पोखरा/ पर्यटनको राजधानी पोखरामा अघि सारिएका दुई महत्वपूर्ण परियोजना निर्माणको प्र्रक्रियामा गएका छन् । टेण्डर आव्हानसंगै फेवाताल अर्गानिक ट्रेल तथा पञ्चासे इको डेभलेपमेन्ट र अत्याधुनिक आपत्कालिन सञ्चालन केन्द्र बन्ने भएका हुन् ।
आजको पत्रपत्रिकामा टेन्डर आव्हान भएपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको विकास यात्रामा अर्को खुसीको खबर भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । ‘हामीले अघि सारेका दुई महत्वपूर्ण परियोजनाको टेण्डर आह्वान भएको छ,’ उनले लेखेका छन्’ ‘हरित पोखरा, सुरक्षित पोखरा र समृद्ध पोखरा निर्माणको यात्रामा आज दुई महत्वपूर्ण पाइला थपिएका छन् । एउटा परियोजनाले पोखराको प्रकृति र पर्यटनलाई नयाँ उचाइ दिनेछ, अर्कोले विपद्का बेला पोखरालाई अझ सुरक्षित र सक्षम बनाउनेछ ।’
फेवा ताल अर्गानिक ट्रेल तथा पञ्चासे इको डेभलपमेन्ट परियोजनामार्फत प्रकृति र जैविक विविधताको संरक्षण गर्दै पदमार्ग, दृश्यावलोकन स्थल, विश्रामस्थल, सुरक्षा संरचना तथा पर्यावरणमैत्री पर्यटकीय पूर्वाधार विकास हुनेछ । यो करिव ५२ करोडको लागतमा निर्माण हुने छ ।
यसैगरी पोखरा–२७ साबिक लेखनाथ नगरपालिका कार्यालय भएको परिषरमामा ३२ करोडको लागतमा अत्याधुनिक आपतकालिन सञ्चालन केन्द्र बन्ने भएको छ । यस केन्द्रले विपद्को समयमा सूचना, समन्वय, उद्धार तथा राहत व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ ।





