बागलुङ/गाईजात्रा पर्वको अवसरमा बिहिबार बागलुङ बजारमा परम्परागत रोपाइँ नाच प्रदर्शन गरिएको छ । रोपाईं नाच करिब २ सय ३८ वर्षदेखि प्रचलनमा आएको मानिन्छ । गाईजात्राअन्तर्गत यहाँका नेवार समुदायले रोपाइँ नाच प्रदर्शन गर्छन् ।
धान रोपाइँको झल्को दिने रोपाईं नाचमा हलो जोत्ने, बाउसे गर्ने, रोपाहारले धान रोप्ने र असारे गीत गाएर रमाइलो गर्ने शैलीलाई प्रस्तुत गरिन्छ । परम्परागत संस्कृतिको संरक्षण र संवद्र्धन गर्न स्थानीय युवा पुस्ताको सक्रिय सहभागिता रहने गर्छ ।
नेवार युवाहरुको संस्था नेवा ल्याम पुचको आयोजना र नेपाल भाषा मंकाः खलको समन्वयमा रोपाईं नाच प्रदर्शन गरिएको हो । बागलुङ बजारको नारायणचोकबाट सुरु गरिएको रोपाईं नाच बजारका मुख्य चोकहरुमा प्रदर्शन गरिएको थियो ।
‘‘रोपाईं जात्रा मनाउन बाउसे तथा खेतालाहरू जम्मा भएर बाजागाजाका साथ असारे गीत गाउँदै र नाँच्दै रमाईलो गरिन्छ’’ नेवा ल्याम पुचका अध्यक्ष जय राजभाण्डारीले भने, ‘‘ऐतिहासिक महत्व बोकेको रोपाईं नाच धान रोपाईं सकेपछि मनाउने विगतदेखिको प्रचलनलाई युवाहरुको सहभागितामा निरन्तरता दिँदै आएका छौं ।’’
रोपाईं नाचमा सहभागि कलाकारहरूले समूहगत रूपमा विभिन्न भावभंङ्गीमा गीत तथा नृत्य प्रस्तुत गरेका थिए । खेतमा धान रोपेको खुशीयालीमा रमाईलो गर्दै रोपाईं जात्रा मनाउने चलन बसेको अध्यक्ष राजभण्डारीले जानकारी दिए ।
बागलुङ बजारमा बुधबारमात्रै नेवा ल्याम पुचले कटुवाल नाच प्रदर्शन गरेको थियो । कटुवाल नाचमा पनि युवा विभिन्न रूपका मुखुन्डो धारण गरेर मृदङ्गको तालमा नाच्ने र कटुवालको भूमिका निभाउनेले रोपाइँको सन्देश दिने चलन छ । हली, बाउसे, खेताल्नीलाई भोलिपल्ट हुने रोपाइँको सन्देश दिन कटुवाल नाच निकाल्ने चलन छ ।





