बागलुङ/२० वर्षदेखि निमित्तको भरमा चलेका विद्यालयले स्थायी प्रधानाध्यापक पाउने भएका छन् । बागलुङ नगरपालिका भित्रका ८५ विद्यालयमा स्थायी प्रधानाध्यापक नियुक्तिको बाटो खुला भएको छ ।
बागलुङ नगरपालिकाले यो पटक सबै विद्यालयमा न्यूनतम एक जना पर्ने गरी स्थायी शिक्षक दरबन्दी कायम गरेको छ । पहिलो चरणमा विद्या मन्दिर माविमा छविरमण रेग्मी प्रधानाध्यापक नियुक्त भएका छन् । २ दिनसम्म नगरपालिकाले लिएको परीक्षा र उनको शैक्षिक योजना पास भएपछि उनी स्थायी प्रधानाध्यापक बनेका हुन् ।
नगरपालिकाले सबै विद्यालयमा स्थायी प्रधानाध्यापकका लागि विज्ञापन गरिसकेको छ । शैक्षिक योग्यता पुगेका धेरै शिक्षक भए पनि दरबन्दी अनुसारका स्थायी शिक्षक नभएका रामरेखा स्थित धवलागिरी बहिरा आवासीय मावि जस्तै अधिकांश विद्यालयमा अस्थायी र तल्लो तहको दरबन्दीका शिक्षक नै प्रधानाध्यापकको भूमिकामा छन् ।
बागलुङ नगरपालिकाका ३४ माध्यामिक विद्यालयमा त वर्षौदेखि पाठ्यक्रम योजना र शैक्षिक योजनाबिनै पढाइ चल्दै आएको छ । नगरपालिकाले सबै माविको व्यवस्थापन समितिमार्फत् स्थायी प्रक्रिया थालेको र क्रमशः सबै विद्यालयमा स्थायी प्रधानाध्यापक बन्ने सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतमले जानकारी दिए ।
गत असारको नगर परिषदले निर्णय गरेपछि यो बाटो खुलेको हो । नगर शिक्षा अधिकारी सहितको बैठकले हाल रहेका निमित्त प्रधानाध्यापकसहित मावि दरबन्दीका जो–कोही शिक्षकले पेश गर्ने ५ वर्षे विद्यालय विकास प्रस्ताव पारित भएमा स्थायी प्रधानाध्यापक बन्न पाउने प्रावधान छ ।
त्यसका लागि नगरपालिकाले सबै विद्यालयमा विज्ञापन गरेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । एउटा विद्यालयमा कम्तीमा एक जना माविको दरबन्दी पर्ने गरी नगरपालिकाले दरबन्दी मिलान गरेपछि यो विज्ञापन खुलाएको हो ।
नगरभित्रका २४ माविमध्ये बहिरा विद्यालयसहित तितौरे मावि, तित्याङ मावि, सिगाना मावि, बौडेचौर मावि, महाविद्याजन मावि, भैरव माविमा एक जना पनि दरबन्दीका शिक्षक पनि थिएनन् । दरबन्दी मिलान नहुँदा प्राविकै शिक्षकको भरमा मावि सञ्चालित थियो ।
माविका करार, राहत दरबन्दीमा बसेका शिक्षकहरुले उक्त योजना बनाउन सकेका थिएनन् । नगर शिक्षा अधिकारी पोखरेलका अनुसार नगरभित्र ४८ जना मात्रै स्थायी मावि शिक्षक छन् । उनीहरुलाई यहाँका २४ विद्यालयमा कम्तीमा एक जना पर्ने गरी मिलान गरिएको हो ।
असारको नगरसभाले यो नीति बनाई राजपत्रमा सूचना प्रकाशित गरेपछि नगर शिक्षा समितिले दरबन्दी मिलान गरेको हो । मावि तहको प्रधानाध्यापक बन्नका लागि कम्तीमा ५ वर्षसम्म माध्यामिक तहकै शिक्षक भइसकेको हुनुपर्ने प्रावधान छ । यो निर्णयले राजनीतिक आडमा सदरमुकाम बसेका शिक्षक गाउँ पुग्ने, गाउँका विद्यालयले पहिलो पटक मावि दरबन्दी पाउने अवस्था आएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।





