पोखरा/ साविकको लेखनाथ नगरपालिका पुनस्र्थापनाको माग गर्दै पोखरा महानगरपालिकाका एक तिहाइ जनप्रतिनिधिले विशेष नगरसभा बैठकको माग गरेका छन्।
उनीहरुले महानगर प्रमुख धनराज आचार्यसमक्ष हस्ताक्षरसहितको पत्र बुझाउँदै प्रक्रिया अघि बढाएका हुन्।
पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष ढकनाथ कँडेल र वडा नम्बर २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङको अगुवाइमा प्रमुख आचार्यलाई उक्त पत्र बुझाइएको पत्रमा विशेष नगरसभा बोलाई लेखनाथ नगरपालिका पुनर्स्थापनाको प्रस्ताव पारित गर्न माग गरिएको छ। नगरसभाबाट प्रस्ताव पारित गरी सम्बन्धित निकायमार्फत केन्द्र सरकारसमक्ष पठाउनुपर्ने उनीहरूको माग छ।
पत्र बुझ्दै महानगर प्रमुख धनराज आचार्यले कानुनी परामर्श लिई आवश्यक प्रक्रिया पूरा गरेर विशेष नगरसभा बोलाउने प्रतिबद्धता जनाएका छन्। मागअनुसारको प्रस्ताव नगरसभामा पेश गर्ने उनले बताए। कास्की जिल्लाको वर्तमान स्थानीय तह संरचनालाई पुनरावलोकन गर्नुपर्ने भन्दै महानगर प्रमुख आचार्यले कास्कीमा हाल ५ वटा स्थानीय तह रहेकोमा त्यसलाई बढाएर कम्तीमा १० वटा पालिका बनाउन पहल गरिरहेको दावी गरे ।
धेरै स्थानीय तह हुँदा स्थानीयस्तरमा बजेट तथा स्रोतसाधनको पहुँच र सुनिश्चितता बढाउन सहयोग पुग्ने उनले बताए। सोही अवधारणाअनुसार कास्कीमा थप पालिका गठनको माग केन्द्र सरकारसमक्ष प्रस्तुत गर्ने तयारी भइरहेको आचार्यले जानकारी दिए। लेखनाथ क्षेत्रको दीर्घकालीन र समृद्ध विकासका लागि छुट्टै नगरपालिका आवश्यक रहेको लेखनाथ नगरपालिका पुनर्स्थापना अभियानका संयोजक एवं लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिग्राम पौडेलले बताएका छन्।






