पर्वत/पर्वतको विहादी गाउँपालिकाले हरितालिका तीजको अवसरमा गाउँपालिका स्तरीय तीजगीत तथा नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाले सूचना जारी गर्दै प्रतियोगितामा सहभागी हुन इच्छुक महिला समूह, महिला स्वास्थ्यकर्मी, महिला शिक्षक तथा विद्यालयका विद्यार्थी समूहलाई आह्वान गरेको हो ।
प्रतियोगिता भदौ २१ गते गाउँ कार्यपालिकाको कार्यालय परिसरमा हुनेछ । प्रतियोगितामार्फत् तीजको मौलिक संस्कृति संरक्षणसँगै गाउँपालिकाको विकास र समृद्धि, महिला एकता तथा संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।
खुला तीजगीत प्रतियोगितामा ‘विहादीको विकास र समृद्धि, महिला एकता र संस्कृति’ शीर्षकमा आधारित रहेर नेपाली मौलिक तीजको भाकामा प्रस्तुति दिनुपर्नेछ । जसमा गाउँपालिकाभित्रका महिला समूह, महिला स्वास्थ्यकर्मी तथा महिला शिक्षकका समूहले मात्र सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा एक समूहमा वाद्य वाधकसहित बढीमा ७ जना सहभागी हुन पाउनेछन् ।
गीतको प्रस्तुति बढीमा १० मिनेटको हुनुपर्ने तथा समूह दर्ताका लागि सहभागीको नेपाली नागरिकताको प्रतिलिपिसमेत पेस गर्नुपर्ने छ । प्रतियोगितामा प्रथम हुने समूहले २५ हजार ५ सय ५५, द्वितीयले १५ हजार ५ सय ५५, तृतीयले १० हजार ५ सय ५५ तथा सान्त्वना हुने समूहले ५ हजार ५ सय ५५ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कक्षा ६ देखि १२ सम्मका विद्यालय स्तरीय नृत्य प्रतियोगिता पनि आयोजना गरिने भएको छ । प्रतियोगितामा नेपाली मौलिक भेषभूषाको नृत्यलाई प्राथमिकता दिइनेछ । नृत्यमा तीजगीत मात्र प्रयोग गर्नुपर्ने, प्रस्तुति बढीमा पाँच मिनेटको हुनुपर्ने तथा एक समूहमा न्यूनतम दुई र बढीमा पाँच जना विद्यार्थी सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ ।
विद्यालय स्तरीय नृत्य प्रतियोगितामा प्रथम हुने समूहलाई १५ हजार ५ पाँच सय ५५, द्वितीयलाई ११ हजार ५ सय ५५, तृतीयलाई ८ हजार ५ सय ५५ तथा सान्त्वना हुने समूहलाई ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । समूह दर्ताको अन्तिम दिन भदौ १८ गते छ ।





