काठमाडौं / भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीले घर बगाएपछि परिवारले कयौँ दिनसम्म चण्डिका श्रेष्ठको खोजी गरे तर उनी कहिँ कतै फेला परिनन्। बाढी आएको आठ दिनसम्म कुनै अत्तोपत्तो नलागेपछि परिवारले कुशको शव बनाएर उनको काजकिरिया सुरु गरिसकेको थियो।
मृत्यु संस्कारकै बीच बाढीको ११ औँ दिनमा प्रहरीले ६४ वर्षीया चण्डिकालाई जीवितै उद्धार गरेका छन्। चण्डिका नुवाकोटको विदुर नगरपालिका-१० की हुन्। उनलाई सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुमन विकको कमान्डमा खटिएको टोलीले उद्धार गरेको हो।
बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट उनलाई अर्धअचेत अवस्थामा निकालिएको थियो। चण्डिकालाई आफ्नै घरको चौथो तलबाट उद्धार गरिएको हो। वेत्रावतिस्थित घरमा श्रीमान-श्रीमती बस्थे। छोराहरू काठमाडौंमा थिए।
उद्धारपछि हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेकमा प्रारम्भिक उपचार गरेर उनलाई अहिले काठमाडौँको छाउनीस्थित सैनिक अस्पतालमा ल्याइएको छ। सैनिक अस्पतालमा भेटिएका उनका सम्धी रमेशमान श्रेष्ठका अनुसार बाढीले बगाएको घर त्रिशूलीको किनारमा पुगेर अड्किएको थियो।
‘हामीले आठौँ दिनसम्म धेरै खोज्यौँ,’ उनले सञ्चारकर्मीहरूसँग भने, ‘कहीँ कतै नभेटेपछि सम्भव छैन भनेर आश मार्यौँ।’ उद्धार टोली समेत पुग्न नसकेपछि निराश भएर परिवारजनले उनको आशा मारिसकेका थिए।
‘परिवारका सबैको सल्लाहमा कुशको शव बनाएर काजकिरिया र दाहसंस्कार गर्ने निधो भयो,’ रमेशमानले भने। बाढीको ११ औँ दिनमा चण्डिका जीवितै फेला परेको खबर आएपछि परिवारका सबै खुसीले रमाएका छन्।
छोरा आशिषले पनि दुई पटक नुवाकोट पुगेर आमाबुवको खोजी गरेका थिए। उनी काठमाडौंको स्वयंभूस्थित सानो भर्याङमा बस्दै आएका छन्।
‘ज्वाइँ दुई पटक आमाबुवालाई खोज्न जानुभएको थियो। वेत्रावतीमा रहेको घरको आधा भाग बाढीले सारेर त्रिशूलीमा पुर्याएको भेटियो। नमस्ते गरेको घरको छत भेटेपछि आमाबुवा पाइन्छ कि भनेर जानुभएको थियो। बाढीको दलदल भएको कारण जानै सकिएन,’ श्रेष्ठले भने, ‘वेत्रावतीमा लाश गनाएर जानै सकिने अवस्था नै छैन भन्नुभएको थियो। पहिलो पटक घर नजिकै पुगेको बेला त्रिशूलीमा फेरि ठूलो बाढी आउँदै छ भनेपछि फर्किनुभएको थियो। खोजेर नपाएपछि निराश भएर ज्वाइँ फर्कनुभएको थियो।’
आशिष नुवाकोटबाट फर्र्किएर दाजुभाइ र आफन्तसँग सल्लाह गरेका थिए। आमाबुवालाई अब भेट्न नसकिने सबैको निश्कर्ष थियो।
‘उहाँको घर परिवारको सबै मानिस जम्मा भएर कुश बनाएर भए पनि दाहसंस्कार गरौं भनेर छलफल भयो। मेरो मनले चाहिँ मानेको थिएन। घरमै भएको भए पानी चाउचाउ खाएर भए पनि माथितिर गएर बसेको होला। खोजौ भन्ने मलाई लागेकै थियो,’ श्रेष्ठले भने, ‘हिजोमात्रै उहाँको नातिले दिनभर श्रीकृष्णको भजन गाएको थियो। आज ठूलो खुशी प्राप्त भएको छ।’
सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुमन विकको नेतृत्वमा खटिएको एपीएफ र नेपाल प्रहरीको टोलीले चन्डिकाको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। शनिबार पनि सशस्त्र र नेपाल प्रहरीको टोली भत्किएका घरका सरसामान निकाल्न सहयोग गर्न त्यहाँ पुगेका थियो।
विदुर नगरपालिका-१० का वडाध्यक्ष नेपालले भने बाढीले खण्डहर बनाएको घरमा हेलिकप्टरमार्फत उद्धारकर्ता लैजान सकेको भए चाडै उद्धार हुने देखिएको बताए। वडा कार्यालयको टोलीले घर-घर पुगेर उद्धार गर्नका लागि स्रोत साधनमा संघीय सरकारले पहुँच नदिएको नेपालले गुनासो गरे।
‘उद्धारको नेतृत्व गरिरहेको नेपाली सेनाले आकाशमा मात्रै हेलिकप्टर उडायो। खण्डहर बनेको घरमा खोजी गर्नेतर्फ ध्यान दिएन। ध्यान नपुगेको पनि हुनसक्छ। हामीले यस्तो सल्लाह दिने ठाउँ नै छैन,’ वडाध्यक्षगणेशकुमार नेपालले भने, ‘ठाडो रहेको घरमा कोही हुनुहुन्छ भन्ने सोध्न पाएको भए धेरै मानिसको जीवित उद्धार हुने रहेछ भन्ने अहिलेको घटनाले देखाएको छ। पक्कै उहाँहरुले पनि पाठ सिक्नुभयो होला।’
भदौ १० को बाढीले वेत्रावति बजार पूरै बगाएको छ। वेत्रावतीमा करिब दुई सय घर थिए। आठ-दश वटा खण्डहर घरबाहेक केही बाँकी छैन।





