शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

रसुवा बाढी प्रभावित बालबालिकाको साथमा पर्वतका बालबालिका

रसुवा बाढी प्रभावित बालबालिकाको साथमा पर्वतका बालबालिका

कवितामार्फत् हौसला र सहयोगको सन्देश


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०८३, शुक्रबार

पर्वत/  पर्वतका बालबालिकाले हालै रसुवामा आएको बाढीबाट प्रभावित बालबालिकालाई कविता मार्फत् सकारात्मक सन्देश, हौसला र सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।

विपद्बाट प्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य तथा बालअधिकारको संरक्षण गर्दै उनीहरूको सुन्दर भविष्य निर्माणमा सबैले योगदान गर्नुपर्ने सन्देश विद्यार्थीहरूले कवितामार्फत् दिएका हुन् ।

एकीकृत सेवा कार्यालय पर्वतले राष्ट्रिय बाल दिवसको अवसरमा आयोजना गरेको जिल्लास्तरीय कविता वाचन प्रतियोगितामा सहभागी विद्यार्थीले रसुवा बाढीबाट प्रभावित बालबालिकाप्रति सहानुभूति, सहयोग र अपनत्वको भावना प्रकट गरेका थिए ।

प्रतियोगितामा नारायण माध्यमिक विद्यालयकी छात्रा रितु फकामी पुन प्रथम भएकी छन् । यसैगरी काफलचौर माध्यमिक विद्यालयका खुसीमान गिरी द्वितीय, शिवालय माध्यमिक विद्यालयकी गायत्री पौडेल तृतीय तथा कालिगण्डकी एकेडेमीकी प्रस्तुती पौडेल सान्त्वना भए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख विदुर शर्मा आचार्यले हरेक बालबालिकाको अधिकार संरक्षण गर्दै विपद्बाट प्रभावित बालबालिकाको मनोबल बढाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले बालबालिकालाई सिर्जनात्मक माध्यमबाट सामाजिक विषयमा अभिव्यक्त हुने अवसर दिनु आवश्यक रहेको उल्लेख गरे ।

एकीकृत सेवा कार्यालय पर्वतका प्रमुख जीवन पौडेलले प्रतियोगिताले बालबालिकामा सिर्जनात्मकता, आत्मविश्वास तथा अभिव्यक्ति क्षमताको विकास हुनुका साथै विपद्बाट प्रभावित बालबालिकाप्रति सहानुभूति, सहयोग र अपनत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

जिल्ला बाल अधिकार समिति पर्वतका अध्यक्ष नविन जिसीले पर्वतलाई बालमैत्री जिल्ला स्थापना गर्न सबैको सहकार्य आवश्यक रहेको बताए । उनले बालबालिकाको सुरक्षा र संरक्षणका विषयमा सबै सरोकारवाला निकाय संवेदनशील हुनुपर्नेमा जोड दिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः ५ हजार, ३ हजार ५ सय, २ हजार ५ सय र १ हजार ५ सय रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गतका विद्यालयका विद्यार्थी सहभागी प्रतियोगिता जिल्ला बाल अधिकार समिति पर्वत र जिल्ला बाल सञ्जाल पर्वतको समन्वयमा सम्पन्न भएको हो । जिल्ला बाल सञ्जाल पर्वतकी अध्यक्ष निर्जला खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बाल सञ्जालकी सरस्वती परियारले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->