पोखरा/ राष्ट्रिय विभूति मुख्तियार जनरल भीमसेन थापाको २५२ औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापालाई ‘राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिभा सम्मान–२०८३’ प्रदान गरिएको छ ।
बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन, नेपालको आयोजनामा आइतबार भएकोस्मृति सभामा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले प्राडा थापा तथा साहित्यकार एवं गीतकार राजेन्द्र थापालाई उक्त सम्मान प्रदान गरे । प्राडा थापा नेपालको स्वास्थ्य क्षेत्रमा चार दशकभन्दा लामो समय योगदान गरेका वरिष्ठ फिजिसियन हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपतिका रूपमा उनले पश्चिम नेपालमा चिकित्सा शिक्षा, विशेषज्ञ स्वास्थ्य सेवा, स्वास्थ्य अनुसन्धान तथा दक्ष जनशक्ति उत्पादनमा महŒवपूर्ण भूमिका निर्वाह गरेका छन् ।
उनले मणिपाल शिक्षण अस्पताल लगायत विभिन्न संस्थामा चिकित्सक र प्राध्यापकका रूपमा सेवा दिँदै हजारौँ चिकित्सक उत्पादन तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा योगदान पु¥याएका छन् । बिरामी–केन्द्रित ‘सोसियल मेडिसिन’ अवधारणालाई व्यवहारमा उतार्दै सामुदायिक स्वास्थ्य सेवामा पनि उनले उल्लेखनीय योगदान दिएका छन् ।
राष्ट्रिय विभूति भीमसेन थापाको स्मृतिमा आयोजित रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डा राम थापा क्षेत्रीले भीमसेन थापाले नेपालको राष्ट्रिय अस्तित्व, स्वाधीनता र सार्वभौमिकताको संरक्षणमा अतुलनीय योगदान पु¥याएको उल्लेख गर्दै उनको देशभक्ति, इमानदारी र नैतिकता आज पनि नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताए ।





