मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

बागलुङ बजारमा जोगी र घोडा नाच देखाइयो

बागलुङ बजारमा जोगी र घोडा नाच देखाइयो

जोगी नाचमा जोगीको भेष धारणा गरेर मृदङ्ग र झ्यालीको विभिन्न तालमा लस्कर लागेर कलाकारहरुले नृत्य प्रस्तुत गर्ने प्रचलन छ ।


  • ढाेरपाटन संवाददाता
  • भाद्र १९ २०८३, शुक्रबार

बागलुङ/नेवार समुदायले शुक्रबार बागलुङ बजारमा जोगी र घोडा नाच प्रदर्शन गरेका छन् । शाक्य कल्याण समाजको अगुवाईमा जोगी नाच र नेवा ल्याम्ह पुचको अगुवाईमा घोडा नाच प्रदर्शन गरिएको हो ।

शाक्य कल्याण समाजका अध्यक्ष बाबुलाल शाक्यका अनुसार, काठमाडौँ उपत्यकाबाट बसाइँसराइ सरेर बागलुङ आउँदा नेवार समुदायले जोगी नाच पनि सँगै लिएर आएका थिए । ‘‘जोगी नाचलाई हामीलाई हाम्रो पुर्खाको सम्पत्ति मानेर जगेर्ना गरेका छौं’’ शाक्यले भने, “सांस्कृतिक महत्व बोकेको तीन सय वर्ष पुरानो जोगी नाच बागलुङमा मात्रै अस्तित्वमा छ, अन्यत्र खासै नाचिएको पाइँदैन ।’’

जोगी नाचमा ताण्डव र हिँडाउने गरी दुई तालमा कलाकारलाई नचाइने समाजका सल्लाहकार मुकुन्द शाक्य बताउँछन् । पहिले जोगी नाचमा चार ताल रहेपनि दुई ताल हराइसकेका छन् । जोगी नाचमा जोगीको भेष धारणा गरेर मृदङ्ग र झ्यालीको विभिन्न तालमा लस्कर लागेर कलाकारहरुले नृत्य प्रस्तुत गर्ने प्रचलन छ ।

अधिकांश युवा पुस्ताका कलाकारलाई जोगी नाचमा समेटिएको थियो । पुस्तान्तरण नहुँदा ऐतिहासिक महत्व बोकेका जात्रा, पर्व र नाच लोप हुने संघारमा पुगेपछि नयाँ पुस्तालाई नाच सिकाउन र यसको महत्व बुझाउने काम समाज लागिपरेको छ ।

मनोरञ्जनसँगै सामाजिक एकता र सद्भावको सन्देश प्रवाह गर्ने उदेश्यले जोगी नाच नचाउने गरिएको शाक्यले बताए । ‘‘जोगी नाचले भाइचारा बढ्ने, आसुरी प्रवृत्तिको नास हुने र सहकाल आउने विश्वास गरिन्छ’’ शाक्यले भने ।

बागलुङका नेवार समुदायले जोगीसँगै अन्य परम्परागत नाचलाई पनि संरक्षण गर्दै आएका छन् । जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा निकाल्ने प्रचलन छ । भदौरे जात्राअन्तर्गत लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायत नाच तथा झाँकी प्रदर्शन गरिन्छ ।

यस्तै सांस्कृतिक महत्वको ‘घोडा नाच’ नेवा ल्याम्ह पुचको सक्रियतामा बागलुङ बजारका विभिन्न चोकमा देखाइएको हो । बागलुङ बजारमा यो नाच संरक्षण हुँदै आएको छ । कलाकारहरूले आफ्नो शरीरको दुवैतर्फ काठ बाँधेर कृत्रिम घोडाको आकृति तयार गरी घोडचढी बनेर यो नृत्य प्रस्तुत गरिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->