शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

सडक बगेपछि बिरामीलाई स्ट्रेचरको भर

सडक बगेपछि बिरामीलाई स्ट्रेचरको भर

मोदीखोलामा आएको बाढीले पर्यटकीयस्थल बिरेठाँटीको अस्तित्व नै संकटमा परेको छ भने घान्दु्रकमा खाद्य संकटको डर उत्पन्न भएको छ ।


  • विजय नेपाली
  • भाद्र ५ २०८३, शुक्रबार

पोखरा/मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीयस्थल घान्द्रुक जाने पक्की सडक ठाउँठाउँमा बग्यो । अन्यत्रका सडक पनि छियाछिया बनाएको छ । बाढीले सडकमात्र बगेन, कास्कीको अन्नपूर्ण गाउँपालिकाको अर्को पर्यटकीयस्थल बिरेठाँटी बजारसमेत जोखिममा पु¥याएको छ ।

गत साउन २८ गते रातीको बाढीले ठाउँठाउँमा सडक बगाएपछि अहिले स्थानीय घन्टौ पैदल हिड्न बाध्य छन् । बिरामी, बालबालिका, वृद्धवृद्धाले सास्ती खेप्नु परेको छ । त्यसयता पनि खोलामा आएको पटकपटकको बाढीले विरेठाँटीको अस्तित्व नै मेटिने हो की भन्ने चिन्तामा स्थानीय छन् । अर्कोतर्फ घान्दु्रक पुग्ने सडक अवरुद्ध हुँदा खाद्य संकट हुने हो की भन्ने खतरा बढेको छ ।

स्याउलीबजारदेखी २ घण्टा विरामी बोकेर नयाँ पुलसम्म ल्याएका राजेन्द्र गुरुङले आफुहरुलाई उपचारका लागि अस्पतालसम्म पुग्नै कठिन भएको बताए । तत्कालै सडक नखुलाउने हो भने गाउँमा खाद्य संकट आइलाग्न सक्ने स्थिति देखिएको उनको भनाई थियो । अन्नपूर्ण–१० घान्दु्रकका उनले बाढीले बाटो बगाउँदा ९–१० जनाको टोलीले बिरामी बोकेर दुई घण्टामा मध्यपहाडी राजमार्गको नयाँपुल ल्याईपु¥याएको सुनाए ।

‘बाढीले घान्द्रुक जाने बाटो ठाउँठाउँमा बगाएको छ । बिरामीलाई स्टे«चरमा बोक्नुपर्ने बाध्यता आइपरेको छ’, उनले भने, ‘हामीलाई उपचारमा आउन मात्रै होइन घान्दु्रकसम्म यस्तै रहिरहे खाद्यान्नको अभाव होला जस्तो भइसकेको छ ।’ स्थानीय र पर्यटकहरु एकदमै जोगिएर हिड्नु परिरहेको भन्दै उनले यति ठूलो बाढीको सामना यसअघि कहिल्यै गर्नुनपरेको सुनाए ।

उल्लेरीदेखि पोखरा आएका हुमबहादुर पुनले उक्त दिन मोदी खोलामा सबैभन्दा ठूलो बाढी आएको बताए । जसका कारण अन्नपूर्ण गाउँपालिकाका चार वटा वडाको सडकमा ठूलो क्षति पुगेको छ । चार वटा वडाका नागरिकको दैनिकीमा अहिले निकै समस्या आइलागेको उनी सुनाउँछन् । ‘यस्तो ठूलो बाढी त हामीले अहिलेसम्म भोग्न परेको थिएन । पहिला गाउँमै सडक पुग्थ्यो अहिले हिडेर आउन बाध्य भएका छौं’, उनले भने, ‘पहिला हिउँ पर्ने ठाउँमा तीन चार वर्षयता भिषण वर्षा पनि हुन थालेको छ । यो वर्ष पनि निकै ठूलो वर्षा भयो र बाढी आयो । विरेठाँटीको अस्तित्व नै मेटिने हो कि भन्ने चिन्ता पनि लागिरहेको छ ।’

उल्लेरी–पोखरा बस चलाउँदै आएका हिमलाल भण्डारीले यस अघिका वर्षाको समयमा यस्तो विपद् भोग्न नपरेको बताउँछन् । नयाँपुलदेखी उल्लेरी सम्मको सडक ठाउँ ठाउँमा बगाउँदा व्यवसायमा ठूलो असर गरेको सुनाए । ‘राज्यले यथासक्य चाडो सडक मर्मत गर्नुपर्ने देखिन्छ । यहाँ त विरामी भएपनि बोकेरै ल्याउनु बाहेकको विकल्प छैन् । यसले पर्यटन क्षेत्रसंगै समग्र नागरिकलाई निकै प्रभावित बनाएको छ’, उनले भने ।

सडक खुलाउने काम सुरु भएको छ : भौतिक पूर्वाधार मन्त्री नेपाली
यसैबीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द नेपालीले बाढीले क्षतीग्रस्त बिरेठाँटीको स्थलगत निरीक्षण गरेका छन् । उनले बिरेठाँटी निकै जोखिममा देखिएको बताए । उनका अनुसार यस पटक सबैभन्दा बढी क्षति नै कास्कीको अन्नपूर्ण गाउँपालिकामा भएको छ ।

बिरेठाँटीमा जुन खालको बाढी आयो यसले त्यहाँको जनजीवन प्रभावित गर्नुका साथै भौतिक संरचनाहरू जोखिममा पारिरहेको उनले जनाए ।

यसप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले तत्काल सडक सञ्जाल खुलाउनका लागि सेनासहितको टोली खटाएर काम सुरुवात गरिएको जानकारी दिए । ‘यो ठाउँ अत्यन्तै जोखिम छ । त्यहाँ हामीले एउटा तत्कालीन हिसाबले कसरी निकास निकाल्न सकिन्छ र दीर्घकालीन हिसाबले पनि त्यहाँ फेरि त्यो खालको एउटा धराप नपर्ने गरी कसरी निकास निकाल्न सकिन्छ भन्ने हिसाबले सोच्नुपर्ने अवस्था छ’ उनले भने, ‘तत्काल आवतजावत सुचारु गर्न प्रदेश सरकार, स्थानीय तह र नेपाली सेनाको संयुक्त सहयोगमा सडक खुलाउने काम सुरु भएको छ ।’

बाढीको कारणबारे अध्ययन आवश्यक रहेको मन्त्री नेपालीले बताए । ‘कारण पत्ता लगाउँदै छौँ । माथिबाट धेरै ठूलो–ठूलो रुखहरू, धेरै ढुंगामाटो बगिरहेका छन् । त्यो कहाँबाट कसरी उत्पत्ति भयो भन्ने कुरा हामीले त्यसको पहिचान गर्दैछौँ’ मन्त्री नेपालीले थपे, ‘अहिलेसम्म कसरी आयो भन्ने कुरा पहिचान गर्न सकिरहेका छैनौं । तर त्यसले एउटा धार नै परिवर्तन गरेर बस्तीतिर आउँदाखेरि त्यो समस्या भएको हो ।’ मोदी खोलामा असारदेखी साउन मसान्तसम्म ६ पटकभन्दा बढी बाढी आएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->