बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’ (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठसहित)

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’ (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठसहित)

'छानविन प्रक्रिया निस्पक्ष र पारदर्शी हुन्छ, दोषीलाई कानूनको कठघरामा ल्याइने छ'


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०८३, बिहिबार

काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका स्थानमा भएको घटनालाई लिएर देशवासीको नाममा सम्बोधन गरेका छन्।

केही दिनअघि भएको दुःखद घटना र त्यसपछि उत्पन्न अशान्त वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको उनले बताएका हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे।

घाइतेहरूको उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकेको उनले जानकारी दिए।

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको प्रधानमन्त्रीले बताए। उक्त छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास उनले दिलाए। स्थितिलाई सामान्य बनाउन र थप अप्रिय घटना हुन नदिन सम्पूर्ण सुरक्षा निकायलाई तत्काल घटनास्थलमा खटाइएको उनको भनाइ छ।

स्थानीय स्तरमा प्रत्यक्ष अनुगमन गर्न र शान्ति सुरक्षा सुदृढ बनाउन गृहमन्त्री स्वयं घटनास्थल पुगेको उनले जानकारी दिए। यसैगरी, देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर आवश्यक निर्णयहरू गरिएको उनले स्पष्ट पारे। स्थितिलाई सामान्यीकरण गर्न केन्द्रमा सर्वदलीय बैठक आह्वान गरिएको र स्थानीय तहमा पनि निरन्तर संवाद भइरहेको उनले बताए।

सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य सूचना, अफवाह र घृणा फैलाउने सामग्री प्रचारप्रसार नगर्न उनले सबैमा अपिल गरे। प्रधानमन्त्री शाहले भने, ‘सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गरौं।’ नागरिकको जीउधनको रक्षा गर्नु, सामाजिक सद्‌भाव जोगाउनु र शान्ति कायम राख्नु राज्यको सर्वोच्च दायित्व रहेको उनले स्मरण गराए।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको उल्लेख गर्दै उनले कुनै पनि धर्मले हिंसा र विभाजन नसिकाउने बताए।

कुनै एक स्थानमा भएको घटनालाई लिएर सिंगो समुदायलाई आरोपित गर्ने र देशैभरि प्रतिशोधको आगो फैलाउने कार्य न्यायसंगत नहुने उनले प्रस्ट पारे।

शान्ति सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने र सयौं वर्ष पुरानो सामाजिक सद्‌भाव खल्बल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार सचेत रहेको र त्यस्ता गतिविधिमाथि कडा कदम चालिने चेतावनी उनले दिए।

उनले आम नागरिक, नागरिक समाज, धार्मिक अगुवा, राजनीतिक दल र सञ्चारमाध्यमलाई धैर्य र संयमता अपनाएर शान्ति, सद्‌भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गरे।

मैथिलीमा अपील

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले मैथिली भाषामा समेत अपील गर्दै नागरिक समाज, धार्मिक अगुवा र राजनीतिक दलहरूलाई धैर्यता अपनाउन आग्रह गरे ।

उनले राष्ट्रिय एकता र सामाजिक सद्भाव नै नेपालको सबैभन्दा ठूलो शक्ति भएको बताउँदै नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन सबैलाई जिम्मेवार बन्न आह्वान गरेका छन् ।

यस्तो छ पूर्णपाठ

नमस्कार। आदरणीय बुवाआमा, दिदीबहिनी तथा दाजुभाइहरु। म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईहरु सामु उपस्थित भएको छु। केही दिन अघि सुनसरीको देवानगन्ज, सिरहा लगायतका स्थानमा भएको दुखद घटना र त्यसपछिका केही जिल्लाहरुमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रुपमा गम्भीर र संवेदनशील छ। यस दुखद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरु जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोक सन्तप्त परिवारजनहरुमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु।

घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। घाइतेहरुको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाई हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरुलाई स्पष्ट निर्देशन दिइसकेको छ।

घटना भए लगतै सबै सुरक्षा निकायहरुले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रुपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भएपनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ।

परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरु, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरुसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयम् सो स्थानमा पुगिसक्नुभएको छ। साथै देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरु समेत गरिसकिएको छ।

यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदाय बीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न, नगराउन अनुरोध गर्दछु। साथै सरकारी निकायहरुबाट जारी भएका आधिकारिक तथ्य र सूचना मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु।

प्रत्येक नागरिकको जिउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो। आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरु अहोरात्र खटिनेछन्। शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौं पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबलाउने कुनै पनि क्रियाकलाप प्रति सरकार पूर्ण रुपमा सचेत छ र यस गतिविधिमाथि कडा कदम चालिने छन्।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आ-आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ। यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध छ। धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो। संसारको कुनै
पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन। सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो।

देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन।

आदरणीय बुवाआमा, दिदीबहिनी तथा दाजुभाइहरु, हाम्रो इतिहास साक्षी छ कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबै भन्दा ठुलो शक्ति बनेका छन्। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ।

(मैथिली भाषामा): हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार संचार के माध्यम सब के धैर्यता आ संयमता अपनाके शान्ति, सदभाव, भाइचारा आ राष्ट्रिय एकता कायम राखके लेल सरकार के तर्फ से हार्दिक अपील करहल छी। धन्यवाद।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->