पर्वत/भोटेकोशी नदीमा आएको बाढीबाट ज्यान गुमाएकाहरुप्रति फलेवास नगरपालिकाले शोक प्रस्ताव पारित गर्दै प्रभावितका लागि ३७ लाख राहत रकम पठाउने निर्णय गरेको छ ।
बाढी प्रभावितका लागि फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले एक महिनाको पारिश्रमिक प्रदान गर्ने घोषणा गरेका छन् । आफुले पाउने सुविधा बापतको सम्पूर्ण रकमबाट नगरका विभिन्न विद्यालयमा अक्षयकोष स्थापना तथा बिपन्न नागरिकको सेवामा खर्च गर्दै आएका तिवारीले यसपाली भोटेकोशी बाढी प्रभावितको राहतका लागि एक महिनाको सुविधा प्रदान गर्ने घोषणा गरेका हुन् । तिवारीले आफुले पाउने सुविधा बापतको सम्पूर्ण रकम अक्षयकोषका रुपमा बितरण गर्दै आएका छन् ।
मंगलबार बसेको चालु वर्षको तेस्रो कार्यपालिका बैठकले बाढी प्रभावितहरुलाई ३७ लाख रुपैयाँ राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले गरेको निर्णय अनुसार उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बैठकका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंले जानकारी दिए ।
उनका अनुसार फलेवासमा कार्यरत सम्पूर्ण कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीहरुको २ देखि ७ दिनसम्मको पारिश्रमिक कट्टा गरी प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न लागिएको हो । त्यसैगरी वडा सदस्यदेखि नगरप्रमुख सम्मको समेत २ हजारदेखि ४० हजारका दरले रकम कट्टा गरी राहत स्वरुप पठाउन लागिएको हो ।
कार्यपालिका बैठकले गरेको निर्णय अनुसार नगरप्रमुख तिवारीको एक महिनाको पारिश्रमिक कट्टा गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ । त्यस्तै नगर उपप्रमुख शोभा कुमारी क्षेत्रीले उक्त कोषमा १० हजार सहयोग गरेकी छन् । कार्यपालिका सदस्यहरुबाट प्रतिव्यक्ति ५ हजार र वडा सदस्यहरुबाट २ हजारका दरले रकम कट्टा हुनेछ ।
त्यसैगरी नगरपालिका र मातहतका कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी समेत श्रेणीबिहिन कर्मचारीको २ दिन, चौथो र पाचौं तहमा कार्यरत कर्मचारीको ५ दिनको तलब कट्टा गरी राहत कोषमा पठाउने निर्णय भएको छ । छैठौं, सातौं र आठौं तहमा कार्यरत कर्मचारीको ७ दिन बराबरको तलव बाढी प्रभावितलाई पठाइनेछ ।
त्यसैगरी विद्यालय सहयोगी, विद्यालय सहजकर्ता र विद्यालय कर्मचारीहरुको २ दिन, प्राथमिक तृतीय र द्वित्तीय श्रेणी तथा निमावि तृतिय श्रेणीका शिक्षकहरुको ५ दिन र प्रावि प्रथम, निमावि द्वित्तीय र मावि सबै तहका शिक्षकहरुको ७ दिन बराबरको तलव गरी करिब ३७ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने छ ।
उक्त रकम भदौ महिनाको सेवासुविधा तथा पारिश्रमिकबाट कट्टा गरी राहत कोषमा एकमुष्ठ जम्मा गरिने प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंले जानकारी दिए ।
विपदमा परी मृत्यु भएका नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकको परिवारलाई काजकृयाखर्च बापत प्रतिमृतकको परिवारलाई ५० हजारका दरले र घाइते व्यक्तिहरुलाई उचित उपचार खर्चबापतको रकम समेत प्रदान गर्ने निर्णय भएको छ ।





