
बागलुङ/जागिर खोज्दै उनले जीवनको धेरै समय विदेशमा बिताए । घरमा खान, लाउन नपुग्ने भएपछि रोजगारी खोजीमा २०४९ सालदेखि नै विदेश चहारे । साउदी अरबमा ३५ महिना, मलेसियामा ३ वर्ष, दिल्लीमा ५ वर्ष काम गरे । सबै ठाउँमा उनको काम हेल्पर र मजदूर थियो ।
साउदी अरबमा कम्पनीले धोका दिएपछि गैरकानुनी रुपमा पनि केही समय अलपत्र परे । चर्को गर्मीमा भारी बोक्ने, कम्पनीको सहयोगी बनेर काम गरे । घरमा खान लाउन नपुग्ने भएपछि वैदेशिक रोजगारीमा पटक पटक जानैपर्ने बाध्यता उनलाई थियो । त्यतिले नपुगेर उनी भारतको जलन्धर गए ।
झण्डै ५ वर्ष जालन्धरमा भाँडा माझ्ने काम गरे । ३ वर्ष जति चण्डीगढ र दिल्लीमा मजदूरी गरे । अर्काको देशमा गर्नुपर्ने कामबाट दिक्क भएर फर्केपछि उनी अहिले सानो लगानीमा आफैं मालिक बनेका छन् ।
ढोरपाटनका ५१ वर्षीय भूमिराज विक अहिले गाउँमै घोडाचढी व्यवसाय गरिरहेका छन् । ढोरपाटन जाने पर्यटकलाई घोडामा सवार गराएर उनले परिवार पालेका छन् । त्यो पेशाले उनलाई गाउँमै रमाउने बनाएको छ । विदेशको भन्दा राम्रो कमाइ पनि गरेका छन् । पत्नी लीलाले घर धानेकी छिन् । सानो किराना पसल पनि छ । विक दम्पत्ती वार्षिक २० मुरी आलु पनि फलाउँछन् ।
‘वर्षौ विदेशमा बसेर कमाए पनि घर फर्कंदा खासै केही बचेन, बरु घर, परवारसँगै बसेर यो काम गर्दा खेतीपाती पनि चलेको छ, व्यवसाय पनि चलेको छ’ भूमिराजले भने, ‘आफ्नै ठाउँमा काम गर्न पाउनुको मज्जा बेग्लै छ ।’ उनी सिजनअनुसार बुकी र निसेलढोर पनि पुग्छन् । यो कामबाटै उनी मासिक ३५ हजार हाराहारी कमाउँछन् ।
नजिकमा घोडा चढाएर पाहुना घुमाउने उनलाई बेला बेला भने बुकी, गार्पा र टिकाधारासम्म जाने पर्यटकले घोडा मगाउँछन् । त्यति बेला माग अनुसार पाहुना घुमाउन लाग्छन् । यो लामो यात्रामा उनी कहिले एक्लै त कहिले साथीहरुको साथमा पर्छन् ।
बुकी दिनभरको यात्रा हो । ढोरपाटन उपत्यकाबाट उकालो पहाड चढेर गार्पा छेडा पुगेपछि आउने अर्को ठूलो खर्क बुकीपाटन हो । ढोरपाटन उपत्यकासम्म मात्रै सवारी चल्ने सडक छ । सिकार आरक्ष भएकाले ढोरपाटनका अन्य स्थानमा पैदल मार्गमात्रै छन् । ती मार्गबाट स्थानीयले पशुचौपाया खेदेर बुकीसम्म चरनका लागि लैजान्छन् ।
बुकी पुग्न सबै पैदल यात्रा गर्न सक्दैनन् । त्यसैले घोडाको माग बढेको छ । ४ हजार मिटरदेखि माथिको उचाइमा भएकाले कतिपयलाई लेक लाग्ने डर हुन्छ । त्यसैले अधिकांश पाहुन घोडा चढेर पाहुनाहरु बुकी जाने गर्छन् । बुकी जानु परे बिहान ६ बजे नै यात्रामा निस्कनुपर्छ । बुकी पुगेर राति अबेरमात्रै फर्कन सकिन्छ ।
बुकीपाटनका लागि चाहिने कपडा, लेक लागेमा खाने औषधीसमेत लिएर जानुपर्छ । त्यसैले भूमिराज झोलामा प्रायः नून, अदुवा र टिमुर राख्छन् । बुकीपाटन पुगेको घोडाचढीहरुले ४ हजार ५ सय रुपैयाँ भाडा निर्धारण गरेका छन् । तर ४ हजारमै लगिदिन्छन् । सिकार आरक्ष कार्यालय र एयरपोर्ट आसपास घुमेको २ सय रुपैयाँले पनि पुग्छ । उक्त प्याकेजमा फोटो, भिडियो बनाउन पनि पाइन्छ ।
उपत्यकाको वरिपरि घुम्ने भए १ हजार लाग्छ । निसेलढोरसम्म जानु पर्दा पाहुनाबाट १ हजार ५ सय लिने गरेको ढोरपाटन घोडाचढी व्यवसायी संघकी कोषाध्यक्ष आशा विकले बताइन् । ‘घोडा चढ्नेहरु अधिकांशले टिकटक बनाउने चाहना राख्नु हुन्छ’, उनले भनिन्, ‘हामीले पनि चाहेको स्थानमा लगिदिने र फोटो, भिडियो खिचिदिने गरिन्छ ।’ बुकी जानेले भने साहसिक यात्रा गर्न रुचाउने गरेका छन् ।
व्यवसायीका अध्यक्ष हुन् भूमिराज । उनकै नेतृत्वमा ५० भन्दा बढी घोडाचढीले समूह बनाएर नगरपालिकामा दर्ता गराएका छन् । बुर्तिवाङदेखि ढोरपाटनसम्मको सडक खुलेपछि पाटन केन्द्रीत पर्यटकका लागि समूहले काम गर्न थालेको हो । पूर्वाधार अभावमा कतिपय पर्यटक ढोरपाटन पुग्न नसक्दा पनि ढोरपाटनबासीले घोडामा पाहुना ओसार्ने चलन थियो ।
पछिल्लो ८ वर्षदेखि भने घोडाचढीको समूह बनेको छ । उनीहरुले नगरपालिकालाई करसमेत तिर्ने गरी व्यवसाय गर्न थालेका हुन् । बुर्तिवाङदेखि ३० किमी यात्रामा पुगिने ढोरपाटन उपत्यकासम्म कतिपय घोडा चढ्छन् । अहिले पनि वर्षातमा गाडी नचल्दा, जनैपूर्णिमामा ढोरबराह मेला लाग्दा धेरै पाहुनाले घोडा रोज्छन् ।
आगामी जनैपूर्णिमाको अवसरमा हुने ढोरबराह पूजामा भने स्थानीयले आलु महोत्सव गर्दै छन् । आलु बोकेर बुर्तिवाङ पठाउन पनि घोडा उपयोग गरिन्छ । सडक यातायातको सुविधा नपुग्दा ढोरपाटन र बुर्तिवाङका बासिन्दाले दैनिक उपभोग्य सामाग्री ल्याउन घोडाबाटै लैजान्थे । ‘पाल्पा, रिडी, तम्घास र बुटवलसम्म पुगेर घोडामा सामान झिकाउनुपथ्र्यो, अहिले त गाडीले यहीं ल्याइदिएको छ,’ स्थानीय चकबहादुर अदैले भने, ‘घोडा चढ्ने काम अब मनोरञ्जनका लागि भएको छ ।’
बुकी जाने गोठालाले खानेकुरा पनि घोडामै लैजाने गरेका छन् । ढोरपाटन घुम्न र तिब्बती शरणार्थी शिविरमा परिचयपत्र दिन जाने सिडिओ र कर्मचारीहरु बुर्तिवाङदेखि घोडा चढेर जाने गरेका थिए । २०३९ सालमा स्थापना भई २०४४ देखि नियमित कर्मचारी बस्न थालेको ढोरपाटन सिकार आरक्षका वार्डेन र कर्मचारी पनि घोडा चढेर कार्यालय पुग्थे ।
भूमिराजका साथीहरु मैतराम विक र टेककुमार विकले पनि नियमित घोडा स्याहार्दै आएका छन् । उनीहरु पनि जिल्लाबाट जाने नेता, कर्मचारी र हिंड्न नसक्ने सर्वसाधारणलाई घोडामा ढोरपाटन लगिदिन्छन् ।
जन्मेको ३ वर्षपछि घोडाको बच्चा ससानो भारी बोक्न सक्ने हुन्छ । त्यसपछि सामान बोकाएर ‘दाउने’ गरिन्छ । एक वर्ष दाएपछि ४ वर्षको घोडाले मान्छे बोकेर हिंड्न थाल्ने भूमीराजले बताए । ‘चार वर्षदेखि घोडाको उमेर २२ वर्ष पुग्दासम्म नियमित काममा लगाउन सकिन्छ’m विकले भने, ‘खानपान र समय मिलाएर काम गर्ने, आराम गराउँदा कुनै घोडाले २४ वर्षको उमेरसम्म नियमित काम दिन सकिन्छ ।’
चार वर्षपछि घोडालाई खसी पार्नु पर्छ । ‘खसी नपार्ने हो भने घोडी देखेर चम्कन्छ (उफ्रेर दर्गुछ), चढेको मानिसलाई खसाल्न सक्छ,’ विकले भने, ‘खसी पारेर केही दिन मीठोमीठो खान दिएपछि घोडाले भनेको मान्छ ।’ ढोरपाटनमा हिमाली जातको मध्यम घोडा पाइन्छ । स्थानीय केही किसानले घोडीगोठ नै बनाएका छन् । उनीहरुले घोडा दाउने बेला भएपछि बिक्री गर्छन् ।
दैनिक जीवनमा उपयोग गर्ने घोडा ढोरपाटनमा सयौं छन् । तर पर्यटक घुमाउने गरी ५० घोडा नगरपालिकामा सूचीकृत छन् । वार्षिक ५ सय कर तिरेर उनीहरुले सदस्यता अद्यावधिक गर्छन् । घोडालाई बेला बेलामा भिटामिन र तागत आउने औषधी खुवाउनुपर्छ । त्यसका लागि नगरपालिकाको पशु विकास शाखाले सहयोग गर्दै आएको छ ।





