बागलुङ/बागलुङमा डेंगीका बिरामी अत्याधिक बढेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार गत साउन १ देखि डेढ महिनाको अवधिमा बागलुङमा १ हजार ११ डेंगीका बिरामी पुष्टी भएका हुन् । यो तथ्यांक देशभरका जिल्ला र स्थानीय तहमध्ये धेरै हो ।
लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी बढ्नुमा निरन्तर झरी परेको र सरसफाई अभाव भएको पाइएको हो । कार्यालयकी मलेरिया इन्स्पेक्टर कमला थापाका अनुसार, यो संख्या नेपालका ७७ जिल्ला मध्येको सबैभन्दा धेरै हो । संक्रमणले यहाँका घरघरमा बिरामी भेटिएका छन् ।
धौलागिरी अस्पतालमा जाँच गर्दा ८ सय ५३ जना डेंगी देखिएको छ । अन्य नगर अस्पताल तथा स्वास्थ्य चौकीमा उपचार गराउने कतिपयको तथ्यांक संकलन भएको छैन ।
‘अहिले त अस्पतालमा ज्वरो आएका मात्रै बिरामी छन्’ धौलागिरि अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा किरण तिवारीले भने, ‘यो महामारीको रुपमा फैलिएको छ, अब सचेतनामार्फत रोकथाममा लाग्नुपर्ने छ ।’ डेंगी संक्रमण बढ्ने आशंकाले अस्पतालमा रगत परीक्षण गर्ने किटको पर्याप्त व्यवथापन गरेकोले सहज भएको उनले बताए ।
अस्पतालमा रगत परीक्षण गर्ने जनशक्ती अभाव भएपछि बागलुङ नगरपालिकाले समेत पठाएर काम गरिएको उनले बताए । डेंगी भएमा अत्याधिक ज्वरो, शरीर दुख्ने, कम्पन आउनेजस्ता लक्षण देखा पर्ने उनले बताए । अप्रत्यासित रुपमा संक्रमण बढेपछि खोज र नष्ट गर अभियानसंगै नागरिकलाई सचेतना कार्यक्रम समेत थालिएको छ । यो अभियानमा बागलुङ नगरपालिका र प्रदेश जनस्वास्थ्य कार्यालयले विशेष अग्रसरता देखाएको छ ।
बजार क्षेत्रका साना साना टोलमा पुगेर सरसफाइ गर्न नागरिकलाई प्रेरित गरिएको कार्यालयका प्रमुख प्रविण शर्माले बताए । त्यस्तै टायर पसल र मोटर ग्यारेज रहेका स्थानमा डेंगी सार्ने लामखुट्टे बढी भेटिने भएकोले सरसफाइमा ध्यान दिन विशेष अभियान चलाइएको हो । ‘सरसफाइ र सुरक्षा सर्तकता नै अहिलेको आवस्यकता हो’ शर्माले भने, ‘बिहान–बेलुकीको समयमा त झनै जोखिम छ ।’ लामो बाहुला भएको कपडा लगाउन, झाडीमा नजान र झुल टाँगेर मात्र सुत्न प्रेरित गरिएको उनले बताए ।
अस्पतालको तथ्यांक अनुसार अस्पतालमा अझै एक हजार किट ल्याएर परीक्षण गर्ने तयारी छ । ज्वरो आउने, टाउको दुख्ने र शरीर भारी भई काम गर्न नसक्ने भएमा तत्काल परीक्षणमा आउन भन्दै सचेतना अभियान चलाइएको हो ।
यो वर्ष बागलुङमा स्त्रब टाइफसका बिरामी समेत देखिन थालेका छन् । गत वर्ष ५ जनामा मात्रै देखिएको यो संक्रमण यो वर्ष ५५ जनामा देखिएको हो । ती मध्ये ४ जनाालई पोखरा रिफर गरिएकोमा अन्यलाई धौलागिरि अस्पतालमै उपचार गरिएको हो ।
यो रोग किर्ना जस्तो किराबाट सर्ने भएपनि लक्षण भने डेंगी जस्तै हुने गरेको छ । यी दुवै रोगका बिरामीलाई सेतो रगतको आवस्यकता पर्छ । अस्पतालमा सर्पदंश उपचार केन्द्र बनाउने गरी स्थापित सेतो रगत बनाउने पद्दतीले रोग उपचारमा सहज भएको छ ।





