म्याग्दी/बिहानको उज्यालो नहुँदै सिंगाका किसान गाईभैँसी दुहुन्छन् । घरायसी प्रयोजनका लागि मात्र होइन, उनीहरूको गोठमा उत्पादन भएको दूध अहिले नियमित आम्दानीको स्रोत बनेको छ । बेनी नगरपालिका–४ को सिंगाबाट मात्रै गत आर्थिक वर्षमा करिब चार लाख ३४ हजार लिटर दूध संकलन तथा बिक्री भएको छ ।
स्थानीय किसानले उत्पादन गरेको दूध बेनी बजार, पर्वतको बेनी तथा पोखरासम्म पुग्न थालेपछि पशुपालनप्रतिको आकर्षण पनि बढेको छ । सिंगाका एक सयभन्दा बढी किसानले गाईभैँसी पालन गर्दै दूध उत्पादन गरिरहेका छन् । दुईवटा कृषि सहकारी संस्थाले किसानबाट दूध संकलन गरी बजारसम्म पु¥याउने जिम्मेवारी सम्हालेका छन् ।
बेनी नगरपालिका–४ का अध्यक्ष अणबहादुर खड्का र निवर्तमान वडा अध्यक्ष गोविन्द पौडेलको अगुवाइमा रहेका बास्कुना कृषि सहकारी संस्था लिमिटेड र शुभकामना कृषि सहकारी संस्था लिमिटेडले दूधको बजारीकरणमा सहजीकरण गर्दै आएका छन् ।
वडा अध्यक्ष खड्काको सहजीकरणमा बास्कुना कृषि सहकारीले गत असोजदेखि दूध संकलन सुरु गरेको हो । सहकारीले दैनिक १५ सय लिटरभन्दा बढी दूध संकलन गरी पोखरास्थित सुजल डेरी उद्योगमा पठाउँदै आएको छ । गत आर्थिक वर्ष २०८२÷०८३ मा मात्रै करिब तीन लाख लिटर दूध सुजल डेरीमा पठाइएको अध्यक्ष खड्काले बताए । वर्षको बीचबाट मात्र संकलन सुरु गरेको अवस्थामा उक्त परिमाणमा दूध बिक्री भएकाले चालु आर्थिक वर्षमा पाँच लाख लिटर दूध बिक्री गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।

बेनी नगरपालिका–४ को समन्वयमा सुजल डेरीसँग भएको सम्झौताअनुसार बास्कुना सहकारीको दूध पोखरा पठाउने गरिएको छ । सिंगामा संकलन भएको दूध सुजल डेरीकै गाडीले पोखरा लैजाने गरेको छ । अध्यक्ष खड्काको आफ्नै गोठबाट पनि दैनिक औसत एक सय लिटर दूध उत्पादन हुँदै आएको छ ।
यता, निवर्तमान वडा अध्यक्ष पौडेलको अध्यक्षतामा रहेको शुभकामना कृषि सहकारीले पनि स्थानीय दूधलाई बजारसँग जोडेको छ । सहकारीले गत आर्थिक वर्षमा एक लाख ३४ हजार लिटर दूध संकलन तथा बिक्री गरेको छ । सहकारीका ७५ जना शेयर सदस्य किसानले गाईभैँसी पालेर नियमित रूपमा बिहान–बेलुका संकलन केन्द्रमा दूध ल्याउने गरेका छन् ।
सहकारीका दुग्ध व्यवस्थापन कर्मचारी विजुन चोखालका अनुसार सिंगाबाट हरेक बिहान सवा ७ बजे दूध बेनीतर्फ पठाइन्छ र साढे ८ बजेसम्म उपभोक्ताको घर–भान्सामा दूध पु¥याउने व्यवस्था गरिएको छ । लामो समय विदेशमा बसेर फर्किएका चोखालले आफ्नै गाडी प्रयोग गरेर दूध ढुवानी तथा बजारीकरणमा सहयोग गर्दै आएका छन् ।
शुभकामना कृषि सहकारीको दुग्ध व्यवस्थापन समितिका संयोजक कोपिलाल पौडेलका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा ७८ जना शेयर सदस्य किसानबाट एक लाख ४८ हजार पाँच सय ९५ लिटर दूध संकलन गरी बिक्री गरिएको थियो । त्यस्तै आर्थिक वर्ष २०८०÷०८१ मा ७२ जना किसानबाट एक लाख तीन हजार नौ सय ७५ लिटर दूध संकलन भएको थियो ।
सहकारीमा दूध बिक्री गर्ने किसानले प्रत्येक महिनाको १० गतेसम्म आफ्नो खातामार्फत भुक्तानी पाउने गरेका छन् । शुभकामना सहकारीले संकलन गरेको दूध बेनी नगरपालिका–४ सिंगासहित वडा नं. ७ र ८ को बेनी बजार तथा जलजला गाउँपालिका–३, पर्वत बेनीमा बिक्री वितरण गर्दै आएको छ ।
दूध उत्पादन बढाउन शुभकामना कृषि सहकारीले गाईभैँसी खरिदका लागि किसानलाई ऋणसमेत लगानी गरेको छ । सहकारीका अध्यक्ष पौडेलका अनुसार साना किसान बैंकमार्फत अनुदानमा प्राप्त रकम तथा सहकारीको आफ्नै स्रोतबाट यस्तो लगानी गरिएको हो ।
बास्कुना कृषि सहकारीका सचिव खड्ग पुनका अनुसार सहकारीको दूध संकलन केन्द्र समावेशी भएकाले पनि किसानको सहभागिता बढेको छ । दूधको परिमाणभन्दा गुणस्तरलाई प्राथमिकता दिँदा राम्रो मूल्य पाउने भएपछि किसानहरू दूध उत्पादनतर्फ थप उत्साहित भएको उहाँको भनाइ छ ।
सहकारीमार्फत बजार सुनिश्चित हुन थालेपछि सिंगाका किसानका लागि पशुपालन केवल परम्परागत पेशा नभई नियमित आम्दानीको माध्यम बन्दै गएको छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्ने हो भने गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण सिंगाका किसानले प्रस्तुत गरेका छन् ।





