मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

अर्काे विपद् आउनुअघि…

अर्काे विपद् आउनुअघि…

नदी किनारहरूमा जहिल्यै विद् आउन सक्छ, किनकी यी नदीहरू हिमालबाट बगेका छन् । हिमतालबाट बगेका हुन् ।


  • प्रकाश बराल
  • भाद्र १२ २०८३, शुक्रबार
तस्बिर/ रासस

बागलुङ/भोटेकोशी बाढीको बितण्डाबाट के–कति क्षति भयो भन्ने एक महिनासम्म पनि यकिन नहुन सक्छ । तर, अकल्पनीय त्रासदी आएको सत्य हो ।

चीनमा हिमपहिरो र हिमताल फुटेर भएको यो दुर्घटना नेपालको इतिहासमा सबैभन्दा ठूलो हो । यसले भौतिक संरचना त ध्वस्त बनायो नै, सयौं नागरिकको ज्यान लिएको छ । बनाएर नसकिने बस्ती, सहरहरू उजाड पारेको छ ।

अर्बौ लगानीका जलविद्युत आयोजनाहरू बगेका छन् । यो बेलामा आम नागरिक सुरक्षित रहने र बिपतमा परेकालाई सुरक्षा दिने हो । तर कतै हामी अर्काको विपतमा रमाइरहेका पो छौं कि ? त्यो अहिले सामाजिक सञ्जालमा धेरै देख्न पाइएको छ ।

छरिएका शवको भिडियो खिच्नु र पोष्ट गर्नु अमानवीय काम हो भन्ने बुझाउन सकिएको छैन । त्यसो त आफ्नै महासंकटको पनि फोटो र भिडियो खिच्न नेपाली तयार छन् । त्यस्ता काम छाडेर रचनात्मक सहयोगमा हात बढाउनु उपयोगी हुने सन्देश अहिले चाहिएको छ ।

बेपत्ता र मृतकको संख्यासमेत यकिन नहुँदै आउने हल्ला, मित्थायांकले पनि नेपालीलाई सताउने गरेको छ । पीडित परिवारमा यसले कति धेरै असर गर्छ भन्ने अनुमान पनि गर्न सकिंदैन । तसर्थ धैर्यधारण गर्ने, सक्दो सहयोग गर्ने र मानवता प्रर्दशन गर्ने बेला यो हो ।

विपद्पछिको पुनर्निर्माण र पुनस्र्थापनाको लामो भविष्यबारे पनि सोच्न जरुरी छ । दर्जनौं पुल बगेका छन् । भोलिका दिनमा खाद्यान्न, दैनिक जीवनका सामान ढुवानीले कति सताउने हो, त्यो आकलन छैन । एकसरो लुगामात्र रहेका हजारौंलाई कसरी बचाउने भन्ने प्रश्न पनि छ ।

नेपालमा पहाडी बस्ती धेरै छन् । उत्तरतर्फ हिमाली क्षेत्र छ, हिमतालहरु छन् । तापक्रम बढ्दो भएकाले जति बेला पनि ती हिमताल फुट्ने खतरा छ । हिमपहिरोहरू त आइरहेकै छन् । भोटेकोशीमा आएको बाढी पनि हिमताल र हिमपहिरोकै कारण हो । यति बेला केरुङखोला र ल्हेन्देखोला मिलेर बनेको संयुक्त भागलाई भोटेकोशीको नाम लिइए पनि यो त्रिशूली नदीको सहायक खोला हो । हिमपहिरो यो खोलाको बाटो हुँदै त्रिशूलीमा आएपुगेपछि ठूलो क्षति भएको हो ।

बाढीमा धेरै देशका नागरिक बेपत्ता भएका छन् । गत वर्ष पनि केरुङमा हिम पहिरोले बाढी आएको थियो । १८ प्रहरीसहित दर्जनौं कामदार पनि बगेका थिए । उक्त घटनालाई सिकाईका रुपमा न नेपालले लियो, न चीनले । त्यसको परिणाम स्वरुप भदौ १० कालो दिन त्यही बाटो भएर आइदियो ।

अहिलेसम्म ती हिमताल र हिमपहिरो नियन्त्रण, व्यवस्थापन र त्यसको असरबाट मानव क्षति रोक्न चीन सरकारसँग कुरा भएको छैन । त्यतिमात्र होइन, दुई देशबीच प्राकृतिक विपद, जनस्रोत, मौसम र सीमा क्षेत्रमा हुने सूचना अदानप्रदानका लागि समेत प्रभावकारी संयन्त्र विकास नभएको पाइएको हो । केरुङ नाका त यस्तो हो, जुन एउटा खोचमात्रै हो ।

यो खोचबाट अझै दर्जनौं बाढी, पहिरो आउन सक्ने खतरा छ । यसको सुरक्षा संवेदनशीलताबारे खासै चासो राखिएन । जोखिमयुक्त हिमताल हतियारभन्दा धेरै खतरापूर्ण हुन्छ ।

सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, तमोर, खुम्बु बढी जोखिमका क्षेत्र हुन् । दोलाखाको च्छोरोल्पा हिमताल फुटेर तराई सम्म जोखिम बढेको र त्यो समस्या अझै नसकिएको धेरै भएको छैन । कोशी, गण्डकी र कर्णाली करिडोरहरु यस्तै जोखिमका क्षेत्र हुन् । नदी किनारहरूमा जहिल्यै विद् आउन सक्छ, किनकी यी नदीहरू हिमालबाट बगेका छन् । हिमतालबाट बगेका हुन् ।

भदौ १० गते आएको बाढीको क्षेत्र केरुङ जोखिमको एउटामात्र क्षेत्र हो । यो सिमानादेखि ३५ किमी माथि चीनतर्फ थियो । तर यसले चितवनसम्म असर गरेको छ । अब हिमताल फुट्ने जोखिममात्र होइन, त्यसले पार्ने सबै खाले असरको बिष्लेषण गरी ताल नफु्ट्ने, फुट्दा प्रवाह रोकेर विस्तारै बग्ने बनाउने चुनौती छ । छिमेकी चीनले यस्ता बिषयमा नेपाललाई सहयोग गर्नुपर्छ ।

अबका दिनमा नेपालले अन्तराष्ट्रिय मञ्चहरुमा हिमताल, हिमपहिरो र उत्तरमा हुने हरेक विकास निर्माणबारे चासो राख्नुपर्ने हुन्छ । विकासमा खुसीमात्र हुन जान्ने नेपालीले दिगो विकासको मर्म र विकासले ल्याउने विनाशबारे सोच्न पनि भ्याएका छैनौं । समयमा नसोचेकै कारण भोटेकोशी र त्रिशूलीको यो विपत्ति आएको हो भने भोलिका दिनमा अझै ठूला संकटको सामना गर्नुपर्ने हुन सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->