पोखरा/ जिल्लाका निजी तथा सार्वजनिक कलेजको सञ्चालन र व्यवस्थापनबारे जिल्ला शिक्षा समिति कास्कीले कलेज सञ्चालकसँग छलफल गरेको छ। शिक्षा नीति र नियमावलीअनुसार कलेज सञ्चालन नभएको गुनासो बढेपछि समितिले सञ्चालकहरूलाई एउटै ठाउँमा राखेर समस्या र समाधानबारे छलफल गरेको हो।
कार्यक्रममा जिल्ला शिक्षा समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शिक्षा क्षेत्रमा नियम र विधि पालना अनिवार्य रहेको बताए। ‘शिक्षा दिने संस्था झनै मर्यादित र अनुशासित हुनुपर्छ,’ उनले भने। पौडेलले कलेज सञ्चालकका समस्या सुनेर समाधान खोज्ने उद्देश्यले छलफल आयोजना गरिएको बताए। उनले विद्यमान कानुन र नियमको बर्खिलाप हुने गरी कुनै पनि शिक्षण संस्था सञ्चालन गर्न नहुनेमा जोड दिए।
छलफलमा कलेज सञ्चालकहरूले भने आफूहरूले भोग्दै आएका कानुनी, प्रशासनिक र व्यवहारिक जटिलता खुलेर राखे। उनीहरूले कलेज सञ्चालनमा देखिएका समस्या र समाधानका उपायबारे समितिको ध्यानाकर्षण गराए। कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य र जिल्ला समन्वय अधिकारी नवराज बराललगायतको सहभागिता थियो।
जिल्ला शिक्षा समिति कास्कीका संयोजक पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख लोकनाथ आचार्यले गरेका थिए।





