बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

बुहारी ग्रुपको तीज गीत भिडियो प्रतियोगितामा गुल्मीको स्ट्रङ लेडिज ग्रुप प्रथम

बुहारी ग्रुपको तीज गीत भिडियो प्रतियोगितामा गुल्मीको स्ट्रङ लेडिज ग्रुप प्रथम

देशमा विपत्तिको अवस्था रहे पनि आफ्नो कला, संस्कृति र प्रतिभालाई प्रस्तुत गर्दै प्रतियोगितामा उत्साहपूर्वक सहभागी भएका सम्पूर्ण समूहलाई आयोजकले धन्यवाद तथा आभार व्यक्त गरेको छ ।


  • ढाेरपाटन संवाददाता
  • भाद्र २४ २०८३, बुधबार

पर्वत / बुहारी ग्रुप अफ नेपालद्वारा आयोजित ‘खुला तीज गीत भिडियो प्रतियोगिता–२०८३’ मा गुल्मीको स्ट्रङ लेडिज ग्रुप प्रथम भएको छ ।

प्रतियोगितामा सिटिजन लाइफ इन्स्योरेन्स, पर्वत द्वितीय, साथी समूह कुश्मा, पर्वत तृतीय तथा न्यु प्रगति महिला समूह, कुश्मा, पर्वतले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम हुने स्ट्रङ लेडिज ग्रुपले २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै द्वितीय हुने सिटिजन लाइफ इन्स्योरेन्स पर्वतले १५ हजार, तृतीय हुने साथी समूहले १० हजार तथा सान्त्वना स्थान प्राप्त गर्ने न्यु प्रगति महिला समूहले ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

देशमा विपत्तिको अवस्था रहे पनि आफ्नो कला, संस्कृति र प्रतिभालाई प्रस्तुत गर्दै प्रतियोगितामा उत्साहपूर्वक सहभागी भएका सम्पूर्ण समूहलाई आयोजकले धन्यवाद तथा आभार व्यक्त गरेको छ । प्रतियोगिताले तीजको मौलिकता, सामाजिक सन्देश तथा बदलिँदो परिवेशलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी भिडियोको मूल्याङ्कनका लागि चार सदस्यीय निर्णायक समिति गठन गरिएको थियो । जसको संयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर रहेकी थिइन् । समितिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशकी अध्यक्ष माया गुरुङ र बुहारी ग्रुप अफ नेपालकी संस्थापक अध्यक्ष लक्ष्मी तिवारी र बुहारी ग्रुप अफ नेपालका सचिव पूजा कार्की शर्मा निर्णायक सदस्यका रूपमा रहेका थिए ।

प्रतियोगिताको भिडियो मूल्याङ्कनमा निर्णायक मण्डलको निर्णयलाई ८० प्रतिशत तथा बुहारी ग्रुप अफ नेपालको फेसबुक पेजमा प्राप्त लाइक, कमेन्ट र शेयरलाई २० प्रतिशत आधार बनाइएको संयोजक लक्ष्मी तिवारीले जानकारी दिइन् ।

प्रतियोगिताले तीज पर्वको सांस्कृतिक मौलिकता संरक्षणसँगै सामाजिक सन्देश प्रवाह गर्ने र नेपाली कला तथा प्रतिभालाई प्रोत्साहन गर्ने लक्ष्य राखेको ग्रुपकी संयोजक तिवारीले बताइन् । प्रतियोगितामार्फत नेपालमा रहेका नेपालीसँगै विदेशमा रहेर तीज मनाइरहेका नेपालीलाई समेत जोड्ने प्रयास गरिएको उनको भनाइ छ ।

‘गत भदौ १० गतेदेखि हालसम्म नेपालका विभिन्न भू–भागमा आएको विनाशकारी बाढीका कारण देश शोक र विपत्तिमा परेको छ । यस्तो दुःखद र संवेदनशील परिस्थितिमा यो कार्यक्रमलाई निरन्तरता दिनु हाम्रो कुनै रहर वा उत्सव मनाउने चाहना पटक्कै थिएन’, उनले भनिन्, ‘तर विषम परिस्थितिका बाबजुद देशभरिबाट सहभागी टिमहरूले देखाउनुभएको अथाह उत्साह, उहाँहरूको दुःख, कडा मेहनत र ठुलो लगानीलाई मध्यनजर गर्दै, त्यसको उच्च सम्मान गर्नु आयोजकका नाताले हाम्रो परम कर्तव्य बन्न गयो ।’

नेपालको मौलिक कला र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ सञ्चालित यस प्रतियोगिताको अन्तिम नतिजा डिजिटल माध्यम (अनलाइन) र निर्णायक मण्डलको मतलाई आधार मानी पूर्ण रूपमा निष्पक्ष र पारदर्शी ढङ्गले तयार पारिएको उनको भनाइ छ । निर्णायकहरुले प्राविधिक तथा साङ्गीतिक दृष्टिकोणबाट मूल्याङ्कन गरेर उक्त नतिजा सार्वजनिक गरिएको संयोजक तिवारीले बताइन् । अनलाइन मूल्याङ्कनका क्रममा केही सहभागी टिमहरूको भिडियोमा अस्वाभाविक रूपमा लाइक बढेको पाइएकाले प्रतियोगिताको गरिमा र निष्पक्षतालाई ध्यानमा राख्दै प्राविधिक टोलीमार्फत त्यस्ता अस्वाभाविक लाइकहरूलाई फिल्टर गरी त्यस बाट आएको प्राप्ताङ्क समावेश नै नगरी पूर्ण रूपमा पारदर्शी नतिजा तयार गरिएको ग्रुपले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->