बागलुङ / सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माले छिटो न्याय सम्पादनमा न्यायालयको मुख्य ध्यान रहेको बताएका छन्।
शनिबार बागलुङमा आयोजित कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश शर्माले छिटो न्याय दिनसके मात्रै जनताको आशा र भरोसा न्यायालयप्रति बढ्ने बताए। उनले पुराना मुद्दा शून्यमा झार्नुपर्नेमा जोड दिए।
अदालतको वर्तमान अवस्था, भौतिक संरचना र न्याय निरूपणको अवस्था बुझ्ने क्रममा उच्च आदलत पोखरा, बागलुङ इजलासमा आएका प्रधानन्यायाधीश शर्माले छिटो न्याय सम्पादनका लागि अदालतले प्रविधिलाई आत्मसात् गर्दै अघि बढेको बताए।
उनले ७९ करोड रुपैयाँ लागतमा हालै निर्माण भएर सञ्चालनमा आएको उच्च अदालत पोखरा, बागलुङ इजालस भवन तथा जिल्ला अदालत बागलुङको निरीक्षण गरेका छन्।

उच्च अदालत बार एकाइ बागलुङका अधिवक्तासँग अन्तर्क्रिया तथा छलफलमा उनले न्यायसम्बन्धी जनचेताना फैलाउन अधिवक्तहरूको मुख्य भूमिका रहेको बताए।
प्रधानन्यायाधीश शर्माले छिटो न्याय सम्पादन, सकभर जिल्ला अदालतबाटै मुद्दाको टुङ्गो लगाउन सकेमा जनतालाई सहज हुने बताए। ‘दुई वर्ष कटेका पुराना मुद्दा निकै कम रहेको पाएँ, यसलाई शून्यमा झार्नुपर्छ,’ उनले भने, ‘पछिल्लो समय उच्च अदालत पोखरा बागलुङ इजलासमा पुराना मुद्दा घटाएर सुविधासम्पन्न भवनबाट सेवा दिँदा सहज भएको छ।’
उनले जनतालाई छिटो न्याय दिनुपर्नेमा जोड दिए। ‘जनताले छिटो न्याय पाए मात्रै न्याय पाएको महसूस गर्नेछन्,’ उनले भने, ‘प्रविधिमा अब्बल न्यायालय हुन आवश्यक छ।’
देशभरमै बालविवाह, सम्बन्धविच्छेद, जबर्जस्ती करणीलगायत मुद्दा बढ्नु राम्रो नभएको उनको भनाइ छ। अदालतलाई प्रविधिमैत्री बनाउँदा मात्रै छिटो र समयमै न्याय दिन सकिने उनको भनाइ थियो।





