख श्रेष्ठले ल्याएको नीति तथा कार्यक्रममार्फत ‘नगरको छोरी’ कार्यक्रमअन्तर्गत ५ हजार रुपैयाँको मुद्दती खाता खोलिदिने व्यवस्था थियो । नगरसभाको १९ औं अधिवेशनले कार्यविधि परिष्कृत गर्दै प्रोत्साहन रकम १० हजार पु¥याएको हो । अहिले जन्मेका छोरीले उमेर पुग्दा राम्रो बचत गर्न सक्ने श्रेष्ठले बताए ।

२०८० साउनदेखि नगरमा जन्मेका सबै छोरीको २० वर्षे अवधिको मुद्दती खाता खोलिएको छ । मुद्दती खातामा चक्रिय ब्याज आउने गरी कार्यविधि निर्माण गरेर बैंकसँग सम्झौता गरिएको छ । ‘नगरकी छोरी’ कार्यक्रमको कार्यविधिको दफा ६ मा कोष सञ्चालन सम्बन्धी व्यवस्थाअनुसार छोरीहरूका लागि मुद्दती खाता सञ्चालन गर्ने प्रावधान छ । ‘नगरकी छोरी’ कार्यक्रमले अभिभावकलाई समेत रकम जम्मा गर्न प्रेरित गरेको श्रेष्ठले बताए ।

नगरपालिकाले महिला उपभोक्ता भएको योजनामा लागत सहभागिता पनि थोरै भए पुग्ने नीति लिएको छ । महिला उद्यमीलाई सम्मान गर्ने, उद्यमका लागि उपकरण, सामाग्री खरिदमा छुट दिने र व्यवसायमा महिला भएमा करको दर घटाउने गरी नीति अवलम्बन गर्दै आएको प्रशासन शाखा प्रमुख भीमसेन पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->