बागलुङ / नेपाली इसाई समाज बागलुङले भोटेकोशीको भीषण बाढीले पिडित बनेका रसुवा, नुवाकोट र धादिङ्गका प्रभावितलाई नगद राहत सहयोग गरेको छ । समाजले आफुहरुले ब्यक्तिगत रुपमा संकलन गरेको रु. २५ हजार रकम जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी मार्फत बाढी प्रभावितलाई पठाएको हो ।
भोटेकोशीको भिषणा बाढीले ठूलो जनधनको क्षति भएपछि विपदमा परेका प्रभावित तथा क्षतिग्रस्त परिवारको दुःखमा केही मात्रामा भए पनि मलहम लगाउन सकियोस् भन्ने उद्देश्यले राहत सहयोग हस्तान्तरण गरेको नेपाली ईशाइ समाज बागलुङ्गका अध्यक्ष एवम नव जीवन मण्डलीका पाष्टर प्रकाश जिसीले बताए ।
विपद्को कठिन घडीमा एकले अर्कालाई साथ र हातेमालो गर्नुपर्ने मानवीय भावनाका साथ, नेपाली इसाई समाज बागलुङको समन्वयमा बागलुङ बजारभित्र छरिएर रहेका विभिन्न चर्च तथा मण्डलीहरूले हातेमालो गर्दै मण्डलीका सदस्यहरूबाट भेटीस्वरूप उक्त रकम संकलन गरिएको हो।
राहत हस्तान्तरण गर्दै समाजले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको मानवीय दायित्व भएको बताएको छ। रकम सानो भए पनि यसले विपद्मा परेको परिवारको चोटमा केही मात्रामा भए पनि मलहम लगाउन सकोस्, दुःखको घडीमा उनीहरूले आफूहरू एक्लो नभएको अनुभूति गर्न सकून् भन्ने प्रार्थना तथा कामनासहित उक्त भेटी राहतका रूपमा हस्तान्तरण गरिएको अध्यक्ष जिसीले जानकारी दिए ।
समाजले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार विपद् तथा दुःखमा परेका नागरिकको सहयोगमा सक्दो साथ र सहकार्य गर्दै जाने उनले बताए ।





