मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

८३ प्रतिशत बजेट खर्च, बेरुजुमा सुधार

८३ प्रतिशत बजेट खर्च, बेरुजुमा सुधार


  • बालकृष्ण सुवेदी
  • भाद्र १८ २०८३, बिहिबार

बागलुङ /गलकोट नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा गर्दै चालु वर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षतामा भएको कार्यक्रममा गत वर्षका कामको समीक्षासंगै चालु आर्थिक वर्ष २०८३/०८४ का योजनालाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर जिसीले प्रस्तुत गरेको समीक्षा अनुसार नगरपालिकाले गत आर्थिक वर्षमा पुँजीगत र चालु बजेट गरी कुल ८३ प्रतिशत रकम खर्च गरेको छ । बेरुजु घटाउने दिशामा समेत नगरपालिकाले सुधार गरेको छ ।

शिक्षातर्फ विद्यालयमा स्मार्ट बोर्ड वितरणलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ । प्रविधिमैत्री शिक्षण सिकाइसँगै विद्यार्थीको नतिजामा सुधार आएको नगरपालिकाको दाबी छ । विद्यालयमा पुगेका प्रविधिको नियमित प्रयोग र त्यसबाट दीर्घकालीन शैक्षिक उपलब्धि हासिल गर्ने विषय भने आगामी दिनको चुनौतीका रूपमा रहेका छन् ।

स्वास्थ्य क्षेत्रतर्फ गलकोटले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । स्वास्थ्य संस्थाहरूको न्यूनतम सेवा मापदण्ड (एमएसएस) पालनामा गलकोट गण्डकी प्रदेशमै पहिलो बन्न सफल भएको नगरपालिकाले जनाएको छ । नागरिक आरोग्य केन्द्रलगायतका सेवामार्फत स्वास्थ्य पहुँच विस्तार गर्ने प्रयाससमेत अघि बढाइएको छ ।

कृषि तथा पशुपालनतर्फ उत्पादनमा आधारित अनुदानले किसानलाई प्रोत्साहन पुगेको निष्कर्ष छ । दूध र मासु उत्पादनमा गलकोट आत्मनिर्भर बनेको दाबी गरिएको छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्दै किसानको आम्दानी बढाउने चुनौती भने बाँकी छ ।

पूर्वाधारतर्फ सडक ढलान तथा स्तरोन्नतिलाई नगरपालिकाले निरन्तरता दिएको छ । स्थानीय नागरिकका लागि सडक विकासको महत्वपूर्ण आधार भएपनि निर्माणसँगै गुणस्तर र दीगोपनामा ध्यान दिनुपर्ने आवश्यकता नगरले महसुस गरेको छ ।

नगरपालिकाबाटै करदाता सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । बजार अनुगमनलाई समेत तीव्रता दिइएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख भरत शर्मा गैरेले सीमित स्रोत साधनका बीच नागरिकका अपेक्षा धेरै रहेको भन्दै आगामी दिनमा योजनालाई थप परिणाममुखी र दिगो बनाउने बताए । उपप्रमुख फमलाल निउरेले विगतको समीक्षा आगामी योजना सुधार गर्ने आधार भएको बताए ।

कार्यक्रमका सहभागीले स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले योजना छनोटदेखि कार्यान्वयन र मूल्याङ्कनसम्मका प्रक्रिया प्रभावकारी हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->