बागलुङ/बागलुङ बहिरा संघले धवलागिरी बहिरा आवासिय माविको छात्रावासमा किशोरी मृत्यु घटनाको निष्पक्ष छानविन गर्न माग गरेको छ । गत शुक्रबार छात्रावासमा बसेर अध्ययनरत छात्राको मृत्युको घटनापछि संघले सार्वजनिक रुपमा सबैलाई अपिल गरेको हो ।
बहिरा भएका कारण आफ्नो समस्या बाहिर ल्याउन नसकेको, त्यस बारेमा सरोकारवालाको ध्यान नगएको कारण देखाइ छानविनको माग गरेको अध्यक्ष अमृत शर्माले बताए ।
उनीहरुले प्रहरी कार्यालयलाई पनि निवेदन दिएर निश्पक्ष छानविन गरिनुपर्ने बताएका छन् । कम्युटर इन्जिनियरिङको तेस्रो वर्षमा अध्ययनरत मायादेवी रावत गत शुक्रबार मृत भेटिएकी थिइन् । बेलुकीको खाना खाएर छात्राबासमा सुतेकी रावत राती ३ बजे झुण्डिएको अस्थामा भेटिएकी थिइन् ।
उक्त कोठामा सँगै सुत्ने १८ जनालाई प्रहरीले बयान लिइरहेको छ । संघले भने बहिरा व्यक्तिहरूको सञ्चार, सुरक्षा तथा आफ्ना समस्या व्यक्त गर्ने अवस्था सामान्य व्यक्तिभन्दा फरक र संवेदनशील हुने भएकोले सोही अनुसारको छानविन र सोधपुछ गर्न पनि माग गरेको हो । साथै विद्यालयको छात्रावास जस्तो सुरक्षित र संरक्षण प्रदान गर्नुपर्ने स्थानमै विद्यार्थीको ज्यान जानु अत्यन्त गम्भीर विषय भएको संघले जनाएको छ ।
घटना आत्महत्या नै हो वा कसैको दबाब, दुव्र्यवहार, हिंसा, मानसिक यातना, लापरबाही वा अन्य कुनै आपराधिक कारणबाट भएको हो भन्ने विषय निष्पक्ष र वैज्ञानिक अनुसन्धानबाट स्पष्ट हुन अत्यन्त आवश्यक छ भन्दै शर्माले संचार माध्यमलाई पनि यो विषय उठान गरेर सहयोग गर्न माग गरेका छन् ।
संघले १० बुँदे माग गर्दै घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र, गम्भीर र प्रभावकारी अनुसन्धान गर्नुपर्ने, घटनास्थलबाट प्राप्त सम्पूर्ण प्रमाण सुरक्षित गर्न, उनी विरुद्द कुनै प्रकारको धम्की, दबाब, दुव्र्यवहार वा मानसिक यातना दिइएको भएपनि पत्ता लगाउनुपर्ने माग गरिएको छ ।
अनुसन्धानको नाममा घटनालाई दबाउने, प्रमाण नष्ट गर्ने काम नगर्न पनि आग्रह गरिएको छ । अनुसन्धानमा दक्ष दोभाषे प्रयोग गर्न पनि सुझाव दिइएको छ ।
घटनाबारे छानविन शुरु भएको प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए । विद्यालयका शिक्षक रेशम श्रीषले पनि घटना अनौठो भएको बताए । राती सँगै सुत्ने बेलासम्म सामान्य भएको र मृतकले रातीसम्म ल्यापटप चलाएको पाइएको बताए ।
जुम्ला घर भएकी ती छात्रा तीन वर्षदेखि यहाँ कार्यरत थिइन् । उनी पढ्न आउँदा बाहिर बस्न खोजेको तर विद्यालयको नियमअनुसार छात्राहरु छात्रावासमै बस्ने नियम अनुसार बसेको श्रीषले उल्लेख गरे ।





