मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

बाढी प्रभावितको आहतमा आमा समूहहरुको राहत

बाढी प्रभावितको आहतमा आमा समूहहरुको राहत


  • ढाेरपाटन संवाददाता
  • भाद्र १७ २०८३, बुधबार

बागलुङ/भोटेकोशीको भीषण बाढीबाट प्रभावित बनेकाहरुको उद्वार र राहत जुटाउन बागलुङका महिला समूहले अग्रसरता देखाएका छन् । महिला समूह र टोल विकास समितिमा आवद्व ज्येष्ठ र एकल महिलाले बुढ्यौलीको सहारा सामाजिक सुरक्षा भत्तासमेत बाढी प्रभावित क्षेत्रका लागि पठाउन थालेका हुन् ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखा जिल्लाका नागरिकहरु आहत हुँदा बागलुङका समृद्विमार्ग टोलविकास, चिप्लेटी, ओढारचौर, गलकोटको धौलागिरी, धुस्तुङ र शिवालय आमा समूहले राहत जुटाउन सक्रिय भएका छन् ।

समृद्धिमार्ग टोलविकास महिला समुहमा आवद्ध महिलाले तीज पर्व मनाउने रकममा सामाजिक सुरक्षा भत्ताबाट प्राप्त हुने रकमसमेत थपेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७१ हजार २ सय १६ रुपियाँ बैंकमार्फत जम्मा गरेका हुन् ।

‘‘समूहमा आवद्व ज्येष्ठ र महिला महिलाले आफ्नो सामाजिक सुरक्षा भत्ताबाट प्राप्त हुने रकम पीडित लागि सहयोग गरेका हौ’’ समूहका अध्यक्ष तारा श्रेष्ठले भन्नुभयो । राष्ट्रिय विपत्तिमा सरकारलाई साथ दिन सहयोग गरिएको श्रेष्ठले बताइन् ।

बागलुङ नगरपालिका वडा नं. ४ ओढारचौरस्थित देउराली महिला समूहले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि १ लाख ५१ हजार ५५ रुपियाँ सहयोग गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा पुगेर समूहले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई हस्तान्तरण गरेको हो ।

समूहकी अध्यक्ष विष्णुकुमारी शर्माले प्राकृतिक विपत्तिबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकोले प्रभावित नागरिकहरुको पीडामा मल्हम लगाउन सानो प्रयास स्वरुप आर्थिक सहयोग गरिएको बताइन् । संकटपूर्ण अवस्थामा आम नगरिक एकजुट भएर उद्वार र राहतको अभियानमा जुट्नुपर्ने शर्माको भनाई थियो ।

गलकोट नगरपालिका वडा नं. ३ हटियाको धौलागिरी आमा समूह स्याहालाले बाढी प्रभावितका लागि ३४ हजार १५ रुपियाँ सहयोग गरेको छ । तीज पर्वमा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्ने निर्णय गर्दै तीजको खर्च बाढी प्रभावितलाई सहयोग गरिएको समाजसेवी सुशिला बोहोरा खत्रीले जानकारी दिइन् ।

त्यस्तै, शिवालय आमा समूहले १ लाख ३८ हजार ७ सय २५ रुपियाँ र धुस्तुङ आमा समूहले ३० हजार रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो ।

यस्तै लायन्स क्लब अफ बागलुङले भोटेकोशी बाढीबाट प्रभावित नागरिक तथा परिवारको उद्धार, राहत र पुनस्थापनामा सहयोग पु¥याउने उद्देश्यले ३२ हजार रुपियाँ आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष भुपेन्द्र केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->