मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

तीजको कार्यक्रम स्थगित गरेर बागलुङ चिप्लेटी महिला समूहले पठाए प्रधानमन्त्री राहत कोषमा रकम

तीजको कार्यक्रम स्थगित गरेर बागलुङ चिप्लेटी महिला समूहले पठाए प्रधानमन्त्री राहत कोषमा रकम

नाचगान र उत्सवभन्दा पीडित नागरिकको दुःखमा साथ दिनु नै ठूलो मानवीय धर्म भएको निष्कर्ष


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०८३, शुक्रबार

बागलुङ / बागलुङको चिप्लेटी महिला समूहले हरितालिका तीज पर्वका अवसरमा आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रम स्थगित गरी त्यसमा खर्च हुने रकम रसुवा बाढीपहिरो प्रभावितहरूको राहतका लागि सहयोग गरेका छन् ।

महिला समूहले भदौ १७ गते बागलुङस्थित इला कन्फर्टमा आयोजना गर्ने तयारी गरेको तीज विशेष कार्यक्रम स्थगित गरी त्यसका लागि छुट्याइएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेका हुन् ।

चिप्लेटी महिला समूहले राहत कोषमा ३६ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको समूहकी प्रतिनिधि गीता थापाले बताईन्।

हालै रसुवा लगायत देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको तथा सयौं परिवार प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको थापाले बताइन्। उनका अनुसार विपत्तिको समयमा नाचगान र उत्सवभन्दा पीडित नागरिकको दुःखमा साथ दिनु नै ठूलो मानवीय धर्म भएको निष्कर्षसहित महिला समूहले सर्वसम्मत निर्णय गरी सो रकम राहत कोषमा प्रदान गरेका हुन्।

“तीज मनाउन छुट्याएको रकम मानवीय सेवामा खर्च गर्दा बढी अर्थपूर्ण हुन्छ भन्ने भावना सबै दिदीबहिनीमा जाग्यो,” थापाले भनिन्, “त्यही सोचका साथ हामीले सो रकम राहत कोषमा सहयोग पठाएका हौं।”

चिप्लेटी महिला समूहको यो कदमले तीज पर्वलाई केवल रमाइलो र उत्सवमा सीमित नराखी सामाजिक उत्तरदायित्व र मानवीय संवेदनासँग जोड्न सकिने सन्देश दिएको छ। विपत्तिको घडीमा पीडितको साथमा उभिन सक्नु नै पर्वको वास्तविक सार्थकता भएको भन्दै समूहले अन्य महिला दिदीबहिनी तथा सामाजिक संघसंस्थालाई पनि मानवीय सेवामा अग्रसर हुन आग्रह गरेको छ।

प्राकृतिक विपत्तिले देश संकटमा परेको बेला चिप्लेटी महिला समूहले देखाएको सामाजिक उत्तरदायित्व र सहानुभूतिको भावनाले समाजमा सकारात्मक उदाहरण प्रस्तुत गरेको स्थानीयवासीले बताएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->