पर्वत/पर्वतको फलेवास–४, मुडिकुवाका शिव लम्सालको परिवारका सदस्यमा आसा थियोः शिव बाढी आएको बेलामा कतै भागे होलान्; मोबाइलमा चार्ज सकियो होला । म त जोगिएर आएँ भन्दै उनी फर्केलान्; पीर नमान्नू है, म ज्यूँदै छु भन्दै फोन गर्लान् ।
परिवारको मुली शिवको फर्किने सम्भावना टर्दै गयो । उनीहरूको प्रतीक्षा निराशामा परिणत हुँदै गयो । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५, स्याफ्रुबेंसीमा रहेको एनआइएमबी बैंकको शाखामा कार्यरत ४८ वर्षीय लम्साल भदौ १० गते आएको विनाशकारी बाढीमै अस्ताए ।
परिवारले शिवको न सास भेट्टाउन सक्यो, न त शव नै । कार्यालयमा काम गरिरहेका बेला आएको बाढीले शिवलाई बगाएर लगेको खबर परिवारसम्म आयो । त्यसपछि सुरु भयो ६ दिन लामो खोजी । पोखरा, चितवन लगायतका ठाउँमा पुगेर बाढी तथा पहिरोपछि फेला परेका शव नियाल्दै परिवारले कतै शिवको अनुहार भेटिन्छ कि भनेर खोजिरह्यो ।
सम्भावित ठाउँहरूमा खोजियो, आफन्त र चिने, जानेकाहरूसँग सोधपुछ गरियो । सम्पर्कमा आउँछन् कि भनेर प्रतीक्षा गरियो, तर हरेक प्रयास असफल बने । शव भेटिए कम्तीमा भौतिक शरीरलाई अन्तिम बिदाइ गर्ने आसामा बसेको परिवारको यो कामना पूरा भएन । आफन्तले अस्पतालमा रहेका शवहरू नियाले । तर, जुन अस्पतालबाट पनि निराश भएर फर्किनुको विकल्प रहेन । शिव फर्केर आउने आशा र उनको शव भेटिएला भन्ने अपेक्षा दुवै कमजोर हुँदै गए ।
श्रीमती सृजनाको मनले भने अझै पनि कतैबाट शिव फर्केर आउलान् कि भन्ने आशा छाडेको थिएन । छ दिन लामो खोजीका क्रममा उनी फेला नपरेपछि अन्ततः परिवारले शिवको दिवंगत आत्माको चिर शान्तिका लागि कुशको शव बनाएर अन्तिम संस्कार गर्नुपर्ने बाध्यता आयो ।
लामो समयसम्म अनिश्चितताको पीडामा बसिरहन परिवारका लागि सम्भव भएन । त्यसपछि कुशबाट शिवको प्रतिमा बनाएर मंगलबार मोदीवेणी धाममा अन्त्येष्टि गरिएको छ । शिवको शरीर थिएन, उनको अनुहार थिएन, अन्तिम पटक छुन सकिने उनका भौतिक अंग नभए पनि परिवारले कुशको आकृतिमा आफ्नो मान्छेको अस्तित्व सम्झिएर अन्तिम बिदाइ ग¥यो । घाटमा जम्मा भएका परिवारका सदस्य, गाउँले र आफन्तका आँखा कुशकै शव हेरेर रसाएका देखिन्थे ।
शिवका २१ वर्षीय छोरा सस्मित बुबाको काजकिरियामा छन् । हिन्दू संस्कार अनुसार जुन छोराले बुबाको शवलाई काँध दिएर अन्तिम यात्रामा लैजानुपर्ने थियो, उही छोराले शवसमेत देख्न पाएनन् । अन्ततः कुशबाट बनाइएको आकृतिलाई नै बुबाको प्रतीक मानेर उनले काजकिरिया गरेका छन् ।
श्रीमती सृजनाको अवस्था अहिले पनि सामान्य छैन । श्रीमान् कहाँ छन् भनी अनिश्चिततामा दिन बिताएकी उनले अन्ततः श्रीमानको शवसमेत नदेखी अन्तिम संस्कार गर्नुपरेको छ । भाइ ओमकार भाउजूको अवस्था निकै दर्दनाक भएको सुनाउँछन् ।
‘भाउजू रुँदारुँदा शरीर नै फुलेको छ; आँखा सुन्निएका छन्; जति बेला पनि आँखा रसाइरहेका छन्,’ पौडेलले भने, ‘शोकले उहाँ अझै पनि बेहोस जस्तै अवस्थामा हुनुहुन्छ ।’ शिवलाई खोज्न आफूहरू सुरुदेखि नै ‘सास वा लास’मध्ये एउटा भेटिन्छ भन्ने आशामा दौडिएको ओमकारले जनाए ।
‘शिव मेरो फुपूको छोरा हो । हामीले सुरुदेखि नै सास कि लास भेटाउने आशामा धेरै ठाउँमा पुगेर खोज्यौँ,’ उनले भने, ‘उहाँ बाढीमा परेको थाहा थियो, तर त्यसपछिको अवस्थाका बारेमा केही थाहा पाउन सकिएन । अस्पतालमा पुगेर हरेक शव नियालेर पहिचान गर्ने प्रयास ग¥यौँ, तर शव भेट्टाउन सकेनौँ ।’
शिवको कुनै खबर नआएपछि परिवारमा बढ्दै गएको पीडा र सृजनाको अवस्था देखेर कुशको शव बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरिएको पौडेलले बताए । ‘शोकमा रहेको परिवारले लामो समयसम्म यो पीडामा बस्न सक्ने अवस्था थिएन । ‘उहाँको दिवंगत आत्माले शान्ति पाउँछ भनेर कुशको शव बनाएर भए पनि अन्तिम संस्कार ग¥यौँ,’ उनले भने ‘भाउजूको अवस्था देखेर छ दिनसम्म म पनि उहाँको नजिक पर्न सकिनँ । सातौँ दिनमा अन्तिम संस्कारबाट फर्किएपछि मात्रै अलिकति कुरा भयो ।’
शिवको परिवारमा बुबा गोपीनाथ, श्रीमती सृजना, छोरा सस्मित र एक छोरी छन् । शिवको निधनको खबरसँगै सिंगो मुडिकुवा गाउँ शोकमा डुबेको छ ।





