बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

के के छन् रास्वपा बैठकका ११ निर्णयमा ?

के के छन् रास्वपा बैठकका ११ निर्णयमा ?

सचिवालय गठनदेखि मन्त्रीहरूसँग प्रत्यक्ष संवादसम्म


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०८३, बुधबार

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज (बुधबार) बसेको बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ। बैठकले महाधिवेशनको समीक्षा, पार्टी सचिवालय गठन, मन्त्रीहरूसँग प्रत्यक्ष संवाद, सांगठनिक दस्तावेजहरू पारित, क्यान्डिडेट क्लब घोषणालगायतका निर्णय गरेको हो।

यी हुन् निर्णयहरू:
१.पार्टी सचिवालय गठन

पार्टी विधानको भाग ६ को धारा २३ बमोजिम ‘पार्टी सचिवालय’ गठन गरिएको छ। उक्त सचिवालयमा पार्टी सभापतिसहित निर्वाचित पदाधिकारीहरु उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सह-महामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी छन्।

२. वरिष्ठ नेतामा बालेन्द्र शाहको  मनोनयन
पार्टी विधानको भाग ६ को धारा २२ को उपधारा ११ (ञ) को बमोजिम पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा पार्टीको वरिष्ठ नेता मनोनित गरिएको छ।

३.  महाधिवेशनको समीक्षा
पार्टीको वडा तहदेखि केन्द्रसम्म सम्पन्न प्रथम ऐतिहासिक महाधिवेशनका बहुआयामिक पक्षहरूमा विस्तृत र निर्मम समीक्षा गरिएको छ। लोकतान्त्रिक अभ्यासका क्रममा हरेक तहमा भएका कमी-कमजोरीहरूलाई निसङ्कोच स्वीकार गर्दै, ती अनुभवहरूबाट पाठ सिकेर सिङ्गो पार्टी पङ्क्तिलाई थप परिपक्व र सुदृढ बनाउन सम्पूर्ण प्रक्रियाको बृहत अध्ययन गर्ने निर्णय गरिएको छ।

४.मन्त्रीहरूसँग प्रत्यक्ष संवाद:
सरकारमा सहभागी पार्टीका मन्त्रीहरूको कार्यसम्पादनलाई जनमुखी बनाउन र पार्टीसँगको समन्वयलाई प्रभावकारी बनाउन, महिनाको कम्तीमा एक दिन मन्त्रीहरूसँग पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्यहरूको उपस्थितिमा समसामयिक र बहुआयामिक विषयमा अनिवार्य छलफल गर्ने निर्णय गरिएको छ।

५. साङ्गठनिक दस्तावेजहरू पारित
आगामी श्रावण १८ गते साँझ ५ बजेसम्म केन्द्रीय समिति सदस्यहरूबाट प्राप्त हुने संशोधन सुझावहरूलाई समेट्ने गरी देहायका कार्यविधि र दस्तावेजहरु पारित गरिएको छ।
(क ) बैठक सञ्चालन कार्यविधि, २०८३
(ख) सदस्यता सम्बन्धी कार्यविधि, २०८३
(ग) सदस्यता अद्यावधिक तथा जिम्मेवारी बाँडफाँट, २०८३
(घ) विभाग सम्बन्धी कार्यविधि, २०८३

६.विभागीय नेतृत्व छनोटमा  कार्ययोजना माग:
विभागको नेतृत्व गर्न इच्छुक केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यहरूबाट आफूले नेतृत्व गर्न चाहेको विभागको स्पष्ट लक्ष्य र रूपरेखासहितको ६ महिने कार्ययोजना माग गरिएको छ।

७.’क्यान्डिडेट क्लब’ घोषणा
आगामी स्थानीय तहको निर्वाचनमा योग्य, इमानदार र सक्षम उम्मेदवारहरू छनोट गर्ने प्रक्रियाको पहिलो बिन्दुका रूपमा  आगामी भाद्र १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि  आवेदन खुल्ला गर्ने निर्णय गरिएको छ।

८.आत्महत्या ‌ र आत्मदाह सम्बन्धमा सामाजिक सञ्जाल निर्देशिका
सामाजिक संवेदनशीलतालाई गम्भीर रूपमा मनन गर्दै, पार्टीको हरेक तह र तप्कामा रहेका सदस्यहरूलाई आत्महत्या र आत्मदाह जस्ता अत्यन्तै दुःखद घटना, समाचार वा जानकारीहरू आफ्ना कुनै पनि सामाजिक सञ्जालहरूमा सेयर वा सम्प्रेषण नगर्न केन्द्रीय समितिले निर्देशन जारी गरेको छ।

९.अन्तर्राष्ट्रिय युवा दिवस मनाउने
राष्ट्रिय स्वतन्त्र पार्टीले ‘अन्तर्राष्ट्रिय युवा दिवस २०२६’ लाई युवा जागरण र रूपान्तरणको उत्सवका रूपमा भव्यताका साथ मनाउने निर्णय गरेको छ। यस कार्यक्रमको आयोजक समितिको संयोजकको  जिम्मेवारी केन्द्रीय सदस्य एवं पार्टीका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीलाई प्रदान गरिएको छ।

१०.नागरिक सहजीकरण 
नागरिकका समस्या र गुनासोलाई प्रत्यक्ष रूपमा सुन्न र समाधानका लागि आवश्यक सहजीकरण गर्न हरेक तहका पार्टी कार्यालयहरूमा अनिवार्य उपस्थिति रहने संयन्त्र निर्माण गर्ने निर्देश गरिएको छ। जसअनुसार पहिलो चरणमा नागरिकको सेवाका लागि केन्द्रीय कार्यालयमा हरेक दिन दुईजना केन्द्रीय सदस्य, प्रदेश कार्यालयमा दुईजना प्रदेश सदस्य र जिल्ला कार्यालयमा एकजना जिल्ला समिति सदस्यको उपस्थिति अनिवार्य गरिएको छ।

११.समवेदना तथा सहानुभूति:
सुनसरी लगायतका जिल्लाका पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउनुहुने नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा राष्ट्रिय स्वतन्त्र पार्टी गहिरो समवेदना प्रकट गर्दछ। साथै, घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->