मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

चितवनमा शब व्यवस्थापनमा चुनौती, सकियो सुख्खा बरफ

चितवनमा शब व्यवस्थापनमा चुनौती, सकियो सुख्खा बरफ

'शव भेटिने क्रम जारी छ। यसको व्यवस्थापनमा सरकारले के निर्णय गर्छ, त्यहीअनुसार अगाडि बढ्ने हो ।'


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८३, शनिबार
नारायणी नदीमा भेटिएको शव संकलन गरी भरतपुर पठाउँदै नयाँ गोरखगणका नेपाली सेना। तस्बिर : नेपाली सेना

चितवन / भोटेकोशीमा आएको बाढीका कारण बगाएर ल्याइएका शव चितवनमा भेटिने क्रम जारी छ। जिल्लामा हालसम्म २३३ शव फेला परेका छन्। शवको संख्या बढ्दै गएपछि तिनको व्यवस्थापनमा चुनौती थपिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले शव व्यवस्थापनका लागि सरकारको निर्णय कुरिरहेको बताए। “शव भेटिने क्रम जारी छ। यसको व्यवस्थापनमा सरकारले के निर्णय गर्छ, त्यहीअनुसार अगाडि बढ्ने हो ।”

शव खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई नारायणी नदी किनारमा परिचालन गरिएको छ। हाल संकलित शवहरू भरतपुर अस्पताल र औद्योगिक प्रतिष्ठानको भवनमा बनाइएको शव पहिचान कक्षमा राखिएको छ। शव सड्न नदिन ड्राइ आइस (सुख्खा बरफ) आवश्यक पर्ने भए पनि अहिलेसम्म उपलब्ध हुन सकेको छैन।

सुख्खा बरफको अभावमा संकलित शव छिट्टै दुर्गन्धित हुने अवस्था आएको छ। बढ्दो गर्मी तथा घामपानीका कारण शवलाई चिसोमा राख्नुपर्ने आवश्यकता विज्ञहरूले औँल्याएका छन्। शवलाई चिस्यानमा राख्न नसकिए आवश्यक प्रक्रिया पूरा गरी अन्त्येष्टि गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसका लागि सरकारले निर्णय गर्नुपर्ने बताइएको छ।

भेटिएका शवको सरसफाइ गरी पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले भरतपुरस्थित औद्योगिक विकास प्रतिष्ठानको पुरानो भवन मर्मतसम्भार गरी शव पहिचान कक्षका रूपमा प्रयोग गरिएको छ। भवनमा एसी जडान गरी चिसो कायम गरिएको भए पनि त्यसले मात्र शव सड्नबाट रोक्न नसक्ने बताइएको छ। त्यसका लागि पनि सुख्खा बरफ आवश्यक रहेको जनाइएको छ।

यता, भेटिएका शवको पहिचान गरी परिवारलाई बुझाउने कामसमेत सुरु भएको छ। प्रहरीले सबै मृतकको अनुहार देखिने तस्बिर सार्वजनिक गरेको छ। ती तस्बिर नेपाल प्रहरीको वेबसाइटमा समेत हेर्न सकिने व्यवस्था गरिएको छ। उद्योग संघको भवनमा डिस्प्ले राखेर पनि तस्बिर प्रदर्शन गरिएको छ।

“शव पहिचानमा सजिलो होस् र अनावश्यक भिडभाड नहोस् भन्ने उद्देश्यले नै शवको तस्बिर सार्वजनिक गरेका हौँ। यसले शव पहिचानमा सहयोग पुग्ने विश्वास गरेका छौँ,” प्रहरी उपरीक्षक पौडेलले भने।

शव अन्त्येष्टि गर्नुअघि भरतपुर अस्पतालमा डीएनए परीक्षण तथा बुढीऔँलाको छाप लिने काम सुरु भएको छ। यी विवरण सुरक्षित राखेपछि सरकारको निर्णयअनुसार शवको अन्त्येष्टि गर्न सहज हुने र पछि परिवारले पहिचान गर्न चाहेमा त्यसैका आधारमा पहिचान गर्न सकिने प्रहरी उपरीक्षक पौडेलले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->