सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

आदर्श युवा क्लबद्वारा रसुवा बाढीपीडितलाई चार लाख सहयोग

आदर्श युवा क्लबद्वारा रसुवा बाढीपीडितलाई चार लाख सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०८३, मंगलबार

पोखरा/ गत भदौ १० गते रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि पोखरा महानगरपालिका–२९ स्थित आदर्श युवा क्लबले चार लाख रुपैयाँ राहत सहयोग घोषणा गरेको छ।

क्लबले आफूले सञ्चालन गर्दै आएको आदर्श कप प्रतियोगिताबाट बचत भएको रकममध्येबाट उक्त राशि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। मंगलबार आयोजित राहत रकम घोषणा कार्यक्रममा क्लबका अध्यक्ष पदम गुरुङले वडा सदस्य निर्मला पौडेलको रोहबरमा सहयोग रकम घोषणा गरेका थिए ।

क्लबले विगतमा तीजका अवसरमा दर खुवाउने कार्यक्रम गर्दै आए पनि यसपटक बाढीपीडितको राहतमा नै रकम खर्च गर्ने निर्णय गरिएको अध्यक्ष गुरुङले वताएका थिए । क्लबले खेलकुद गतिविधिसँगै सामाजिक तथा परोपकारी कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

उक्त अवसरमा वडा सदस्य निर्मला पौडेलले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै यो घडीमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै स्थानीय तह, संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकलाई समेत सहयोगका लागि अघि बढ्न आह्वान गरेकी थिईन ।

लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले अधिकारीले देश दुःखमा परेको समयमा क्लबले राहत सहयोग गर्ने निर्णय गरेकोमा धन्यवाद व्यक्त गरिन्। उनले सामाजिक संघसंस्थाले विपद्का समयमा देखाउने सहयोग र सहकार्यले पीडितलाई ठूलो राहत पुग्ने बताइन्।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेयले बाढीपहिरोजस्ता विपद्का घटनामा परेका नागरिकको तत्काल उद्धार र राहतमा सबै पक्ष जुट्नुपर्नेमा जोड दिए। विपद्का समयमा मानवीय सहयोग नै महत्वपूर्ण हुने भन्दै उनले आदर्श युवा क्लबले गरेको सहयोगको प्रशंसा गरे।

कार्यक्रममा क्लबका सल्लाहकार चेतबहादुर गुरुङ र पूर्वअध्यक्ष विजय गुरुङसहित विभिन्न टोल विकास संस्था, आमा समूह र सामाजिक संघसंस्थाका प्रतिनिधिहरू उपस्थित थिए भने कार्यक्रमको सञ्चालन क्लबका सचिव सन्तोष गुरुङले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->