बागलुङ/नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले राज्यले स्वतन्त्र प्रेस र संचार माध्यममा अंकुश लगाउन खोजेको आरोप लगाएका छन् । उनले पञ्चायती र राजाको प्रत्यक्ष शासनकालको जस्तै प्रतिगमनमा लागेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई घाँटी निमोठ्न लागेको बताए । त्यस्तो काम पत्रकारलाई सह्रय नहुने उनले बताए ।
नेपाल प्रेस युनियन पर्वतको ७ औं अधिवेसनको उद्घाटन गर्दै लम्सालले नेपालका संचार माध्यम धरासायी बनाउने खेल खेलेकोले पत्रकारले सशक्त प्रतिवाद गर्नुपर्ने समेत बताए । पत्रकारहरु सडकमै आन्दोलनमा आउने अवस्था भैसकेको भन्दै राज्यले फेक आइडी भएका सामाजिक सञ्जालमाथी विश्वास गरेको आरोप पनि लगाए । ‘फेक आइडी भएकाले लेखेको कुरा सत्य हुने, जे लेखेपनि हुने, उनीहरुको भजन गाउनुपर्ने, सरकार त्यसैलाइ साथ दिने’ लम्सालले भने, ‘दर्ता भएको मिडियाले आचार संहिता मानेर, सत्य र तथ्यमा लेख्दा राज्यको सेवाबाट वञ्चित बन्ने अवस्था भयो ।’ उनले सरकारले लोककल्याणकारी विज्ञापनमा गरेको कटौती, सरकारी विज्ञापनमा लगाएको प्रतिबन्ध र सामाजिक संजालका छाडा प्रवृत्ती नियन्त्रण नगर्ने काम प्रेस विरोधी भएको बताए ।
अन्तराष्ट्रिय पत्रकार महासंघ, आइएलओ लगायतका संस्थामा दर्ता भएको प्रेस युनियनदेखि संस्था दर्ता ऐनअन्र्तगत दर्ता भएका पत्रिका र अनलाइन, कर तिरेका संचार माध्यमलाई अनावस्यक दुःख दिएर नक्कली नामबाट जे पायो त्यहीं लेख्नेलाई प्रवद्र्दन गर्न खोजेको उनको आरोप छ । आत्मरतिमा रमाउने सरकारले जनताको आवाजलाई थुन्न खोजेको पनि बताए । प्रजातन्त्रका मापदण्ड मान्ने, न्युनतम पारिश्रमीकको आवाज उठाउने र श्रम ऐन लागू गर्न खोज्ने संस्थाहरुलाई प्रतिबन्ध लगाउने काम पनि राज्यबाट भैरहेको उनको आरोप छ । उनले प्रेस युनियनका सदस्यलाई प्रजातन्त्र र लोकतन्त्रमा कुनैपनि सम्झौता नगरी काम गर्न निर्देशन पनि दिए ।
आसन्न महाधिवेसनका लागि युनियनले जिल्ला तहमा अधिवेसन गरिरहेको छ । सोही प्रक्रिया अनुसार पर्वत जिल्ला अधिवेसन सम्पन्न भएको हो । अधिवेसनले विष्णु सापकोटा गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा योगराज गिरि र इन्दिरा शर्मा तिवारी, सचिवमा मुना कुमारी खत्री लामिछाने, कोषाध्यक्षमा पूजा शर्मा पशुपति र सह–सचिवमा मिना पराजुली चयन भएका छन् । सदस्यमा बसन्त बास्तोला, अस्मिता गौतम, सुरेश रेग्मी, सन्तोष पराजुली र खिममाया पाईजा गिरि चयन भएको निर्वाचन अधिकृत अगन्धर तिवारीले बताए । तिवारी नेतृत्वमा संजय रेग्मी र शिव परियार रहेको निर्वाचन समितिले प्रदेश र संघिय प्रतिनिधि पनि निर्विरोध घोषणा गरेको थियो ।
अधिवेसन उद््घाटन कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशी, नेपाल प्रेस युनियनकी केन्द्रीय उपमहासचिव दिलीपाश्री अधिकारी, नेपाल प्रेस युनियन गण्डकीका अध्यक्ष टंक अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, प्रदेश उपाध्यक्ष माया अधिकारी, प्रेस युनियनका केन्द्रीय सदस्यहरु प्रदिप पन्त, साजन परियार, प्रेस युनियन पर्वतका संस्थापक विश्वप्रकाश प्रसाई, ओमप्रसाद घायल, नेपाल पत्रकार महासंघका पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, प्रेस चौतारी नेपाल पर्वतका अध्यक्ष दिपेश पोखरेल, प्रेस सेन्टरका अध्यक्ष प्रनिस गिरी, संचारिका समूहकी अध्यक्ष रञ्जना खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
युनियनका अध्यक्ष उत्तमप्रसाद अधिकारीको अध्यक्षता, सचिव सुमनजंग थापाको संचालन र उपाध्यक्ष बिष्णु गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा लोमान्थाङ मिडिया समिट लगायतका अभियानमा संस्थालाई विश्वभर चिनाउन सफल भएको भन्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साललाई सम्मान गरिएको थियो ।
कांग्रेस सभापति युवराज जोशीले उक्त अवसरमा पत्रकारमार्फत बाढी पीडितलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण पनि गरेका थिए ।





