पर्वत/मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरि, अन्तरक्रिया एवम् साहित्य तथा सिर्जनामार्फत मानव बेचबिखनविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
प्रभातफेरिपछि आयोजित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख विष्णुराम विकले सबैको सहकार्यबाट मानव वेचबिखनको अन्त्य गर्न सकिने बताए ।
कर्मचारी, शिक्षक, प्रहरी, उद्योगी, समाजसेवी, आमा समूह, विद्यार्थीहरु सहभागी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले कानूनको प्रभावकारी कार्यान्वयनसँगै सचेतनामूलक कार्यक्रमबाट मानव बेचबिखन नियन्त्रण गर्न सकिने बताए ।
जिल्ला प्रशासन कार्यालयको आयोजना र एकीकृत सेवा कार्यालय पर्वतको समन्वयमा सम्पन्न कार्यक्रममा साहित्य र सिर्जनाका माध्यमबाट मानव बेचबिखनविरुद्ध सकारात्मक सन्देश प्रवाह गर्ने विद्यार्थीलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमले मानव बेचबिखन नियन्त्रणका लागि सरकारी निकायसँगै युवा, विद्यार्थी, साहित्यकार तथा आम नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको सन्देश दिएको छ ।
“प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता” भन्ने सन्देशसहित दिवस मनाइएको हो ।
२०६३ साल भदौ २० गते प्रतिनिधि सभाले मानव तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई अनुमोदन गरेको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।





