मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

देश शोकमा रहेका बेला तीजका कार्यक्रम स्थगित

देश शोकमा रहेका बेला तीजका कार्यक्रम स्थगित


  • ढाेरपाटन संवाददाता
  • भाद्र १५ २०८३, सोमबार

पर्वत / रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठुलो मानवीय तथा भौतिक क्षति भएको भन्दै पर्वतको विहादी गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गरेको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै आगामी हरितालिका तीजका अवसरमा आयोजना गर्ने भनिएको तीज गीत तथा नृत्य कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जनाएको छ । बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै विपद्को समयमा उत्सव तथा मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्नु उपयुक्त नहुने भएकाले कार्यक्रम स्थगित गरिएको गाउँपालिकाले जनाएको छ ।

यसैबिच, विहादी गाउँपालिकाले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय समेत गरेको छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितिको निर्णयअनुसार उक्त रकम उपलब्ध गराउने निर्णय भएको हो । गाउँपालिकाले विपद्बाट पीडित नागरिकको तत्कालीन राहत तथा पुनः स्थापनामा सहयोग पुग्ने उद्देश्यले सबैलाई विपद्को यस घडीमा सहयोग र सहकार्य गर्न आग्रह गरेको छ ।

यस्तै, देश नै शोकमा रहेका बेला सामाजिक सञ्जालमा नाचगानका भिडियो राख्नु उपयुक्त नहुने भन्दै बुहारी ग्रुप अफ नेपालले पनि तीज गीत प्रतियोगिता तत्कालका लागि स्थगित गरेको छ ।

ग्रुपले तीजको अवसरमा गीत गाएको भिडियो ह्वाट्सएपमार्फत पठाएर सहभागी हुने प्रतियोगिता आयोजना गर्ने तयारी गरेको थियो । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरिएको थियो । तर, देशमा विपद्का कारण ठुलो जनधनको क्षति भइरहेका बेला उत्सवमूलक सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गर्नु उचित नहुने निष्कर्षसहित प्रतियोगिता स्थगित गरिएको ग्रुपकी संयोजक लक्ष्मी तिवारीले बताइन् ।

‘हामीले तीजको अवसरमा गीत गाएको भिडियो ह्वाट्सएपमार्फत पठाउने र प्रथम हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार दिने गरी प्रतियोगिता आयोजना गरेका थियौँ । तर, अहिले देश नै शोकमा छ’, उनले भनिन्, ‘यस्तो अवस्थामा हामीले सामाजिक सञ्जालमा नाचगानका भिडियोहरू राख्नु उपयुक्त हुँदैन भन्ने लागेर प्रतियोगिता तत्कालका लागि स्थगित गरेका हौँ ।’

उनका अनुसार अहिलेको परिस्थितिमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै मनोरञ्जनभन्दा मानवीय संवेदना र सहयोगलाई प्राथमिकता दिन आवश्यक भएकाले प्रतियोगिता स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->