बागलुङ/मिनाम लाङ्घाली रेवस् मगर भेजा बागलुङ नगरपालिका–१ रामरेखाले भोटेकोशी बाढी पीडितको सहयोगार्थ १ लाख ८ सय २० रुपैयाँ सहयोग गरेका छन् ।
मगर भेजाले हालै रसुवा भोटेकोशी तथा आसपास क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित परिवारलाई राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग स्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा उक्त रकम जम्मा गरेका हुन् ।
समाजका पदाधिकारी, सदस्य र शुभेच्छुकहरुबाट संकलित रकम बाढी पीडितहरुको घाउमा थोरै भए पनि मलम बनोस् भन्ने हेतुले बैंकमार्फत कोषको खातामा रकम जम्मा गरिएको मिनाम लाङ्घाली रेवस् मगर भेजाका सचिव घम घर्तिले जानकारी दिए ।
प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा अकल्पनीय मानवीय तथा भौतिक क्षति भएको छ । यसबाट हजारौं नागरिकको दैनिक जीवनसमेत प्रभावित भइरहेको छ ।
समाजले बागलुङ बजारमा विभिन्न समयमा देउसी भैलो, सांस्कृतिक कार्यक्रम, सामाजिक सेवा र परोपकारी कार्यमा सक्रियता र सहयोग जनाउँदै आएको छ ।





