पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने थप ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। प्रहरीले सञ्चालन गरिरहेको ‘अपरेशन ३६५’ अभियानअन्तर्गत बिहीबार राती चेकिङका क्रममा ती सवारी साधनहरू नियन्त्रणमा लिइएका हुन्।
प्रहरीका अनुसार विभिन्न क्षेत्रबाट मोटरसाइकलहरू समातिएका छन्। जिल्ला प्रहरी कार्यालयले महेन्द्रपुल र नयाँबजार क्षेत्रबाट २ वटा, वडा प्रहरी कार्यालय बैदामले लेकसाइड, सिर्जनाचोक र राष्ट्रबैंकचोक क्षेत्रबाट १० वटा, इलाका प्रहरी कार्यालय शिशुवाले तालचोक र गगनगौडा क्षेत्रबाट २ वटा मोटरसाइकल समातेका हुन् ।
यसैगरी वडा प्रहरी कार्यालय बगरले बाग्लुङ बसपार्क, विन्ध्यवासिनी र नदीपुर क्षेत्रबाट १४ वटा, वडा प्रहरी कार्यालय रामबजारले अमरसिंहचोक, हस्पिटल चोक र बुद्धचोक क्षेत्रबाट ५ वटा मोटरसाइकल नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ । सबै मोटरसाइकलमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए। कास्की प्रहरीले सञ्चालन गरेको यस ‘अपरेशन ३६५’ अभियानअन्तर्गत हालसम्म ७७३ वटा सवारी साधन र ३६ जना मानिसलाई नियन्त्रणमा लिई कारबाही गरिसकिएको छ।





