बागलुङ / बागलुङ ढोरपाटनकी भलिबल खेलाडी मिना सुनारले ‘पिपुल्स च्वाइस अवार्ड’ जितेकी छन् । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत दर्शक तथा खेलप्रेमीबाट प्राप्त मतका आधारमा प्रदान गरिने यस अवार्डमा सुनारले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् ।
अवार्डका लागि सुनारसँगै फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्सल आट्र्सका चर्चित खेलाडी रबिन्द्र ढाँट मनोनयनमा परेका थिए । तीमध्ये दर्शक तथा खेलप्रेमीको मतमा सबैभन्दा अगाडि रहँदै मिनाले अवार्ड आफ्नो नाममा पार्न सफल भएकी हुन् ।
उनको उत्कृष्ट खेल प्रदर्शन, मेहनत र सम्भावनालाई मूल्याङ्कन गर्दै उनलाई पिपुल्स च्वाइस अवार्डका लागि मनोनयन गरिएको थियो । ढोरपाटन नगरपालिका–२ बुर्तिबाङकी सुनारले भलिबलमार्फत जिल्लाको पहिचान राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म पुराउँदै आएकी छन् ।
सानै उमेरदेखि भलिबलप्रति आकर्षित भएकी मिनाको खेल यात्रा बागलुङबाट सुरु भएको हो । निरन्तरको मेहनत र उत्कृष्ट प्रदर्शनका कारण उनले राष्ट्रियस्तरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् । उनको खेल कौशल र सम्भावनालाई ध्यानमा राख्दै जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि समेत उनी नेपाली टोलीमा छनोट भएकी छन् ।
बागलुङका ग्रामीण क्षेत्रबाट भलिबल खेल्न सुरु गरेकी मिनाको यात्रा अहिले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीसम्म आइपुगेको छ । उनी कक्षा १२ मा अध्ययनरत छिन् । अध्ययन र खेलकुदलाई सँगसँगै अघि बढाइरहेकी उनले आगामी दिनमा नेपाली राष्ट्रिय टोलीमा आफ्नो स्थान अझ बलियो बनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको बताईन् ।





