बागलुङ/घोडा नाच प्रदर्शनसँगै बागलुङ बजारमा भदौरे जात्रा सकिएको छ । बागलुङका नेवार समुदायको अगुवाईमा जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा (बर्खे नाच) निकाल्ने चलन छ ।
जात्राअन्तर्गत लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडा लगायतका नाच तथा झाँकी प्रदर्शन गरिन्छ । घोडा नाच देखाएसँगै भदौरे जात्रा सकिएको नेवाः ल्याम पुच अध्यक्ष जय राजभण्डारीले जनाए । नेपाल भाषा मंकाः खल, नेवाः ल्याम पुच र शाक्य कल्याण समाजको सक्रियतामा यी नाच देखाउने गरिन्छ ।
३ सय वर्षअघि भक्तपुर, धुलिखेल र भादगाउँबाट बागलुङमा भित्रिएका नेवार समुदायले भदौरे जात्राको प्रचलन बसालेको प्राज्ञ प्रेम छोटा बताउँछन् । भाइचारा, मेलमिलाप, सामाजिक सद्भाव र मनोरञ्जनका रूपमा यी जात्रालाई लिइन्छ ।
कृष्णाष्टमीका दिन निकालिने घोडा नाचमा मानिसलाई घोडाको आकृति दिएर टिन र झ्यालीको तालमा जिस्काउँदै बजार परिक्रमा गराउने चलन रहेको नेवाः ल्याम पुच अध्यक्ष राजभण्डारीले सुनाए । हली, बाउसे, खेताल्नीलाई भोलिपल्ट हुने रोपाइँको सन्देश दिन कटुवाल नाच निकाल्ने गरिन्छ ।
जोगी नाचमा जोगीको भेषमा सजिएर बाजाको विभिन्न तालमा लस्कर लागेर नाच्ने प्रचलन रहेको शाक्य कल्याण समाज अध्यक्ष बाबुलाल शाक्यले बताए । जोगी नाचले सामाजिक एकता, आसुरी प्रवृत्तिको नाश हुने र सहकाल आउने विश्वास गरिन्छ । गाईजात्राको पहिलो दिन निकालिने तायामचाः र बास्सा नाच दिवङ्गत आफन्तको सम्झना र मोक्ष प्राप्तिको कामनासहित निकाल्ने गरिन्छ । बास्सा नाचमा देवी, देवताको वेषभूषा र बान्कीमा सजिएर भगवान् राम, कृष्ण, विष्णु आदिका लीला प्रदर्शन गर्ने चलन छ ।
पछिल्लो समय जात्राको रौनक हराउँदै गएपनि संस्कृति र परम्परा जोगाउन नेवार समुदाय लागिपरेको नेपाल भाषा मंकाः खलका अध्यक्ष जयराम भारी बताउँछन् ।





