शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

हाइब्रिड र झिनुवा धानमा मरुवा

हाइब्रिड र झिनुवा धानमा मरुवा

मरुवा लागेको खेतमा युरिया मलको प्रयोग सकेसम्म कम गर्नुपर्ने, आवश्यक परे सन्तुलित मात्रामा मात्र प्रयोग गर्नुपर्ने र खेतमा करिब तीन सेन्टिमिटर पानी कायम राख्नुपर्ने प्राविधिककाे छ ।


  • स‌जय रेग्मी
  • भाद्र ४ २०८३, बिहिबार

पर्वत/  जिल्लाको फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको रैथाने जातको झिनुवा तथा केही हाइब्रिड धानमा मरुवा (ब्लास्ट) रोगको समस्या देखिएको छ ।

धान गोडेर गाँज हाल्ने बेलामा धानको बिरुवाको पातबाट बिस्तारै मर्दै जाने समस्या देखिएपछि प्राविधिक टोलीले किसानको खेतमै पुगेर स्थलगत निरीक्षण गरेको छ । धान बालीमा पोटास तथा जिङ्कको कमी, मरुवा लगायतका समस्या देखिएको भन्दै किसानबाट गुनासो आएपछि फलेवास नगर स्तरीय कृषि सञ्जालको समन्वयमा सम्बन्धित निकायका प्राविधिकहरू खेतमा पुगेका हुन् ।

फलेवास नगरपालिकाको कृषि शाखा र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई बागलुङका प्राविधिकले संयुक्त रूपमा धान बालीको अवस्था अवलोकन गरेका हुन् । टोलीले रैथाने झिनुवा तथा विभिन्न हाइब्रिड जातको धानको निरीक्षण गरेको थियो ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई बागलुङका निमित्त वरिष्ठ कृषि अधिकृत अर्जुन प्रकाश सुवेदीका अनुसार अहिले धान गाँज हाल्ने अवस्थामा रहेको र यही समयमा केही धानमा पातमा लाग्ने मरुवा रोगको समस्या देखिएको हो । विशेष गरी रैथाने झिनुवा धानका साथै यूएस–३१२ लगायतका केही हाइब्रिड जातमा समस्या देखिएको उनले बताए ।

उनीहरूले प्रकोप कम भएका क्षेत्रमा पानीको मात्रा व्यवस्थापन गर्न तथा सन्तुलित खाद्यत्व प्रयोग गर्न किसानलाई सुझाव दिएका छन् । खेतमा पानीको निकास राम्रोसँग हुने व्यवस्था मिलाई करिब तीन सेन्टिमिटर पानी जमाएर राख्न सुझाव दिइएको छ । धान उत्पादन बढाउन भन्दै कृषकहरूले धानमा युरिया मलको अत्यधिक प्रयोग गर्ने र यसले मरुवा रोग फैलिन झनै सहयोग पुग्ने भएकाले आवश्यकता हेरेर मात्र युरिया प्रयोग गर्नुपर्ने सुवेदीले बताए । युरिया प्रयोग गर्नुपर्ने अवस्था भएमा पनि प्राविधिकको सल्लाहमा सन्तुलित मात्रामा प्रयोग गर्नुपर्छ ।

रोगको प्रकोप अत्यधिक भएको अवस्थामा भने ट्राइसाइक्लाजोललगायतका विषादी प्रयोग गर्न सकिने प्राविधिकले बताएका छन् । विषादी प्रयोग गर्नुपरेमा सम्बन्धित प्राविधिकको सल्लाहअनुसार मात्रा निर्धारण गरी प्रयोग गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन् । फलेवास नगरपालिकाले किसानलाई आवश्यक विषादी मङ्गलवारदेखि पूर्ण अनुदानमा उपलब्ध गराउने तयारीसमेत गरेको छ ।

रोपिसकेको धानमा सङ्क्रमण भएपछि विषादीको प्रयोग गर्नुभन्दा खेत रोप्नु अगाडि नै सामान्य कुराहरूमा ध्यान दिन सके रोपेको धानमा आउने समस्या केही हदसम्म कम हुने कृषि अधिकृत सुवेदीले बताए । किसानले धान बाक्लो रोपेका कारण पनि रोग फैलिन सक्ने भएकाले आगामी वर्षदेखि एक गाँजदेखि अर्को गाँजबिच करिब १५ देखि २० सेन्टिमिटर दूरी कायम गर्न उनी सुझाउँछन् । त्यस्तै, मरुवा लागेको खेतमा युरिया मलको प्रयोग सकेसम्म कम गर्नुपर्ने, आवश्यक परे सन्तुलित मात्रामा मात्र प्रयोग गर्नुपर्ने र खेतमा करिब तीन सेन्टिमिटर पानी कायम राख्नुपर्ने सुझाव छ ।

‘उहाँहरूले धान बाक्लो रोप्नुभएका कारण पनि समस्या आउँछ । यसलाई नियन्त्रण गर्नको लागि अलि पातलो रोप्ने हो । अहिलेलाई जे भए पनि अर्को वर्ष यस्ता सामान्य कुरामा ख्याल गर्नुपर्छ’, कृषि अधिकृत सुवेदी भन्छन्, ‘मरुवाको समस्या भएको ठाउँमा युरिया मलले झनै समस्या बनाउने भएकोले युरिया मल राख्नुपरेको अवस्थामा सन्तुलित मात्रामा राख्नुपर्छ । खेतमा करिब तीन सेन्टिमिटर जति पानी जम्मा भइरहेको हुनुपर्छ ।’

सुवेदीले आगामी वर्षदेखि रोग प्रतिरोधात्मक क्षमता बढी भएका धानका जात परीक्षणका रूपमा लगाउन पनि किसानलाई आग्रह गरेका छन् । नेपालमै विकास भएका राधा–१२ तथा मसिना धानतर्फ राधा–१६ लगायतका जात परीक्षणका रूपमा लगाउन सकिने उनको भनाइ छ । एकै पटक ठुलो क्षेत्रफलमा नयाँ जात लगाउन नसके पनि केही क्षेत्रफलमा परीक्षण गरेर त्यसको परिणाम हेर्न सकिने सुवेदी बताउँछन् ।

फलेवास नगर स्तरीय कृषि सञ्जालका संयोजक विनोद भुसालले किसानको गुनासो समयमै सम्बोधन गर्दै कार्यालयमा मात्र सीमित नभई प्राविधिक सेवा किसानको खेतसम्मै पु¥याउने प्रयास महत्त्वपूर्ण रहेको बताए । यसले किसान, प्राविधिक र सम्बन्धित निकायबिचको सहकार्यलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे । किसानका खेतमै पुगेर समस्या पहिचान गर्ने र रोग, पोषणको कमी तथा बाली व्यवस्थापनका विषयमा प्रत्यक्ष जानकारी दिँदा किसानले बेहोर्नुपर्ने क्षति कम हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->