बागलुङ/शाक्य कल्याण समाज बागलुङले लाखे नाचबाट संकलन गरेको रकम बाढी पीडितलाई सहयोग गरेको छ । समाजले संकलन गरेको २८ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिदिन प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको हो ।
बुधबार जिल्ला दैविप्रकोप उद्दार समितिको बैठकमा उपस्थित भएका समाजका अध्यक्ष बाबुलाल शाक्य सहितका पदाधिकारीले उक्त रकम हस्तान्तरण गरेका थिए । उनीहरुले यो रकम शुद्द लाखे नाचमा उठेको भेटी भएको बताएका छन् ।
समितिले नगद सहयोग पठाउने निर्णय गरेपछि सबै संघसंस्थाले नगद दिन थालेका छन् । देउराली आमा समूहले १ लाख ५ हजार, बागलुङ नगरपालिका वडा नं. १३ का स्थानीयले संकलन गरेको १ लाख ११ हजार, गैसस महासंघले ७५ हजार रुपैयाँ, सिलाई व्यवसायी लगायतका साना समूहले पनि रकम संकलन गरेर प्रशासनमा बुझाएका छन् ।
सबै नगद रकमलाई प्रशासनले कोषमा जम्मा गरिदिएको हो ।





