बागलुङ/जेष्ठ नागरिक जिल्ला संघ बागलुङको स्थापना दिवसमा बिहिबार लक्ष्मीनारायण मन्दिरमा विशेष कार्यक्रमको आयोजना गरी सहभागिहरुलाई फलफूल बितरण गरिएको छ ।
सो अवसरमा बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्काले जेष्ठ नागरिक संघ क्रियाशिल संस्था रहेको बताउँदै पछिल्लो समय ज्येष्ठ नागरिकप्रति बढ्दै गएको दुव्र्यवहार लगायतका व्यवहारप्रति कानुनी आवाज उठाउनुपर्ने बताए । उनले जेष्ठ नागरिकको सुरक्षित र सहज जीवनयापनका लागि संस्थाले कुशलतापुर्वक काम गरिरहेको बताए ।
उनले बिभिन्न स्थानमा दिवा सेवा संचालनको योजनासहित सहायक सामाग्रीहरु बितरण गर्दै सामाजिक सेवाको क्षेत्रमा देखाएको मानवीय सहयोगका लागि धन्यवाद ब्यक्त गरे । जेष्ठ नागरिकलाई आइपर्ने समस्याबारे न्यायिक समितिले पनि कानुनी सहायता गर्न सक्ने र उनीहरुको संरक्षणका लागि सम्बन्धित पक्षलाई अन्तरिम संरक्षणात्मक आदेश समेत दिन सक्ने व्यवस्था रहेको उप–प्रमुख खड्काले बताए ।
कार्यक्रममा जेष्ठ नागरिक जिल्ला संघ बागलुङका अध्यक्ष चिरन्जिवी श्रेष्ठले ०६९ साल भाद्र ११ गते स्थापना भएको संघमा ४ सय ९४ सदस्य रहको र १६ लाख मुद्दती खातामा ज्येष्ठ नागरिक कल्याणकारी कोष रहेको जानकारी दिए ।





