
काठमाडौं/बिहीबार बिहान तिब्बतसँग सीमा जोडिएको रसुवा जिल्लामा छिटपुटमात्र वर्षा भयो ।मानिसहरू आफ्नै नियमित काममा थिए । बिहान ९ बजेतिर एकाएक आएको आकस्मिक बाढीले रसुवासहित धादिङ, नुवाकोट, धादिङसम्म ठूलो क्षति गरेको छ ।
बाढीले रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरी चौकी र भन्सार कार्यालयमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण रसुवागढी नाका जोड्ने सडक र पुलहरूसमेत क्षतिग्रस्त भएको छ ।रसुवा बाढीका कारण त्रिशूली नदीका धेरै बढी पुलमा क्षति पुगेको छ ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले कम्तीमा १९ पुलमा क्षति पुगेको बताए । सडक विभागले बाढी प्रभावित क्षेत्रमा आवश्यक मेसिन तथा उपकरण परिचालन गरेको छ ।
नेपालका बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले समन्वय गरेका छन् । अर्थमन्त्री डास्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले आपतकालीन सहयोगस्वरूप २५ अर्ब रुपियाँसम्म सहयोग गर्न सक्ने जानकारी दिएका छन् ।
छिमेकी भारतले बाढीपीडितका लागि तत्काल आवश्यक राहत सामग्रीको सूची पठाउन आग्रह गरेको छ । उत्तरी छिमेकीचीनले पनि तत्काल नगद सहयोग गर्ने भएको छ। त्यसका लागि रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन् ।
बाढीपछि बसेको मन्त्रिपरिषद्को बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित गरेको छ । नेपाली सेना र निजी हेलिकोप्टरबाट हवाई उद्धार गरिएको छ भने तीन वटै सुरक्षा निकाय परिचालन गरिएको छ ।
बाढीमा परी ३ सय ८४ पर्यटक सम्पर्कविहीन भएका छन् । बुधबार रातिसम्म भोटेकोशीको भीषण बाढीबाट मृत्यु भएका ९५ जनाको शव फेला परेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विपदमा परेका नागरिकको खोज, उद्धार र राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले साँझ प्रधानमन्त्री वालेन्द्र शाहलाई टेलिफोन गरी जनताको उद्धार, राहत र खोज कार्यलाई तीव्रता दिन आग्रह गरेका हुन् ।
राज्य साथमा छः प्रधानमन्त्री
प्रधानमन्त्री शाहले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दैज्यान गुमाएकालाई भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गरेका छन् ।
सामाजिक सञ्जालमा उनले भीषण बाढीले पु¥याएको ठूलो मानवीय र भौतिक क्षतिले सिंगो देशलाई नै स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन् । उनले उद्धार, उपचार, खोजतलास तथा राहत कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताएका छन् ।
सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितका सुरक्षा निकायलाई उद्धारमा परिचालन गरेको, हेलिकप्टरमार्फत नागरिकको उद्धार भइरहेको तथा घाइतेहरूको निःशुल्क उपचारका लागि काठमाडौंका अस्पतालमा शप्या छुट्याइएको शाहले उल्लेख गरेका छन् । ‘यो विपदबाट नागरिकलाई बचाउन र उहाँहरूको जनजीवन सामान्य बनाउन सरकार लागिरहनेछ,’ उनले भनेका छन्, ‘म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु—यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ।’राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ उद्धार, उपचार र राहतमा लागेको उनको भनाइ छ ।





