काठमाडौं / बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा एमालेका किरण थापामगर नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८६ को २ बमोजिम थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्दै शपथ ग्रहण गराएका हुन् ।
एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनसहित सरकार गठन गरेका थापाको राजनीतिक यात्रा धेरै लामो देखिँदैन । राप्रपाबाट राजनीति सुरु गरेका उनी २०७४ मा वडा अध्यक्ष थिए ।
२०७४ मा भक्तपुर सूर्यविनायक नगरपालिकाका वडा अध्यक्ष भएर काम गरेका उनले छोटो समयमा नै राजनीतिमा फराकिलो फड्को मार्न सफल भएका छन् ।
निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालय पुनः संरचना गर्दै १४ मन्त्रालय घटाएर ८ कायम गरेपछि थापा विना विभागीय मन्त्री कायम गरिएको थियो । उनलाई विना विभागीय राखेकै कारण गुण्डुले बागमतीमा बानियाँ नेतृत्वको सरकारबाट हटेर नेकपासँग सरकार गठनको समीकरण निर्माण गरिएको बताइन्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु निकट रहेका उनले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा निरन्तर दोस्रो इनिङ जिम्मेवारी पाएका थिए । अध्यक्ष ओली बस्दै आएको गुण्डुको निवाससमेत थापाकै लगानीमा निर्माण भएको चर्चा गरिन्छ ।
मुख्यमन्त्री बनेसँगै बागमती सरकारमा उनको यात्रा २०८१ देखि निरन्तर रहेको छ । एमाले सचिव महेश बस्नेतको विश्वास पात्र रहेका थापा पेसाले क्रसर व्यवसायी हुन् ।
थापाले २०८१ साउन र २०८२ साउनमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका थिए । २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्य पदमा भक्तपुर २ (क) बाट निर्वाचित भएका उनले दोस्रो पटक मन्त्री बन्ने अवसर पाएका थिए ।
२०३३ भदौ १४ गते जन्मिएका थापा क्रसर व्यवसायी हुन् । २०७४ मा सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । भक्तपुर सूर्य विनायक- ८ शिपाडोलका थापा प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा लामो समयदेखि क्रसर व्यवसाय सञ्चालन गरिरहेका थापा २०७४ को स्थानीय तह निर्वाचनदेखि भने पूर्णकालीन रूपमा एमालेको राजनीतिमा सक्रिय छन् । खेलकुदको क्षेत्रमा रुचि राख्ने थापा नेपाल तेक्वाण्डो सङ्घका बागमती प्रदेशको कोषाध्यक्ष, सूर्य विनायक उद्योग वाणिज्य सङ्घको अध्यक्ष भएर काम गरिसकेका छन् ।
थापाले २०५३ मा २० वर्षको उमेरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, गाउँ कमिटी अध्यक्ष हुँदै राजनीतिक यात्रा सुरु गरेका थिए । तत्कालीन समयमा राप्रपाका विभिन्न भूमिकामा रहँदै आएका उनी २०७१ पुसबाट एमालेमा प्रवेश गरेका थिए ।





