मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

भण्डारढिक खल्यार्ड तमु समाजद्वारा रसुवा बाढीपीडितलाई एक लाख १७ हजार सहयोग

भण्डारढिक खल्यार्ड तमु समाजद्वारा रसुवा बाढीपीडितलाई एक लाख १७ हजार सहयोग


  • ढाेरपाटन संवाददाता
  • भाद्र १८ २०८३, बिहिबार

पोखरा / भदौ १० गते रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि पोखरा महानगरपालिका–२९ स्थित भण्डाढिक खल्यार्ड तमु समाजले एक लाख १७ हजार छ सय २५ रुपैयाँ सहयोग गर्ने भएको छ ।

समाजले आफ्ना सदस्य तथा विभिन्न पदाधिकारीबाट संकलन गरी बचत भएको रकमबाट उक्त सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने समाजले जनाएको छ ।

बुधबार समाजको भवनमा आयोजित राहत रकम घोषणा कार्यक्रममा अध्यक्ष अरुणकुमार गुरुङसहित निवर्तमान अध्यक्ष ईश्वरबहादुर गुरुङ, उपाध्यक्ष भूपेन्द्र गुरुङ, सचिव कल्पना गुरुङ, सहसचिव विष्णुप्रसाद घले तथा सदस्यहरू लोकबहादुर गुरुङ, गोपाल गुरुङ, सीता गुरुङ, मायादेवी गुरुङ र सरिता गुरुङको उपस्थितिमा सहयोग रकम घोषणा गरिएको थियो ।

समाजका अध्यक्ष अरुणकुमार गुरुङले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताए उनले स्थानीय तह, संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकलाई समेत विपद् प्रभावितको सहयोगका लागि अघि बढ्न आह्वान गरे । संस्थाका सम्पूर्ण सदस्यबाट रकम संकलन गरी राहत सहयोग गर्ने निर्णय गरिएको र विपद्का समयमा गरिने सहयोग तथा सहकार्यले पीडितलाई ठूलो राहत पुग्ने उहाँले बताउनुभयो ।

समाजले टोल सरसफाई, खेलकुद, सामाजिक तथा परोपकारी गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा समाजका पदाधिकारी, सदस्य तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->